फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आज राष्ट्रिय बालदिवस, राष्ट्रपतिद्वारा शुभकामना

(GMT+08:00) 2019-09-15 14:17:28
राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण बालबालिकालाई असल नागरिक बनेर देशको गौरव बढाउन आग्रह गर्नुभएको छ । राष्ट्रिय बालदिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले सम्पूर्ण बालबालिकाको स्वस्थ जीवन र उज्ज्वल भविष्यको शुभकामना दिनुभएको गोरखापत्रअनलाइनले लेखेको छ ।

'सुनिश्चित बालअधिकार : समृद्ध नेपालको आधार' भन्ने मूल नाराका साथ आइतबार राष्ट्रिय बालदिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसै अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा सात प्रदेशबाट सहभागी हुन आएका बालबालिकाले राष्ट्रपति भण्डारीको बाल्यकालसँग केन्द्रित रहेर साक्षात्कार गरेका थिए । राष्ट्रपति भण्डारीले बालबालिकाका जिज्ञासा र बालदिवसका बारेमा आफ्नो बाल्यकालको अनुभव सुनाउनुभएको थियो । बालबालिकाको चौतर्फी विकासका लागि सरकारको ध्यान जानुपर्ने भन्नुहुँदै बालबालिका भोलिका निर्णायक जनशक्ति भएको पनि बताउनुभयो । बालबालिकालाई असल नागरिक बनाउन राज्यको भन्दा अभिभावकको बढी दायित्व रहेको चर्चा गर्नुहुँदै राष्ट्रपतिले राज्यको जत्तिकै जिम्मेवारी गैरसरकारी, निजी क्षेत्र र अभिभावकको पनि रहेको बताउनुभयो । बालबालिकाको क्षेत्रमा केही सुधार भएको सङ्केत गर्दै उहाँले अहिलेको पुस्ता धेरै कुरामा जानकार रहेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रत्येक परिवारले असल नागरिक दिन सकेमा मात्र सुशासन र समृद्धि सँगसँगै आउने उल्लेख गर्दै उहाँले असल नागरिक उत्पादन गर्न प्रत्येक घरपरिवारको दायित्व हुने पनि बताउनुभयो ।

बालबालिकालाई असल नागरिक बनाउन बाबुआमाले पर्याप्त समय दिनुपर्ने धारणा व्यक्त गर्दै उहाँले यसतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र शिक्षा मन्त्रालयको पनि पहल हुनुपर्ने सुझावसमेत दिनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले तीन तहका सरकारबीच समन्वय गरेर बालअधिकारसँग सम्बन्धित कानुनको कार्यान्वयन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

जानकारी तथा लेखहरु