फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गण्डकीमा चारै वर्ष भ्रमण वर्ष

(GMT+08:00) 2019-10-09 16:19:48

पर्यटनलाई प्रदेश समृद्धिको प्रमुख आधार मानेको गण्डकी प्रदेश सरकारले चार वर्षसम्म पर्यटन वर्षका रूपमा मनाउन सुरु गरेको छ। गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सन् २०१९ देखि सन् २०२२ सम्मलाई विभिन्न भ्रमण वर्षका रूपमा मनाउन सुरु गरिएको छ। प्रदेश सरकारले निर्णय नै गरेर सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष, सन् २०२० लाई छिमेकी भ्रमण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय गण्डकी प्रदेश भ्रमण वर्षका रूपमा मनाउने गरी कार्यक्रम अघि बढाएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएको गोरखापत्र अनलाइनले लेखेको छ।

गण्डकी प्रदेश सरकारले सन् २०१९–२०२२ लाई लक्षित गरी हरेक जिल्लामा जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्व तथा हरेक स्थानीय तहमा स्थानीय तह प्रमुखको संयोजकत्वमा उपसमिति गठन गरेको छ। सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका रूपमा मनाइरहेको गण्डकी प्रदेश सरकारले यो अवधिमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकको तथ्याङ्क सङ्कलनको काम गरिरहेको भन्दै आन्तरिक पर्यटनको विकासमा ठूलो मद्दत पुगेको मन्त्री लम्सालले बताउनुभयो। मन्त्री लम्सालले आन्तरिक पर्यटन वर्ष २०१९ को अवधि सकिन तीन महिना बाँकी नै रहेको र पर्यटनको सिजन पनि सुरु भएकाले यो तीन महिनामा उल्लेख्य पर्यटक आउने दाबी पनि गर्नुभयो।

सन् २०२० लाई सङ्घीय सरकारले भ्रमण वर्ष २०२० मनाउँदै गरेको अवस्थामा गण्डकी प्रदेश सरकारले भने छिमेकी भ्रमण वर्षका रूपमा मनाउन थालेको छ। 'हामीले सन् २०२० प्रदेशमा छिमेकी देश भारत तथा चिनियाँ पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष मनाउन लागेका छौँ, यसले भ्रमण वर्षलाई समेत सफल पार्न मद्दत पुग्छ। यस्तै सन् २०२१ लाई पूर्वाधार निर्माणको वर्ष र सन् २०२२ लाई अन्तर्राष्ट्रिय स्तरका पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागेका हौँ, मन्त्री लम्सालले भन्नुभयो ।

जानकारी तथा लेखहरु