फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा काठमाडौं–पोखरा र पोखरा लुम्बिनी रेलमार्गसम्बन्धी प्रतिवेदन नेपाललाई हस्तान्तर

(GMT+08:00) 2019-12-07 17:12:46

चीनले काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गरेको छ। प्रतिवेदनमा दुबै रेलमार्ग कसरी बनाउन सकिन्छ भन्ने उल्लेख रहेको अनलाइन खबरले लेखेको छ।

नेपाल चीनबीच भएको केरुङ–काठमाडौं सीमापार रेल निर्माण गर्ने समझदारीमा नै काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग बनाउने उल्लेख थियो। त्यसअनुसार चीनले गरेको प्रारम्भिक अध्ययनमा दुबै रेलमार्ग बनाउन भौगोलिक कठिनाइ नभएको देखिएको छ। 'हाम्रो लागि निकै खुसीको कुरा हो कि लम्बिनीको बुद्ध जन्मस्थलसम्म नै रेलमार्ग बनाउन सकिने गरी अध्ययन भएको छ,' रेल्वे विभागका सिनियर डिभिजन इन्जिनियर तथा प्रवक्ता अमन चित्रकार भन्नुहुन्छ।

उहाँकाअनुसार काठमाडौं–पोखरा रेलमार्ग करिब १६८ किलोमिटरको हुनेछ। यो रेलमार्ग काठमाडौंबाट कुरिनटार हुँदै त्रिशुली नदीको किनारैकिनार पोखरा लैजान सकिने अध्ययनले देखाएको छ। यसैगरी पोखरा–लुम्बिनी रेलमार्ग कुरिनटारबाट भरतपुर हँदै बुटवल र त्यहाँबाट लुम्बिनीको मायादेवी मन्दिरको परिसरसम्म पुग्नेछ।

यो रेलमार्ग करिब १५७ किलोमटर लामो हुनेछ। यसमा भरतपुरबाट बुटवलसम्म पूर्वपश्चिम रेलमार्गमा जोडिने सम्भावना छ। बुटवलबाट लुम्बिनीसम्म भने थप रेलमार्ग बनाउनुपर्नेछ।

योजनाअनुसार रेलमार्ग निर्माण भएमा चीनबाट चढेका यात्रु काठमाडौं हुँदै सीधै पोखरा र लुम्बिनीमा उत्रनेछन्। काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग निर्माण पनि केरुङ–काठमाडौं रेलमार्गभन्दासहज हुने चित्रकारले बताउनुभयो।

'केरुङ काठमाडौं रेल ४ हजार मिटरबाट १४ सय मिटरमा झर्नुपर्छ,' उहाँ भन्नुहुन्छ, 'तर काठमाडौं–पोखरा र पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि तुलनात्मक रुपमा त्यति धेरै भौगोलिक चुनौती छैन।'

दुबै रेलमार्ग निर्माण गर्दा १० देखि १२ किलोमिटर मात्रै सुरुङ निर्माण गरे पुग्नेछ। जबकी केरुङ–काठमाडौं रेलमार्गमा भने अधिकांश खण्डका सुरुङ र पुल बनाउनुपर्ने देखिएको थियो। काठमाडौं–पोखरा रेलमार्गका लागि करिब ३ खर्ब ५० अर्ब र पोखरा–लुम्बिनी रेलमार्गका लागि करिब ३ खर्ब लागत अनुमान गरिएको छ। 'दुबै रेलमार्ग बनाउन खास कति लाग्छ भन्ने सम्भाव्यता अध्ययन पछि थाहा हुन्छ,' प्रवक्ता चित्रकारले भने, 'यो प्रारम्भिक अनुमान मात्रै हो।'

नेपाल र चीनबीच गत हप्तामात्रै काठमाडौं–केरुङ, काठमाडौं पोखरा र पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ। चीनले आफ्नै खर्चमा यी रेलमार्गको सम्भाब्यता अध्ययन सुरु गर्दैछ। रेलमार्गको वातावरणीय अध्ययन भने नेपालले गर्नेछ।

जानकारी तथा लेखहरु