फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला राजधानीमा

(GMT+08:00) 2019-08-16 14:41:23

नेपाली महिलाहरूको महान चाड तीजको अवसर पारेर राजधानी काठमाडौँमा मा '१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला–२०७६' आयोजना हुने भएको छ। राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टर (डीईसीसी नेपाल) मा यही भदौ १० गतेदेखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपालले जनाएको कारोबार अनलाइनले लेखेको छ।

नेपालको सबैभन्दा ठूलो तीज मेलाको १२ औं संस्करणका हो। काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आयोजना हुने गरेको '१२ औं तीज मेला तथा अन्तर्राष्ट्रिय व्यापार मेला–२०७६' तीजको अवसरमा आयोजना गरिने यो मेला नेपालको सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा पनि परिचित रहँदै आएको छ। मेलामा यो वर्ष काठमाडौंमा १ सयभन्दा बढी कम्पनी, संघ–संस्थाहरूको सहभागिता हुनेछ भने ५० हजारभन्दा बढी मानिसले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरिएको छ।

यो इभेन्टमा महिला उद्यमीहरूले आफ्ना सिर्जनात्मक उत्पादन र सेवामार्फत प्रदर्शन गर्ने उद्देश्यले वार्षिक रूपमा आयोजना गरिँदै आएको छ। यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरूलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुँदै आएको छ। साथै यसपालि अन्तर्राष्ट्रिय व्यापार मेलाका रूपमा यसलाई अगाडि बढाइएको छ। भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरू पनि मेलामा रहनेछन्।

मेला संयोजक सुमन महर्जनले तीज मेला केबल मेलाको रुपमा मात्र नभई महिलाहरूलाई व्यावसायिक बनाउने र अवसर नपाएका महिला उद्यमीहरूलाई प्रबद्र्धन गर्ने माध्यम भएको बताए।

"तीज मेला तथा अन्तर्राष्ट्रिय व्यपार मेलाको तयारी र प्रवद्र्घन व्यापक रूपमा हुँदैछ। कतिपय महिला उद्यमीले त यो मेलामार्फत नै आफैं उद्यमी बनेर व्यवसाय बिस्तार गर्नु भएको छ, त्यसैकारण यो मेलालाई हामीले निरन्तरता दिन सकेका हौं," महर्जनले भन्नुभयो। यो इभेन्टको अवसर पारेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शकहरू सहभागी हुनेछन भने नयाँ ब्रान्ड र उत्पादनहरू सार्वजनिक गरिने योजना रहेको छ।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्की ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरूका लागि गेमिङ्ग जोन, लाइभ म्युजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ।

इभेन्ट व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड सोज नेपालका प्रबन्ध निर्देशक महर्जनले महिला उद्यमीहरूलाई सहयोग गर्न र अगाडि बढाउन सहकार्य गर्दै आएको जानकारी दिए। नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरूको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन्।

जानकारी तथा लेखहरु