फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ सहयोगमा दैखेलमा पेट्रोलियम अन्वेषणको सर्भे हुँदै

(GMT+08:00) 2019-12-08 15:15:03

चिनियाँ प्राविधिक सहयोगमा पेट्रोलियम अन्वेषणअन्तर्गत दैलेख जिल्लाका विभिन्न ठाउँमा सेस्मिक सर्भे भइरहेको छ। जिल्लाको दुल्लु र नारायण नगरपालिका एवं भैरवी र महाबु गाउँपालिका क्षेत्रमा सर्भे केन्द्रित छ। सर्भेपछि कुन पेट्रोलियम कहाँ, कति मात्रामा छ भन्ने पत्ता लाग्ने अन्वेषणमा संलग्न विज्ञले बताएको कान्तिपुर अनलाइनले लेखेको छ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका र डंगेश्वर, नौमुले र भगवतीमाई गाउँपालिकाका केही ठाउँमा पनि अन्वेषण गरिने पेट्रोलियम अन्वेषण आयोजनाका वरिष्ठ भूगर्भविद् गणेशनाथ त्रिपाठीले जानकारी दिनुभयो। उहाँका अनुसार दुई महिनाभित्र सम्भावित क्षेत्रको अध्ययन सकिनेछ।

सेस्मिक सर्भेअन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी त्यसबाट उत्पन्न भूकम्पीय तरंगलाई जमिनभित्र धेरै गहिराइसम्म पठाइन्छ। त्यहाँ विभिन्न तहमा ठोक्किएर फिर्ता भएका तरंग सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ। 'सेस्मिक सर्भेले तरंगहरूको सूक्ष्म विश्लेषण गरी पेट्रोलियमको भण्डार हुन सक्ने सम्भावित भौगर्भिक संरचना पहिचान गर्छ,' त्रिपाठीले भन्नुभयो, 'त्यसपछि मात्र अन्वेषणको थप प्रक्रिया अघि बढ्छ।'

विभिन्न भागमा २० किलोमिटर क्षेत्रभित्र १० सर्कलमा १० समूह निर्माण गरी ड्रिलिङ गरिँदै छ। तीमध्ये एउटा सर्कलमा जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको त्रिपाठीले बताउनुभयो। अन्य सर्कलमा पनि तीव्र रूपमा काम अघि बढेको उहाँको भनाइ छ। चाइना जिओलजिकल सर्भेको टोलीले अन्वेषण गरिरहेको छ। वरिष्ठ भूगर्भविद् ट्यान फुएनले त्यसको नेतृत्व गरिरहनु भएको छ। एक समूहमा ८ नेपाली कामदार र दुईजना विज्ञ सम्मिलित टोली खटिएका छन्। सर्भेको प्रतिवेदनका आधारमा अर्को वर्ष उपयुक्त स्थान खोजेर भण्डारणबारे थप अनुसन्धान गरिने विज्ञको भनाइ छ।

सेस्मिकका साथै जिओलोजिकल, म्याग्नेटो टेल्युरिक र जिओकेमिकल सर्भेको काम पनि भइरहेको आयोजनाले जानकारी दिएको छ। जियोकेमिकलअन्तर्गत विभिन्न ग्रेडको नमुना संकलन गर्ने काम भइरहेको त्रिपाठीले बताउनुभयो। एक साताभित्र नमुना संकलनको काम सकिने उहाँको भनाइ छ। म्याग्नेटो टेल्युरिक सर्भेको काम पनि सकिइसकेको छ।

'सतहमुनिको गहिराइको अध्ययन र तेलको सम्भावना कस्तो छ भनेर बुझ्न म्याग्नेटो टेल्युरिक र जियाकेमिकल सर्भे गरिन्छ,' उहाँले भन्नुभयो, 'त्यसपछि मात्र अन्वेषणको काम कति सहज रूपमा अघि बढ्छ भन्ने थाहा हुन्छ।' अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भए अर्को वर्ष नोभेम्बरमा दोस्रो चरणको अन्वेषण गरिनेछ। आर्थिक विश्लेषणअन्तर्गत भण्डारको आकारप्रकार, आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने/नसकिनेबारे अध्ययन हुनेछ।

पेट्रोलियम पदार्थको अन्वेषणका क्रममा कडा चट्टान बाधक बनेको छ। मेसिन छिटोछिटो बिग्रँदै गएका छन्। जमिनमुनि करिब ४५ फिटसम्म ड्रिलिङ गर्नुपर्ने भएकाले चट्टान परेपछि मेसिन बिग्रिने गरेको आयोजनाका मानव संसाधन प्रमुख सूर्यमणि लामिछानेले बताउनुभयो।

अन्वेषण क्षेत्रका लागि ल्याइएका २० वटा मेसिनमध्ये करिब १० वटा बिग्रेका छन्। तिनलाई मर्मत गर्दै काम गरिएको उनको भनाइ छ। 'पर्याप्त मेसिन र राम्रो भूगोल भइदिएको भए यस्तो सास्ती खेप्नुपर्ने थिएन,' उहाँले भन्नुभयो। विस्फोटक पदार्थका साथै अन्य महत्त्वपूर्ण सामग्री सुरक्षाको जिम्मा जिल्ला सुरक्षा समितिले लिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु