फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको पर्यटन उद्योगमा 'चिनियाँ पर्यटक महत्वपूर्ण'

(GMT+08:00) 2019-10-19 14:21:44
नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्राध्यक्ष सी चिङफिङको भ्रमणबाट नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको बताउनु भएको छ। बिहीबार राजधानीमा आयोजित चीनमा नेपालको पर्यटन प्रवद्र्धनका चुनौती र अवसरसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले चीनबाट नेपाल भ्रमण वर्षको अवसरमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ आवश्यक प्रचार–प्रसारमा जोड दिएको जानकारी गराउनु भएको नागरिक अनलाइनले लेखेको छ।

'चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणको समाचार विश्वभरका दुई अर्बभन्दा बढी नागरिकले हेरेको र राष्ट्राध्यक्षले नेपालको पर्यटन प्रवद्र्धन गर्न सहयोग पु-याउने जनाएका कारण पनि सरकारको सन् २०२० लक्ष्यलाई सहयोग पु-याउने आशा व्यक्त गर्नुभयो। 'चिनियाँ राष्ट्राध्यक्षको नेपाल भ्रमणले नेपालको बजेटले पनि न भ्याउने प्रचार–प्रसार भएको छ,' उहाँले भन्नुभयो, 'नेपाल र चीनका मात्र नभएर विश्वभरका सञ्चार माध्यमले नेपालसम्बन्धी समाचार प्रवाह गरेकाले नेपालको पर्यटन प्रवद्र्धनमा जोड पुगेको छ।' चीन जस्तो शक्तिशाली देशका राष्ट्रपति के गर्दैछन् ? कहाँ छन् ? भन्नेमा विश्वको ध्यान केन्द्रित हुने भएकोले पनि उक्त भ्रमणको फाइदा नेपालले लिन सक्ने उहाँले बताउनुभयो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको भ्रमण गरेपछि उक्त क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेको समेत उहाँले सुनाउनुभयो। 'चिनियाँ राष्ट्राध्यक्षले चिनियाँ पर्यटकको लागि नेपाल दक्षिण एसियाको सबैभन्दा मन पर्ने देश रहेको सञ्चार माध्यममा बताउनु भएको छ' मन्त्री भट्टराईले भन्नुभयो, 'लुम्बिनीबारे आफ्नै भाषामा बोल्नु भएको छ। उहाँको बोलाइले बौद्वमार्गी चिनियाँले पक्कै पनि नेपालको भ्रमण गर्नेछन्।'

चिनियाँ राष्ट्राध्यक्ष नेपालमा रहेको समयमा आफूले भ्रमण टोलीका सदस्यसँग नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ पर्यटकको उल्लेख्य संख्याको अपेक्षा गरेको बताउँदा उक्त पक्ष सकारात्मक देखिएको उहाँको भनाइ रहेको छ। हाल चिनियाँ पर्यटकले नेपाल पेमेन्ट गर्दै आएको व्यवस्था केही झन्झटयुक्त रहेको बताउँदै मन्त्री भट्टराईले आफ्नो मन्त्रालयले नेपाल राष्ट्र बैंकसँगको सहकार्यमा सुविधाजनक पेमेन्टको व्यवस्था ल्याउन आग्रह गरिसकेको बताउनुभयो। उक्त सेवाबाट नेपालका पर्यटन क्षेत्रमा कार्यरत व्यवसायी सबैलाई सुविधा हुने र व्यावसायिक नाफा हुन जाने उहाँको भनाइ छ। अबको एक हप्ताभित्रै चिनियाँ विमान कम्पनीलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने वातावरण बनाउन छुटसहितका योजना सार्वजनिक गर्ने योजना रहेको मन्त्री भट्टराईले बताउनुभयो। 'सरकारले गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने विमान कम्पनीलाई पार्किङ लगायत क्षेत्रमा सुविधासहितका प्याकेज सार्वजनिक गर्दैछ,' उहाँले भन्नुभयो।

जानकारी तथा लेखहरु