फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको राजकीय भ्रमण भोलिदेखि

(GMT+08:00) 2019-10-11 15:04:32

राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको औपचारिक राजकीय भ्रमणमा शनिबार नेपाल आउन लाग्नुभएका जनवादी गणतन्त्र चीनका राष्ट्राध्यक्ष सी चिनफिङको उच्चस्तरीय भ्रमणलाई सफल बनाउन विशेष तयारी गरिएको छ।

विश्वका उच्च प्रभावशाली नेताहरूको सूचीमा परिचित राष्ट्राध्यक्ष सीको भ्रमणलाई नेपाल सरकारले विशेष महत्वका साथ तयारी गरेको गोरखापत्र अनलाइनले लेखेको छ। राष्ट्राध्यक्ष सी यही असोज २५ र २६ गते दुई दिनको नेपाल भ्रमणमा आउनुहुने भएको हो। राष्ट्राध्यक्ष सीको दुईदिने नेपाल भ्रमणको औपचारिक मिति सार्वजनिक गर्दै नेपाल सरकारका विभिन्न निकायले तयारी अन्तिम चरणमा पुगेको जनाएका छन्।

राष्ट्राध्यक्ष भण्डारीका निजी प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, "चीनका महामहिम राष्ट्राध्यक्ष सीको राजकीय भ्रमणका क्रममा नेपालका राष्ट्राध्यक्ष भण्डारी र चीनका राष्ट्राध्यक्ष सीबीच हुने विशेष भेटवार्तालाई सफल बनाउन राष्ट्राध्यक्ष कार्यालय जुटेको छ। झन्डै २३ वर्षपछि चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमण हुन लागेकाले यसलाई उत्सुकतापूर्वक हेरिएको छ।"

राष्ट्राध्यक्ष भवन शीतल निवासमा दुवै देशका राष्ट्राध्यक्षबीच उच्चस्तरीय भेटवार्ता हुने तय भइसकेको छ। भ्रमणलाई ध्यानमा राखेर राष्ट्राध्यक्ष कार्यालयको रङरोगन गर्नुका साथै भवन परिसर पनि अझ सुन्दर बनाइएको छ। गत वैशाखमा राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीले चीन भ्रमणका क्रममा नेपाल भ्रमणका लागि चीनका राष्ट्राध्यक्ष सीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिनुभएको थियो।

भ्रमणको निम्तो सहर्ष स्वीकार गर्दै राष्ट्राध्यक्ष सी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । नेपाल भ्रमणमा रहनुहुँदा सीले नेपालका समकक्षी राष्ट्राध्यक्ष भण्डारीसँग विशेष भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्राध्यक्ष भण्डारीले राष्ट्राध्यक्ष सी र चिनियाँ प्रतिधिनिधि मण्डलको स्वागतमा विशेष समारोहसहित रात्रिभोज आयोजना गर्नुहुनेछ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्राध्यक्ष सीसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। सो भेटावार्तालगत्तै उहाँहरूको समुपस्थितिमा नेपाल र चीनबीच विभिन्न द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ। राष्ट्राध्यक्ष सीसँग नेपालका विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शिष्टाचार भेट गर्नुहुने छ।

जानकारी तथा लेखहरु