फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

वर्षा शुरु भएसँगै नेपालको पर्यटकीय क्षेत्र सौराहा सुनसान

(GMT+08:00) 2019-07-14 14:00:45

वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ। विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन्। क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महिना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ। उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ। समूहमा आउने पनि कम छन्। गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे।

पर्यटक अस्वभाविक रुपमा कम आएपछि कतिपय होटलले मजदूरलाई खेत रोपाइँमा जान बिदा दिन थालेका छन्। सङ्घका महासचिव राममणि खनालले सशस्त्र द्वन्द्वको समयमा जस्तै गरी पर्यटकमा कमी आएको बताउनुभयो। विसं २०५८ देखि २०६४ सालसम्म पर्यटक आगमनमा निकै कमी आएको थियो। त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिनुभयो। गर्मी बढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्जभित्रको गतिविधिमा हुने कमीलगायतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ। सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन्। यी होटलहरुमा दुई हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्ने पहिलो उद्देश्य लिएर यहाँ पर्यटक आउने गर्दछन्। अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन्। सौराहा आउने पर्यटकहरुको बसाइ पनि निकै कम हुने गरेको छ। वर्षायाममा जङ्गल सफारी नहुने र वर्षाको कारण हिँडडुल गर्न पनि कठिनाइ हुने हुँदा पर्यटक एक दिन बसेर फर्किने गर्दछन्।

जानकारी तथा लेखहरु