फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई देशको मित्रतामा नयाँ आयाम

(GMT+08:00) 2019-10-12 16:45:14
चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमणले दुई देशको सम्बन्ध अझै उचाइमा पुग्ने राजनीतिक दलका नेताहरूले विश्वास व्यक्त गरेका छन्। लामो समयपछि उत्तरी छिमेकी मुलुकबाट हुने उच्चस्तरीय भ्रमणले नेपालका लागि निकै ठूलो महत्व राखेको ती नेताहरूको भनाइ रहेको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमणले दुई देशको मित्रतालाई नयाँ आयाम दिने बताउनुभएको छ। "नेपाली काँग्रेस यो भ्रमणबाट खुसी छ र स्वागत गर्न आतुर छ", उहाँको भनाइ छ।

निकै लामो समयपछि हुन लागेको राष्ट्राध्यक्ष सीको भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो हुनुका साथै आर्थिक समृद्धिको क्षेत्रमा पनि सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो। आफू परराष्ट्रमन्त्री भएको बेला पनि राष्ट्राध्यक्ष सीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको र उहाँले उचित समय मिलाएर भ्रमण गर्ने भन्नुभएको थियो, अहिले उहाँ नेपाल आउन लाग्नुभएकोले आफू निकै खुसी भएको उहाँले स्पष्ट पार्नुभयो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्राध्यक्ष सीको भ्रमण विषयमा सरकारलाई सुझाव दिइसक्नुभएको बताउँदै उहाँले नेपालमा चिनियाँ लगानी भित्र्याउँदा नेपालले आफ्नो प्राथमिकता प्रस्ट गर्नुपर्ने सुझाव दिनुभयो। नेपाल र चीनबीच रहेको व्यापार घाटालाई कम गर्नका लागि पनि दुई देशबीचमा पहल हुनुपर्ने बताउँदै उहाँले नेपालबाट हुने निर्यातमा भन्सार छुटको विषयमा पनि छलफल हुनुपर्ने सुझाव दिनुभयो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल र चीनबीच रहेको समस्यारहित सम्बन्धलाई यो भ्रमणले थप नयाँ उचाइमा पुर्याउने बताउनुभयो। उहाँले भन्नुभयो, "राष्ट्राध्यक्ष सी चिनफिङको भ्रमणले हामी धेरै खुसी छौँ, उहाँको स्वागतका लागि पार्टी आतुर छ।" चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहनुभएका राष्ट्राध्यक्ष सीको भ्रमणलाई पार्टीले उच्च महत्व दिँदै आएको बताउँदै उपप्रमुख रिजालले राष्ट्राध्यक्ष सीको भ्रमणको फाइदा नेपालले लिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, "नेपालका लागि यो ठूलो मौका हो, सीको भ्रमणबाट यसको फाइदा लिनुपर्छ।" नेपाल र चीनबीच शताब्दीयौँको मित्रता रहेको बताउँदै उहाँले यो भ्रमण आर्थिक समृद्धिका लागि कोसेढुङ्गा साबित हुने बताउनुभयो।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले राष्ट्राध्यक्ष सीको भ्रमणलाई सफल बनाउन आफ्नो पार्टी तयार रहेको बताउनुभयो। विश्वको उदीयमान शक्तिशाली देशका राष्ट्राध्यक्षको नेपाल भ्रमण आफैँमा सकारात्मक कुरा भन्दै उहाँले यो भ्रमणले नेपालको विकास र समृद्धिमा सहयोग पुग्ने आशा गर्न सकिने बताउनुभयो।

समाजवादी पार्टीका विदेश विभाग प्रमुख अर्जुन थापाले राष्ट्राध्यक्ष सीको भ्रमण नेपालका लागि ऐतिहासिक हुने बताउँदै आफ्नो पार्टीले त्यसलाई खुसीका साथ स्वागत गर्ने बताउनुभयो। सरकारले चीनसँग सम्झौता गर्दा नेपालमा कुनै प्रकारको नकारात्मक दुर्गामी प्रभाव नपरोस् भन्ने कुरामा ख्याल गर्नुपर्ने सुझाव दिँदै उहाँले यो भ्रमणले दुई देशबीचको सम्बन्ध झन् उचाइमा पुग्ने बताउनुभयो।

जानकारी तथा लेखहरु