फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने

(GMT+08:00) 2019-08-17 14:46:28

आगामी तिहारदेखि बेइजिङ-काठमाडौं सिधा उडान हुने भएको छ। हालै निर्माण सम्पन्न राजधानी बेइजिङभित्रको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल 'तासिङ अन्तर्राष्ट्रिय विमानस्थल' असोज १३ देखि संचालनमा आउने भएपछि सो विमानस्थल प्रयोग गर्ने उडानहरूको धमाधम टिकट बिक्री सुरु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

तासिङ विमानस्थलबाट आन्तरिक उडान र बाह्य अन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको हो।

अग्रिम टिकट बुकिङको जिम्मा पाएको चीनकै विश्वसनीय 'छ्वी नार्' ट्राभल अनलाइन कम्पनीले बिक्री गर्ने टिकटमा बेइजिङदेखि काठमाडौंसम्मको यो उडानमा कहीँ कतै ट्रान्जिट भएको नदेखिएपछि सिधा उडान हुन लागेको पुष्टि हुन्छ। सो अनलाइनको तालिका अनुसार तासिङ विमानस्थलदेखि काठमाडौंसम्मको सिधा उडान अक्टुबर २७ अर्थात् कात्तिक १० गतेदेखि हुनेछ। 'छ्वी नार'को एपमा चिनियाँ भाषामा 'सि-मा-ला-या हाङ्खुङ्' अर्थात् हिमालय एयरलाइन्स, उडान अवधि ५ घण्टा ३५ मिनेट, उडान समय बेइजिङ समयअनुसार साँझ १७.४० बजे, विमानस्थलः तासिङ भनेर उल्लेख गरिएको छ। उडान गर्ने विमानमा नेपाल-चीन संयुक्त लगानीमा संचालित हिमालय एयरलाइन्स भनिएको छ।

हिमालय एयरलाइन्सले सीधा उडानका सम्बन्धमा आधिकारिक जानकारी दिइसकेको छैन। एयरलाइन्स स्रोतका अनुसार कागजात बुझाउने र चिनियाँ पक्षबाट स्वीकृत हुने काम बाँकी छ। 'विषय वा परिस्थितिले अन्य मोड लिएन भने अक्टुबर २७ अगावै सबै प्रक्रिया पूरा भएर सीधा उडान प्रारम्भ हुनेछ' स्रोतले भन्यो।

हवाई कम्पनीले कागजातको प्रक्रिया जारी राखेको बताएपनि छ्वी नार अनलाइनमा टिकट बेचबिखन नै हुन थालेको छ। बेइजिङस्थित छ्वीनारको कार्यालयले पनि टिकट अनलाइनबाट किन्न सकिने कुरा हटलाइनमार्फत् बतायो।

बेइजिङ-काठमाडौं सीधा उडान हुने भएपछि बेइजिङस्थित नेपाली समुदाय उत्साहित भएको छ। तर चीनका अन्य स्थानबाट हुने सामान्य उडानभन्दा सिधा रूटको विमानको टिकट तुलनात्मक महँगो भएको उनीहरूको गुनासो छ। पहिलो पटक सिधा उडान हुन लागेकोले उत्साहित भएपनि विमानका कागजात प्रक्रियाजस्ता कुराहरू, सम्बन्धित अधिकारीबाट आधिकारिक जानकारी पाई नसकेकाले टिकट बुक गर्ने/नगर्नेमा अलमल भैरहेको उनीहरू बताउँछन्।

गत साउन १० गते नेपाल चीन हवाई सेवा सम्झौता पुनरावलोन गर्न बेइजिङ आएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सहितको प्रतिनिधि मण्डल र चिनियाँ उड्डयन प्रशासनबीच भएको वार्तामा बेइजिङ-काठमाडौं सिधा उडानका लागि चीनले सहमति जनाएको थियो। सो सम्झौतापछि हिमालय एयरलाइन्सले सिधा उडान गर्ने भनिएको थियो। सम्झौतापछि नेपाली अधिकारीहरूले आगामी अगष्टमा हिमालय एयरलाइन्सले नयाँ विमान किन्ने वा पुरानैबाट भएपनि सिधा उडान गर्नसक्ने संकेत गरेका थिए।

चाइना डेलीका अनुसार चीनको राजधानी बेइजिङमा बनेको नवनिर्मित तासिङ विमानस्थललाई विश्वका भव्य विमानस्थलमध्येको एक मानिन्छ।

जानकारी तथा लेखहरु