फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाँच महिनामा एक सय मुलुकका पर्यटक आए लुम्बिनीमा

(GMT+08:00) 2019-06-22 14:23:10

विगतकाभन्दा यस वर्ष धेरै मुलुकका पर्यटक गौतम बुद्ध जन्मस्थल लुम्बिनी आएका छन्। पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारका लागि गरिएका कार्यक्रमहरुको प्रभाव स्वरुप लुम्बिनी आउने पर्यटकहरुको संख्यासँगै आबद्ध मुलुकको संख्या पनि बढ्न थालेको सेतोपाटी अनलाइनले लेखेको छ।

सन् २०१९ को पाँच महिनामा एकसय मुलुकका पर्यटक लुम्बिनी आएका छन्। २०१८ को यही अवधिमा ७४ देशका पर्यटक लुम्बिनी आएका थिए। २०१८ को एक वर्षमा भने १ सय ८ मुलुकका पर्यटक लुम्बिनी आएका थिए।

विगतका वर्षमा लुम्बिनी आउने पर्यटकहरुको क्रमलाई हेर्दा यसवर्ष पर्यटक आउने मुलुकको संख्या १ सय २० देखि ३० सम्म पुग्न सक्ने लुम्बिनी विकास कोषका सूचना अधिकृत हरी राईको अनुमान छ। लुम्बिनी विकास कोषले सन् १९९४ देखि छुट्टै शाखा स्थापना गरी तेस्रो मुलुकका पर्यटकहरुको तथ्यांक राख्न शुरु गरेको थियो। पहिलो वर्षको तथ्यांकलाई हेर्दा २१ मुलुकका पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए। २५ वर्ष यताको कोषको तथ्यांकलाई हेर्दा यसवर्ष सबैभन्दा धेरै मुलुकका पर्यटक आएको देखिएको छ।

यसवर्ष विगतका वर्षमा नआएका साइप्रस, लेबनान, लाओस, इराक, ईजिप्ट, मकाउ, लिविया, मोरक्को, पेरु, बोलिभिया, बहराईन, अल्जिरा, अन्डोरा, जिम्बाबे लगायत मुलुकका पर्यटक थपिएका छन्।

अन्तर्राष्ट्रिय स्तरमै लुम्बिनीबारे प्रचारप्रसार हुनु, तिलौराकोट, देवदह, रामग्राम लगायतका बौद्ध सम्पदाबारे थप तथ्यहरु फेला पर्नु, लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम हुनु र बाह्य मुलुकका भिआइपीहरु आउने क्रम बढ्नुले पनि पर्यटन विकासमा मद्दत पुगेको हो।

लुम्बिनीमा गएको पाँच महिनामा आधा दर्जन बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गरिएका छन्। पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन, म्याराथन, टूर डे लुम्बिनी, मोल्ह्म पूजा पाँच महिनाको अवधिमा आयोजना गरिए। यस्तै, जेठ ४ गते बाह्य मुलुकका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्षको शुभारम्भ तथा २५६३ औं बुद्ध जयन्ती मनाइएको थियो। यही अवधिमा म्यानमार र श्रीलंकाका राष्ट्रपतिले समेत लुम्बिनी भ्रमण गरेका थिए।

प्रदेश सरकारले २०७६ मा कम्तीमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको छ। सोहीअनुसार प्रचारप्रसार गरिरहेको छ। यस्तै, संघीय सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ। लगातार भ्रमण वर्ष घोषणा गरिएकाले पनि लुम्बिनी घुम्ने पर्यटक बढ्ने विश्वास गरिएको छ।

यस्ता कार्यक्रमले धेरै देशका बौद्धमार्गी र नागरिकलाई लुम्बिनीप्रति आकर्षित गरेको छ। अन्तर्राष्ट्रिय जगतमा इमेल–इन्टरनेट, टेलिभिजन, पत्रपत्रिका, अनलाइन मिडिया, सामाजिक संजाल, वेभसाइट लगायतको व्यापकताले पनि लुम्बिनीको प्रचारप्रसारमा टेवा पुगेको छ। जसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा परेको छ।

पछिल्ला वर्षहरुमा विश्वमा नै घुमन्ते पर्यटकको संख्या बढीरहेको छ। जसले गर्दा लुम्बिनी घुम्ने र छोटो समय भए पनि शान्तिको अनुभूति गर्नेहरु बढ्ने गरेका छन्। सबै देशका नागरिकहरुमा कमाइअनुसार खर्च गर्ने संस्कृति विकास हुनु, घुमन्ते संस्कृति, शान्ति खोज्नु जस्ता कारण पनि लुम्बिनीमा आउने पर्यटकको संख्या बढेको सम्बद्ध अधिकारीहरु बताउँछन्।

दशकयता लुम्बिनीको महत्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढेको छ, हिंशाग्रस्त मुलुकका नागरिक पनि शान्ति खोज्दै लुम्बिनी आउने गरेका छन्। पछिल्लो पाँच महिनामा साढे आठ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। विकास कोषको तथ्यांक अनुसार २०१९ को पाँच महिनामा स्वदेशीसँगै भारत र तेस्रो मुलुकका गरी ८ लाख ४४ हजार ६ सय ९० पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्।

नेपाली मात्रै ६ लाख ८० हजार ४ सय ७६ छन्। यस्तै, भारतका ८३ हजार २ सय ८८ पर्यटक लुम्बिनी आएका छन्। तेस्रो मुलुकका ८० हजार ७ सय ६६ जना छन्। कोषकाअनुसार यो वर्ष तेस्रो मुलुकबाट सबैभन्दा बढी श्रीलंकाका पर्यटक लुम्बिनी आएका छन्। श्रीलंकन १८ हजार २ सय ७२ छन्। यस्तै, म्यानमारका १६ हजार ८ सय ९२, थाइल्याण्डका १५ हजार ३ सय ९०, चीनका १० हजार १ सय ४३ र दक्षिण कोरियाका ३ हजार ७ सय ७ पर्यटकले लुम्बिनी भ्रमण गरेको कोषले जनाएको छ।

जानकारी तथा लेखहरु