फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टोलीद्वारा नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण शुरू

(GMT+08:00) 2019-06-27 15:30:00
दैलेख क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातित इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्याँसले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताउनुभयो। उहाँले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली नेपालमा अन्वेषण कार्य गरिरहेको जानकारी दिनुभयो। अहिले तीनवर्षे पेट्रोलियम पदार्थ अन्वेषण कार्यक्रम सञ्चालनमा छ।

डा. सापकोटाका अनुसार, अन्वेषण कार्यअन्तर्गत यो वर्ष पेट्रोलियम पाइने क्षेत्रको सम्भाव्यता अध्ययन र कार्य क्षेत्र निर्धारणको काम सम्पन्न गरिने छ। दोस्रो वर्ष त्यसलाई निरन्तरता दिई अझ गहन अध्ययन गरिने छ। त्यसपछि तेस्रो वर्ष निर्धारण गरिएका क्षेत्रहरूमा 'ड्रिलिङ' काम सुरु गरिने जानकारी उहाँले दिनुभयो। जमिनबाट चार दशमलाव चार किलोमिटर जमिनमुनिसम्म 'ड्रिलिङ' गरिने गोरखापत्र अनलाइनले जनाएको छ।

यसरी अन्वेषणबाट पेट्रोलियम पदार्थ देखिएको (डिस्कभरी) अवस्थामा त्यसको मात्रा र क्षेत्र पत्ता लगाउन तथा उत्खनन्का लागि अर्को सम्झौता गर्नुपर्ने महानिर्देशक सापकोटाले बताउनुभयो। खानी तथा भूगर्भ विभाग, पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख सुधीर रजौरेले अहिलेसम्म गरिएको खोज तथा अन्वेषण तथा दैलेखमा पाइएको कच्चा तेलको आधारमा नेपालमा पेट्रोलियम पदार्थ रहेको दाबी गर्नुभयो।

"पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले अहिलेसम्म गरेका भौगर्भिक, भूभौतिक अध्ययन तथा अन्वेषणको परिणामले नेपालको तराई, भित्री मधेस र चुरे क्षेत्र पर्वतमाला क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पाइएको छ", परियोजना प्रमुख रजौरेले भन्नुभयो। खानी तथा भूगर्भ विभागका अनुसार, दैलेखको करिब १४ किलोमिटर क्षेत्रमा ४५ वटा ग्यास चुहावट देखिएका छन्।

विगतमा देशको शान्ति सुरक्षाका कारण अन्वेषणको अनुमति पाएका कम्पनीहरूले लामो समयदेखि नगरेका कारण ती कम्पनीहरूको सम्झौतासमेत खारेज भइसकेको जानकारी परियोजना प्रमुख रजौरेले दिनुभयो। पेट्रोलियम अन्वेषणका लागि नेपालका सम्भावित क्षेत्रहरूलाई दसवटा खण्डमा विभाजन गरी विभिन्न अन्तर्राष्ट्रिय कम्पनीहरूसँग सम्झौता गरिएको थियो।

अहिले पेट्रोलियम पदार्थको क्षेत्र खोजी र निर्धारण गर्नका लागि अन्वेषण कार्य भइरहेको बताउँदै क्षेत्र निर्धारणपछि कति मात्रामा पेट्रोलियम पदार्थ रहेको यकिन गर्न 'ड्रिलिङ'को कार्य सुरु गरिने जानकारी दिनुभयो।

सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा नेपालमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच प्रारम्भिक सम्झौता भएको थियो भने सोही सम्झौताअनुसार चिनियाँ प्राविधिक टोली सन् २०१६ को मेमा नेपाल आएर दैलेख, सुर्खेत, बुटवल, पाल्पा, सुनसरीको बराहक्षेत्र र मोरङको बाउनीमा प्रारम्भिक अध्ययन गरेको थियो ।

जानकारी तथा लेखहरु