फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अंग्रेजी नयाँ वर्षका अवसरमा चितवनमा हात्ती महोत्सव हुने

(GMT+08:00) 2019-12-08 15:19:45

अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्न पर्यटकीय नगरी सौराहामा आगामी पुस १० गतेदेखि हात्ती महोत्सव गरिने भएको छ। छ दिनसम्म सञ्चालन हुने सो महोत्सव १६औँ संस्करण रहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

भ्रमण वर्ष सन् २०२० लाई विशेष रुपमा महोत्सवबाटै स्वागत गरिँदैछ। महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेल हुनेछन्।

सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन्। ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री बिक्री गरिनेछन्। महोत्सवको समापनसँगै विशेष कार्यक्रमको आयोजना गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो।

महोत्सवको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। हरेक वर्ष अङ्ग्रेजी नयाँ वर्षलाई स्वागत गर्दै महोत्सव गर्ने गरिन्छ। नयाँ वर्षमा विदेशी पर्यटक आफ्नै देशमा रमाउने हुँदा उनीहरुको सङ्ख्या कम हुने गर्दछ। नेपाली पर्यटक धेरै भित्र्याउन महोत्सव गर्ने गरिएको छ।

जानकारी तथा लेखहरु