फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन शैक्षिक सम्बन्ध: साढे छ हजार नेपाली विद्यार्थीलाई छात्रवृत्ति

(GMT+08:00) 2019-10-12 16:48:56

नेपालबाट बर्सेनि सयौँ विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न चीन जाने गरेका छन्। उच्च शिक्षाका लागि चिनियाँ विद्यार्थी पनि नेपाल आउने गरेका छन्। नेपाली विद्यार्थीहरू चिकित्साशास्त्र, इन्जिनियरिङ, भाषा र अन्तर्राष्ट्रिय सम्बन्ध विषय अध्ययनका लागि चीनका विभिन्न विश्वविद्यालय जाने गरेका छन्। निजी लगानीमा उच्च शिक्षा अध्ययनका साथै चीन सरकारबाट बर्सेनि सयौँ विद्यार्थीले छात्रवृत्ति पाउने गरेका छन्। सन् १९५८ बाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन थालेको चीन सरकारले हालसम्म साढे छ हजार नेपालीलाई पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर प्रदान गरिसकेको गोरखापत्र अनलाइनले लेखेको छ।

चीन सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत वर्ष उच्च शिक्षाका लागि ५० सिट उपलब्ध गराएको थियो। मन्त्रालयअन्तर्गतको छात्रवृत्ति शाखाका अनुसार इन्जिनियरिङका लागि २६, कृषिका लागि छ, वनका लागि चार, विज्ञान तथा प्रविधिका लागि पाँच र मानविकीका लागि एक जनालाई छनोट गरी पठाइएको थियो। उनीहरूले स्नातकोत्तर तहका लागि छात्रवृत्ति पाएका थिए। आठ जनाले विद्यावारिधिका लागि पनि छात्रवृत्ति प्राप्त गरेका थिए। स्नातकोत्तर तहका लागि दुईदेखि तीन वर्ष र विद्यावारिधिका लागि बढीमा पाँच वर्षका लागि छात्रवृत्ति प्रदान गरिँदै आएको छ।

शिक्षा मन्त्रालयकै वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्षमा चीनमा अध्ययनका लागि एक हजार ८८१ जनाले 'नो अब्जेक्सन लेटर'लिएका थिए। तीमध्ये सबैभन्दा बढी ९६९ जनाले होटेल व्यवस्थापन विषय अध्ययनका लागि नो अब्जेक्सन लेटर लिएका थिए। एमबीबीएस अध्ययनका लागि ५० जनाले नो अब्जेक्सन लेटर लिएका थिए। त्यसबाहेक भाषा अध्ययन, होटेल व्यवस्थापनको इन्टर्नसिप गर्न, अन्तर्राष्ट्रिय वाणिज्य व्यवस्थापन, वाणिज्य प्रशासनलगायतका विषय अध्ययनका लागि पनि नो अब्जेक्सन लेटर लिएको सो शाखाले जनाएको छ।

त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाजशास्त्र सङ्कायबाट बर्सेनि १५ देखि २० जना विद्यार्थी चीनमा अध्ययनका लागि जाने गरेका छन्। स्नातकोत्तर तहका नेपाली विद्यार्थीले अन्तिम सेमेस्टरमा तीन महिना अध्ययन गर्न चीनतर्फ जाने गरेका छन्। त्रिविले सछ्वान विश्वविद्यालयसँग मिलेर ट्रान्स हिमालय रिसर्च सेन्टर पनि स्थापना गरेको छ। चीन सरकारले काठमाडौँ विश्वविद्यालयसँग मिलेर हालै डेढ सय जनालाई हवाई उड्डयन, जलस्रोत, प्रशासन, सार्वजनिक स्वास्थ्यलगायतका विषयमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। चीनकै सेन्ट्रल साउथ विश्वविद्यालयले चितवनको भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने ७० जनालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ। अरनिको समाजमार्फत पनि चीनले बर्सेनि थुप्रै विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। समाजका सदस्य राजेन महर्जनका अनुसार गत वर्ष ३२ जनाले सिभिल इन्जिनियरिङ, चिकित्साशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, व्यवस्थापन, भाषालगायतका विषयमा अध्ययन गर्न २७ वटा विश्वविद्यालयमा छात्रवृत्ति प्राप्त गरेका थिए। चीन सरकारले रेलवे इन्जिनियरिङ विषय अध्ययनका लागि छात्रवृत्ति पनि प्रदान गरेको बताउँदै उहाँले भन्नुभयो, "चीनमा नेपाली विद्यार्थीहरू राम्रा मध्येमा गनिन्छन्। नेपाली विद्यार्थीहरू मिहिनेती भएकाले चिनियाँहरूले मनपराउँछन्।" यहाँबाट चीनमा अध्ययन गर्न समाजले पठाएकामध्ये आधाजसो चीनमै काम गरेर बसिरहेको उहाँले दाबी गर्नुभयो। एलआरआई कन्फ्युसियस क्लास रुम नामक संस्थाले विद्यावारिधिका लागि एक जना, पोस्ट ग्र्याजुएटका लागि एक जना र ग्र्याजुएटका लागि नौ जनालाई पठाएको छ।

जानकारी तथा लेखहरु