फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा नेपालका उप राष्ट्रपतिको हार्दिक शुभकामना सन्देश

(GMT+08:00) 2019-10-01 16:12:09

शुभकामना

जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा चीनका महामहिम राष्ट्रपति, उपराष्ट्रपति, चिनियाँ सरकार र चिनियाँ जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु । स्थापनाको छोटो अवधिमा चीनले गरेको चामत्कारिक प्रगतिका लागि म बधाई ज्ञापन गर्दछु ।

नेपाल–चीनबीच औपचारिक दौत्य सम्बन्ध स्थापना भएको ६४ वर्ष पुगे पनि दुई देशबीचको सम्बन्ध शताब्दी औँ पुरानो छ । दुई देशबीचको सम्बन्ध अहिले जनस्तरसम्म विस्तार भएकोमात्रै छैन नङ र मासु जस्तै छुट्टिनै नसक्ने गरी प्रगाढ बनेको छ । दुई देशबीच विकसित यो सम्बन्धबाट हामी अत्यन्त हर्षित र उत्साहित छौँ ।

चीनले छोटो समयमा गरिरहेको चामत्कारिक विकास र प्रगतिबाट नेपालले धेरै सिक्न चाहन्छ । लामो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्दै राजनीतिक स्थात्यिव हासिल गरेर 'समृद्ध नेपाल, सुखी नेपाली'को राष्ट्रिय आकांक्षाका साथ अगाडि बढिरहेको नेपालको लागि चिनियाँ विकास नमूना अनुकरणीय हुनसक्छ ।

हालका वर्षहरुमा दुई देशबीच सरकारी एवम् नीजि क्षेत्रको आर्थिक सहकार्य तथा सहयोग सन्तोषजनक रुपले अधि बढिरहेको छ भने चीनले अघि बढाएको बेल्ट एन्ड रोड अवधारणा (बीआरआई)मा नेपाल सहभागी भइसकेको छ । यसले नेपालको पूर्वाधार विकास, घरेलु तथा क्षेत्रीय कनेक्टिभिटी, निष्पक्ष व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विकासमा महत्वपुर्ण योगदान पुग्ने हाम्रो विश्वास छ ।

नेपाल चीनको एक चीन नीतिप्रति सदैव प्रतिबद्ध छ । नेपालको राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको सार्वभौमिकताप्रति चीनले गरिरहेको समर्थनको लागि हामी धन्यवाद व्यक्त गर्दछौँ ।

दुईदेशबीच भइरहको उच्चस्तरीय भ्रमणहरुले सम्बन्ध र सहकार्यलाई फराकिलो बनाउँदै लगिरहेका छन् । चीनबाट उच्चस्तरीय भ्रमणको तिव्र प्रतिक्षामा रहेका नेपाली जनता स्वागत गर्न आतुर छन् ।

अन्त्यमा, जनगणतन्त्र चीनको ७० औं स्थापना दिवसको अवसरमा काठमाडौंस्थित चिनियाँ राजदूतावासले आयोजना गरेको विशेष समारोहमा उपस्थित भएको स्मरण गर्दै यस अवसरमा चिनियाँ जनताप्रति पुनः शुभकामना ।

१४ असोज २०७६

नन्दबहादुर पुन 'पासाङ'

उपराष्ट्रपति

जानकारी तथा लेखहरु