फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व जनसङ्ख्या दिवस नेपालमा पनि मनाइँदै

(GMT+08:00) 2019-07-11 14:29:52
प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याको जीवनस्तरमा सुधार आएकाले आगामी दिनमा प्रजननमा नियन्त्रणभन्दा व्यवस्थापनतिर ध्यान दिन आग्रह गर्नुभएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले प्रजननदर घटाएर जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्न अपनाइएका नीति र शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरमा आएको सुधारका साथै जन्मदरमा आएको कमीलाई दृष्टिगत गर्दै व्यवस्थापनमा ध्यान दिन जोड दिनुभएको हो।

हरेक जुलाई ११ का दिन संयुक्त राष्ट्र सङ्घको आह्वानमा आज संसारभर जनसङ्ख्या दिवस मनाइँदैछ। प्रधानमन्त्री ओलीले जनसङ्ख्यासँग जोडिएका अत्यन्त महत्वपूर्ण पक्षले समग्र आर्थिक वृद्धि तथा विकासका योजना र कार्यक्रममा प्रभाव पार्ने भएकाले आर्थिक विकास, निर्माण र सामाजिक रुपान्तरणका लागि यस अवसरलाई सदुपयोग आग्रह गर्नुभएको छ।

उहाँले लैङ्गिक विभेदमा कमी आउन थालेको तर छोरी शिशुप्रति गर्भमै वा जन्ममै विभेद गर्न थालिएको लक्षण देखिन थालेको जनाउँदै शिशु जन्मको लैङ्गिक अनुपातले भविष्यमा जनसाङ्ख्यिक असन्तुलन निम्त्याउने सम्भावनाप्रति सचेत हुन आग्रह गर्नुभयो। गोरखापत्र अनलाइनका अनुसार उहाँले ज्येष्ठ नागरिकको आर्थिक स्वावलम्बन कायम गराउँदै अवसर उपलब्ध गराउन सरकार सजग रहेको उल्लेख गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकको सामाजिक, आर्थिक, पारिवारिक र आवासको सुरक्षाका साथै उनीहरुको स्वास्थ्य सेवा र तन्दुरुस्ती सरकारको प्राथमिकता रहेको जनाउनुभयो।

जानकारी तथा लेखहरु