फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण : आर्थिक सहकार्यमा जोड

(GMT+08:00) 2019-10-12 16:47:16

चीनका राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण अर्थपूर्ण र महत्त्वपूर्ण रहेको भन्दै यसलाई आर्थिक सहकार्य र विश्वास आर्जनमा जोड दिनुपर्ने विज्ञले सुझाव दिएका छन्। विश्वको दोस्रो शक्तिका रूपमा उदाएको छिमेकी मुलुकको प्रमुख नेता नेपाल आउँदा सहकार्यको खाका तय गर्न सक्नुपर्ने सुझाव उनीहरूको छ। चीनले अघि सारेको आर्थिक साझेदारीका अवधारणामा नेपालले पनि स्थान खोज्दै फाइदा लिन सक्नुपर्ने उनीहरूको धारणा छ। नेपाल 'एक छिमेकविरुद्ध अर्को छिमेकी उपयोग' मा लाग्न नहुने भन्दै यसमा सचेत हुन विज्ञले आग्रह गरेको अन्नपूर्णपोस्ट दैनिकले लेखेको छ।

कांग्रेस नेत्री एवं पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले चिनियाँ नेता सीको भ्रमण हुने खबरले कांग्रेस हर्षित भएको बताइन्। अहिले नेकपाले जे जस्तो विचारधाराको प्रशिक्षण लिए पनि चिनियाँ कम्युनिस्ट पार्टीसँग कांग्रेसको पुरानो सम्बन्ध रहेको र त्यो दलको उच्च नेता नेपाल आउँदा कांग्रेस खुशी हुने कोइरालाले बताइन्। 'यो भ्रमणलाई कांग्रेसले निकै महत्त्वका साथ हेरेको छ', उनले भनिन, 'एक चीन नीतिलाई हामीले सदा समर्थन गर्दै आएका छौं, यो विश्वास चीनलाई दिलाउन सक्नुपर्छ।'

अर्का पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा नेतृत्वको सरकारले चिनियाँ राष्ट्राध्यक्ष सीको राजकीय भ्रमणलाई उत्साहका साथ स्वागत गर्ने बताउँदै सरकारले चीन वा भारत कतैतर्फ पनि नढल्किकन नेपालको विषयमा स्पष्ट धारणा राख्न सक्नुपर्ने बताए। पारस्परिक हित तथा सहयोगका आधारमा चीनसँग केरुङ–काठमाडौं रेलमार्गलगायत विकास साझेदारको विषयमा छलफल हुने पाण्डेले बताए। पूर्वअर्थ एवं परराष्ट्रमन्त्री डा. रामशरण महतले पनि राष्ट्राध्यक्ष सीको भ्रमण सफल होस् भन्ने सबैले कामना गरेको बताए।

'चीन शक्ति राष्ट्र हो भने हाम्रो छिमेकी पनि'भन्दै डा.महतले सबै हिसाबले राष्ट्राध्यक्षको भ्रमण स्वागत योग्य रहेको उल्लेख गरे। भ्रमणलाई सफल बनाउन सबैले साथ दिनुपर्ने उनको भनाइ छ। 'हामीले चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमणबाट हेर्ने मुख्य कुरा आर्थिक लाभ नै हो। यो भ्रमणले दुई देशबीच घनिष्ठता र एकअर्काबीच विश्वास पनि बढ्छ। यसको महत्त्व पनि छ।'डा.महतले विशेष गरी सडक सञ्जाल विस्तारमा जोड दिँदै भने, 'अहिलेको खाँचो भनेकै सडक विस्तार हो, नाका व्यवस्थित गर्ने हो। रेलको प्रक्रिया बढ्दै जाला तर तत्काल आवश्यकतालाई ध्यान दिनुपर्छ।'

पूर्वराजदूत हिरण्यलाल श्रेठले नेपाल र चीनबीच सदियौंका सम्बन्धलाई ध्यान दिएर सरकार अघि बढ्नुपर्ने र विश्वास दिलाउन सक्नुपर्ने बताए। उनले नेपालमा चीनको यो स्तरको भ्रमण हुनु ठूलो अवसर भएको बताए। 'हामीले एकविरुद्ध अर्को होइन, आफ्ना र दलका एजेण्डा होइन, मुलुकको एजेण्डा प्रस्तुत गरी राष्ट्रले फाइदा लिनसक्नुपर्छ। चीनले नेपालको विकासमा सहकार्य गर्छ। तर हामी कसरी प्रस्तुत हुन्छौं भन्ने कुराले अर्थ राख्छ', उनले भने।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले चिनियाँ राष्ट्राध्यक्ष सीको भ्रमण नेपाल र नेपालीका लागि असाध्यै गर्वको विषय भएको बताउँदै राष्ट्र हितमा उपयोग गर्न सक्नुपर्ने बताउँछन्। नेपालको चीन र भारतसँग विशिष्ट सम्बन्ध रहेको र त्यसलाई आ–आफ्नै ढंगले उपयोग गर्न पनि उनले सुझाए। प्रतिक्षाको विषय रहेको काठमाडौं–केरुङ रेलवेको विकासले नेपाल र चीनको मात्र नभई भारतसँगको सम्बन्धलाई पनि अगाडि बढाउने हुनाले यस्ता सामारिक विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल र चीनको मैत्रीपूर्ण सम्बन्धलाई थप उचाईमा लैजान यो भ्रमण आफैंमा महत्त्वपूर्ण रहेको बताए। चीनको विकास साझेदार बनेर नेपाल अघि बढ्नुपर्ने भन्दै चीनले पनि नेपालको समस्यालाई बुझेर सहकार्य गराउँदै अघि बढ्न आग्रह गरेका छन्। चीनले अघि बढाएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) लाई पनि चासोका साथ लिँदै सरकारले त्यसमा रहेका परियोजना अघि बढाउन सक्नुपर्ने बताए।

चीनसँगको वार्तामा अन्य मुलुकलाई जोड्ने र अन्य मुलुकको रणनीति वा नीतिलाई जोड्न नहुने सुझाव पनि उनको छ। अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा नेपालका तर्फबाट हस्ताक्षर गरेका कार्कीले अमेरिकाले उपलब्ध गराएको त्यो प्रकारको सहयोगलाई उसको रणनीतिमा जोड्ने र त्यस्ता विषय चीनसँग छलफल गरी आफूलाई कमजोर बनाउन नहुने सुझाव दिएका छन्।

नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले आर्थिक विकासको साझेदारीको नीतिअनुरूप नेपालले बढीभन्दा बढी लाभ लिने गरी यसअघि भएका सम्झौताको पुनरावलोकन र नयाँ सम्झौतालाई ध्यान दिएर राष्ट्रिय एजेण्डामा चीनको सहयोग लिन सक्नुपर्ने बताए। नेपालको आर्थिक विकास र स्वाधीनताको रक्षाका लागि आर्थिक विकासको रणनीति आवश्यक रहेको पनि उनको धारणा छ। कूटनीतिक जानकार मिलन तुलाधरले पनि यो भ्रमण सफल र सवल बनाउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउँछन्। चीनसँग निकट रहेर नेपालले काम गर्नुपर्ने उनको सुझाव छ। 'चीनसँग व्यापार घाटा छ। चिनियाँ लगानी नेपालमा आकर्षित गरी दक्षिण एसियाली बजार र चीनमा सामान निर्यात गर्नेतर्फ लाग्नुपर्छ', उनको सुझाव छ।

अधिवक्ता दिनेश त्रिपाठीले पनि नेपाल र चीनबीच सहकार्यमा अर्को मुलुक जोडेर कुरा गर्न नहुने सुझाव दिएका छन्। नेपालले कुनै पनि मुलुकविरुद्ध आफ्नो भूमि उपयोग हुन नदिने र सहकार्यलाई जोड दिन आवश्यक रहेको उनको बुझाइ छ। 'यहाँ अमेरिकी आइपीएस र चिनियाँ बीआरआईको विषय उठ्ने गरेको छ, त्यो आ–आफ्नो मुलुकको नीति हुनाले यसमा धेरै डराउनु नपर्ने र नेपालको हितमा दुवैको उपयोग गर्न सक्नुपर्छ', उनले भने।

जानकारी तथा लेखहरु