फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने उर्जामन्त्रीको भनाइ

(GMT+08:00) 2019-06-27 15:32:50
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दिनमा नेपालमा विद्युतीय सवारीसाधन प्रयोगलाई प्रवर्द्धन गरिने बताउनुभएको छ। ललितपुरको हिमालय होटलमा बुधबार आयोजित विद्युतीय सवारीसाधन प्रवर्द्धन सम्मेलनमा बोल्दै मन्त्री पुनले काठमाडौं उपत्यकामा यसअघि नै ट्रली बस र सफा टेम्पोको यातायात प्रयोग सफल भएकोले यसलाई आगामी दिनमा अझै प्रवर्द्धन गरिने बताउनुभयो। उहाँले थप्नुभयो, 'नेपालमा पेट्रोलियम वस्तु आयातको अवस्था सन् २००७÷२००८ मा ३६ करोड ४० लाख अमेरिकी डलरको रहेकोमा सन् २०१७÷०१८ मा झण्डै १ अर्ब ५२ करोड डलरको आयात भएको छ। जुन १० वर्षयता पेट्रोलियम वस्तुको आयात चार गुणाले बढेको देखिएको छ।' यसको अधिकांश हिस्सा यातायात क्षेत्रले ओगटेको मन्त्री पुनले बताउनुभयो। विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दा यातायात क्षेत्रमा आयात हुने इन्धनलाई समेत प्रतिस्थापन गर्न सकिने मन्त्री पुनको भनाइ रहेको नेपालखबर अनलाइनले जनाएको छ।

विद्युतीय सवारीसाधन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको पनि उहाँले बताउनुभयो। सम्मेलनमा मन्त्री पुनले भन्नुभयो, 'नेपालसँग १ गिगावाटभन्दा धेरै जलविद्युत् क्षमता रहेको छ। एक वर्षमै हामी थप १ गिगावाट विद्युत् थप गर्छौँ। २.५ जीडब्ल्यु क्षमताको जलविद्युत निर्माणको चरणमा रहेको र आगामी चार वर्षमै यो पनि पूरा हुनेछ।' छोटो समयमै जलविद्युत क्षमता बढिरहेकोले परम्परागत इन्धन प्रयोगलाई विशेष गरी यातायात क्षेत्रमा विद्युतीय इन्धनले प्रतिस्थापन गर्ने उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु