फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं साग आज मङ्गलबार समापन हुँदै

(GMT+08:00) 2019-12-10 17:10:09

काठमाडौं–पोखरा–जनकपुरधाममा मङ्सिर १० गतेदेखि सुरु भएको तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) आज मङ्गलबारबाट समापन हुँदैछ। पुरुष फुटबलको फाइनलसँगै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा समापन समारोहको आयोजना हुने बताइएको छ।

साथै सागको अन्तिम दिन आज १५ स्वर्णका लागि स्पर्धा हुँदैछ। समापन समारोह अघि तीन बजेदेखि फुटबलमा स्वर्ण पदकका लागि नेपालले भुटानको सामना गर्दैछ। फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ। मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ। समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहने छ।

समापन समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्समार्फत् सम्बोधन गर्नुहुने कार्यक्रम छ।

सागको तीन दशक बढीको इतिहासमा सबैभन्दा बढी स्वर्ण जितेर नेपालले नयाँ कीर्तिमान बनाएको तेह्रौं साग नै हो। फाइनलका केही स्पर्धा हुन बाँकी रहँदा नेपालले ४९ स्वर्ण जितेर दोस्रो स्थानमा छ। पदक तालिकामा भारतले यसअघिका संस्करण झैं तेह्रौं सागमा आफ्नो वर्चश्वता यथावत् राखेको छ।

भारत हालसम्म १५९ स्वर्ण, ९१ रजत र ४४ काश्य जितेर २९४ पदकसहित शिर्ष स्थानमा छन्। दोस्रो स्थानको नेपालले ४९ स्वर्ण, ५४ रजत र ९२ काश्यसहित १९५ पदक जितेको छ। तेस्रो स्थानमा भने श्रीलङ्का छन्। श्रीलङ्काले ३९ स्वर्ण, ७९ रजत र ११८ काश्य गरी कुल २३६ पदक जितेको छ। चौथो स्थानमा रहेको पाकिस्तानको कुल पदक १२४ छ। उसले ३२ स्वर्ण, ३७ रजत र ५५ काश्य जितेको छ। पाँचौं स्थानको बङ्गलादेशले १९ स्वर्ण, ३२ रजत र ८१ काश्यसहित कुल १३२ पदक जितेको छ। माल्दिभ्सले हालसम्म एक स्वर्ण र तीन काश्य गरी कुल चार पदकसहित छैठौं र भुटानले छ रजत र १३ काश्यसहित १९ पदक ल्याएर पुछारमा छन्।

जानकारी तथा लेखहरु