फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ नायिका स्वी छिङद्वारा पोखरा भ्रमण

(GMT+08:00) 2019-10-22 16:21:38

नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत अभिनेत्री स्वी छिङ शनिबार पोखरा पुग्नु भएको छ। काठमाडौंमा सदभावना दूत घोषणा भएलगत्तै उहाँ पोखरा पुग्नु भएको हो।

फिस्टेल रिसोर्ट बस्नु भएकी उहाँ आइतबार बिहान नौकाविहारमा रमाउनुभयो। डुंगा सयर गरेर तालबाराही मन्दिर पुग्नुभयो। परेवालाई चारो दिनुभयो। गन्धर्वको सारंगी र मादलको धुनमा 'रेशम फिरिरी...' सुन्नुभयो। चिनियाँ सामाजिक सञ्जाल 'वैपो' मा हजारौंद्वारा पछ्याइएकी अभिनेत्रीलाई चिनेका चिनियाँ पर्यटक पोखरामा उहाँको पछि लागेका छन्। आफ्ना देशका नागरिक पछि लागेपछि उहाँ भने होटल फर्कनुभएको कान्तिपुर अनलाइनले लेखेको छ।

आइतबार दिउँसो उहाँ प्याराग्लाइडिङमा रमाउनुभयो। हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका पाइलट विष्णु कार्कीले उहाँलाई आकाशमा उडाएका हुन्। सराङकोटबाट कावा खाँदै उहाँ तोरीपानी झर्नुभयो। यसअघि टर्कीमा प्याराग्लाइडिङ गरेको उहाँले सम्झनुभयो।

सोमबार उहाँ हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर (एबीसी) पुग्नुभयो। उहाँको सात सदस्यीय टोलीले त्यहाँ २ घण्टा बितायो। उहाँले फोटो र भिडियो छायांकन गराउनुभयो। एबीसीबाट हेलिकप्टरमै उहाँ मर्दी हिमाल पुग्नुभयो। माछापुच्छ्रे हिमालको आडैमा आधा घन्टाजति बस्नुभयो। पोखरा फर्किएर उहाँले नेपाली खाना खानुभयो। दाल, भात, तरकारी मीठो मानीमानी हातैले खानुभयो। पोखरा भ्रमणको भिडियो उहाँले वैपोको आफ्नो एकाउन्टमा पोस्ट गर्नु भएको छ।

केही महिनापछि चिनियाँ कलाकारसहित पुन: पोखरा आउने छिङले इच्छा देखाउनु भएको हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका शैलेन्द्र रावतले बताउनुभयो। रावतका अनुसार स्वी छिङले नेपालको प्रवर्द्धन गर्न यहाँका पर्यटन व्यवसायीलाई चीन बोलाउनु हुनेछ।

सन् १९६९ मा बेइजिङमा जन्मिनु भएकी स्वी छिङले 'पियान्चौ पियान्छाङ (लाइफ अन अ स्ट्रिङ)' नामक चलचित्रबाट डेब्यु गर्नु भएको थियो। हलिउड तथा चिनियाँ चलचित्र दुनियाँमा निरन्तर सक्रिय स्वीको 'गुड अगेन्स्ट एभिल' नामक चलचित्र गत वर्ष ५५ औं ताइवान गोल्डेन हर्स अवार्डमा छानिएको थियो। उनीद्वारा अभिनीत नाटक, टेलिचलचित्रलगायत कलाकर्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारका लागि छानिएका थिए।

सन् २०१३ मा नेपालमा छायांकन भएको चिनियाँ फिल्म 'अप इन द वाइन्ड' मा समेत पोखराको प्याराग्लाइडिङको दृश्य थियो। सांघाईमा काम गर्ने महिला पत्रकार नेपाल यात्राबारे लेख्न काठमाडौं, चितवन र पोखरा घुमेको कथा फिल्ममा छ। काठमाडौंका पुरातात्त्विक स्थल, चितवनको जंगल सफारी र पोखराका साहसिक गतिविधि र सुन्दर दृश्य फिल्ममा देखाइएको छ। तेङ हुआताओको निर्देशनमा बनेको फिल्ममा नि नि र जिङ बोरान मुख्य भूमिकामा छन्।

उक्त फिल्ममा देखाइएको लोभलाग्दा दृश्यले चिनियाँ पर्यटक पोखरा भित्र्याउन सहयोग पुगेको व्यवसायी बताउँछन्। फिल्ममा पोखराको सराङकोटबाट गरिने प्याराग्लाइडिङसमेत समावेश भएपछि साहसिक पर्यटनले थप फड्को मारेको व्यवसायी वसन्त दवाडीले बताउनुभयो। उहाँका अनुसार हाल प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये ५० प्रतिशत चिनियाँ छन्। पोखरा आउनेमध्ये ८० प्रतिशत चिनियाँले प्याराग्लाइडिङ गर्छन्।

जानकारी तथा लेखहरु