फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा नेपाली सेनालाई साढे दुई अर्ब सहयोग

(GMT+08:00) 2019-10-21 14:15:51

चीन सरकारले नेपाली सेनालाई एक सय ५० मिलियन युयान (करिब दुई अर्ब ४० करोड रुपैयाँ) सहयोग गरेको छ। नेपालका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र चीनका रक्षामन्त्री वेई फेन्ग्हेले बेइजिङमा आइतबार आयोजित एक कार्यक्रममा उक्त सहयोगको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

उक्त सहयोग अन्तरर्गत चीनले नेपाली सेनालाई मानवीय तथा विपद् व्यवस्थापनका सैन्य सामग्रीहरू उपलब्ध गराउने छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले नेपाल भ्रमणका क्रममा उक्त सहयोग नेपाली सेनालाई उपलब्ध गराउने प्रस्ताव गर्नु भएको रक्षा मन्त्रालयले जनाएको छ। यस सम्झौता अन्तर्गत मानवीय तथा विपद् व्यवस्थापका लागि नेपालले प्रस्ताव गर्ने सामग्रीहरूको विवरणको आधारमा प्रोटेकलमा समझदारी गरे बमोजिम आगामि तीन वर्षको अवधिमा नेपाललाई सहयोग हस्तान्तरण हुने उल्लेख छ।

चीनले नेपाली सेनालाई दिँदै आएको सहयोगको निरन्तरता स्वरुप यो रकम उपलब्ध गराएको हो। रक्षा मन्त्रालयका अनुसार गत वर्ष पनि चीनले नेपाललाई करिब २ अर्ब ४० लाख रुपैयाँ बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धि सहायता सामग्रीहरू उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा त्यो कार्यान्वयनको चरणमा छ।

उक्त सहायता सम्झौतामा हस्ताक्षर हुनुपूर्व नेपालका उपप्रधान तथा रक्षामन्त्री पोखरेल र चीनका रक्षामन्त्री वेई बीच द्धि–पक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो। पोखरेलले नेपाल र चीन बीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको उल्लेख गर्नु भएको छ।

पोखरेलले नेपाल र चीन बीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई हालै सम्पन्न चीनका राष्ट्राध्यक्ष सीको नेपालको राजकीय भ्रमणबाट थप उचाईमा पुर्‍याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताउनुभयो। पोखरेलले नेपालले आफ्नो भूमिमा तथा सीमा नाकामा छिमेकी मुलुकहरू विरूद्ध कुनै पनि गतिविधि हुन नदिने नीति दृढताका साथ अवलम्बन गर्दै आएको बताउनुभयो।

त्यस्तै, चीनका रक्षा मन्त्री वेईले नेपाल र चीनबीच प्राचीन कालदेखि नै सुमधुर, मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध रहेको कुरा उल्लेख गर्नुभयो। उहाँले चीनको जनमुक्ति सेना र नेपाली सेनाबीच अत्यन्त सकारात्मक रहेको बताउनुभयो। पोखरेलले वेईलाई नेपाल भ्रमणको निम्तो समेत दिएको रक्षा मन्त्रालयले जनाएको छ।

जानकारी तथा लेखहरु