फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न सहरसँगको भगिनी सम्बन्ध थप प्रगाढ बन्ने विश्वास

(GMT+08:00) 2019-10-12 16:50:28

नेपालका कतिपय नगरपालिकाले चीनका विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका छन्। चीनका सहरमा भएका विकासका मोडल र संस्कृति आदानप्रदान गर्ने उद्देश्यले नेपालका नगरपालिकाले चीनको विभिन्न सहरसँग भगिनी सम्बन्ध कायम गरेका हुन्।

नेपाल नगरपालिका सङ्घका अनुसार काठमाडौँ महानगरपालिकाले चीनको सञ्चन, ल्हासा, सियान, लान्चाओ, छङ्तु सहरसँग भगिनी सम्बन्ध कायम गरिएको छ। त्यस्तै, पोखरा महानगरपालिकाले चीनको खुनमिङ, क्वानचौ, यिविन, लिन्च, छुसाओ, हाइकाओ, नानिङ्ग सहरसँग सम्बन्ध स्थापित गरेको छ। त्यस्तै, ललितपुर महानगरपालिकाको क्वानचौ, भक्तपुरले छङ्तु, बनेपा नगरपालिकाले सिगाचे र बुटवल उपमहानगरपालिकाले पनि चिनियाँ सहरसँग भगिनी सम्बन्ध कायम गरेको गोरखापत्र अनलाइनले लेखेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको शनिबार हुने नेपालको राजकीय भ्रमणले उक्त नगरपालिकासँग भएको भगिनी सम्बन्ध थप प्रगाढ हुने स्थानीय तहका जनप्रतिनिधिले विश्वास गरेका छन्। दुई देशका नगरबीचको सहरी पूर्वाधार, विकास निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्ने गरी भगिनी सम्बन्ध कायम गरिएका हुन्।

दुई देशका सहरमा भएका राम्रा पक्ष आदानप्रदान गर्ने र विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्का लागि भगिनी सम्बन्ध कायम गरिएको सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न समयमा दुई देशका सहरबीच भएको भगिनी सम्बन्धले चीनमा अपनाइएको सहरी पूर्वाधार विकास, फोहोर व्यवस्थापन, उद्योगधन्दा सञ्चालन, कृषि उत्पादन, हरित उद्यान, खानेपानीको व्यवस्थापन, ढल निकासलगायत व्यवस्थित सहरी योजना सञ्चालनका लागि थप सहयोग पुगेको जनाएको छ।

त्यस्तै काठमाडौँको कीर्तिपुर, काभ्रेको धुलिखेल, रुपन्देहीको सैनामैना नगरपालिकाले पनि चीनका कतिपय सहरसँग भगिनी सम्बन्ध कायम गर्न प्रस्ताव गरिएको जनाइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नेपालका नगरपालिकाले चीनका कतिपय सहरसँग गरिएको भगिनी सम्बन्धले यहाँको पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "चीनका राष्ट्राध्यक्षको नेपाल भ्रमणका क्रममा थप चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्ने वातावरण मिलाउने हो भने पनि नेपालको पर्यटन विकासमा ठूलो टेवा पुग्छ। "

जानकारी तथा लेखहरु