फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बुद्धिस्ट सर्किटको भ्रमणका लागि दिल्ली लुम्बिनीका लागि छुट्यो रेल

(GMT+08:00) 2019-10-20 15:33:20

अत्याधुनिक सुविधासहितको रेलमा चढेर पर्यटकहरुले बुद्धिस्ट सर्किटको भ्रमण सुरु गरेका छन्। शनिबार भारतको राजधानी नयाँदिल्लीबाट आठदिने भ्रमण सुरु गरेका पर्यटकहरु यही कात्तिक ६ गते नेपालको लुम्बिनी आउने छन्। र, एक रात लुम्बिनीमै बस्ने अनलाइन खबरले लेखेको छ। रेलमा सवार देश–विदेशका पर्यटकहरुलाई गौतम बुद्धसँग सम्बन्धित तीर्थस्थलको भ्रमण गराइने छ। अत्याधुनिक सुविधायुक्त यो रेलको एसी फस्ट क्लासमा ९६ सिट छन्। सेकेन्ड क्लासमा ६० सिट छन्। फस्ट क्लासको भाडा सवा तीन लाख भारु छ। सेकेन्ड क्लासको सिटको भाडा एक लाख भारु छ।

बुद्धिस्ट सर्किटको भ्रमण गराउने यो विशेष रेलको डिजाइन भारतीय रेलवे खानपान तथा पर्यटन निगम (आईआरसीटीसी)ले गरेको हो। आईआरसीटीसीका प्रवक्ता सिद्धार्थ सिंहका अनुसार रेलको हरेक डिब्बामा ६४ जना अट्ने क्षमताको रेष्टुरेन्ट छ। यात्रीहरुले रेल चलिरहेको बेला त्यहीँ खाना, नास्ता खान सक्छन्।

१९ अक्टुबर अर्थात् शनिबार नयाँदिल्लीको सफदरजंग रेलवे स्टेशनबाट हिँडेको यो रेल सीधा बिहार प्रान्तको गया गएको छ। यो रेल आइतबार बिहान गया पुगेको छ। गया रेलवे स्टेशनबाट यात्रीहरुलाई बोधगया भन्ने स्थानमा लगिने छ। बोधगया गौतमबुद्धले तपस्या गरी बुद्धत्व प्राप्त गरेको स्थान हो। त्यहाँ यात्रुहरुलाई होटलमा बसाइने छ। राजगीर, नालन्दा लगायतका स्थानको अवलोकन गराएर पर्यटकहरुलाई पुनः गया फर्काइने छ।

गयाबाट रेल वाराणसी प्रस्थान गर्ने छ। पर्यटकहरुलाई रेलभित्रै साँझको खाना खुवाइने छ। २२ अक्टुबरमा रेल वाराणसी पुग्ने छ। त्यहाँबाट पर्यटकहरुलाई सारनाथ लगिने छ। बुद्धत्व प्राप्त गरेपछि गौतमबुद्धले पहिलो उपदेश सारनाथमै दिएका थिए, जसलाई 'धर्मचक्र प्रवर्तन' भनिन्छ।

सारनाथको अवलोकन भ्रमणपछि यात्रीहरुलाई गंगा नदीमा बोटिङ गराइने छ। साथै साँझमा गंगा आरती पनि देखाइने छ। साँझ होटलमा खाना खाएपछि उनीहरुलाई रेलमा फर्काइने छ। त्यहाँबाट रेल भारतको नौतनवा प्रस्थान गर्ने छ।

२३ अक्टुबरको दिन रेल नौतनवा रेलवे स्टेशन पुग्ने छ। रेलभित्रै ब्रेकफास्ट गरेपछि पर्यटकहरुलाई नेपालको लुम्बिनी भ्रमण गराइने छ। पर्यटकहरुलाई होटलमा बिहानको खाना खुवाएपछि बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धको आमा मायादेवीको मन्दिरलगायतका स्थानको भ्रमण गराइने छ। ती पर्यटकहरु सो दिन लुम्बिनीकै एक होटलमा बास बस्ने छन्।

छैठौं दिन लुम्बिनीमै ब्रेकफास्ट गराएर उनीहरुलाई लुम्बिनीबाट कुशीनगर लगिने छ। कुशीनगरमा गौतमबुद्धको निधन भएको थियो, जसलाई 'महापरिनिर्वाण' भनिन्छ। कुशीनगरको दर्शनीय स्थानको अवलोकन गराएपछि रेल बलरामपुर अर्थात् श्रावस्तीतर्फ प्रस्थान गर्ने छ।

सातौं दिन रेल श्रावस्ती पुग्ने छ। श्रावस्तीमा गौतमबुद्धले तपस्या गरेको बताइन्छ। यहाँका केही स्थान अवलोकन गरेपछि पर्यटकहरुलाई रेलमै फर्काएर आगरा प्रस्थान गर्ने तालिका छ।

आठौं दिन बुद्धिस्ट सर्किट भ्रमणमा निस्किएको रेल आगरा पुग्ने छ। त्यहाँ पर्यटकहरुलाई ताजमहलको भ्रमण गराउने कार्यतालिका छ। त्यसपछि रेल नयाँदिल्ली फर्किने छ। आईआरसीटीका प्रवक्ता सिद्धार्थ सिंहले आजतकलाई बताएअनुसार बुद्धिस्ट सर्किट यात्रामा राम्रो प्रतिक्रिया आएको छ। रेलका ५० प्रतिशत सिट भरिएका छन्। मानिसहरुको सकारात्मक प्रतिक्रियाअनुसार बुद्धिस्ट सर्किट रेल १२ पटक चलाइने उहाँले बताउनु भएको छ।

जानकारी तथा लेखहरु