फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्धको प्रतिमा

(GMT+08:00) 2020-01-05 18:34:02

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने पर्यटकले अब आउनेबित्तिकै बुद्धको जन्मभूमिमा स्वागत पाउने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई 'बुटिक एयरपोर्ट' बनाउने अवधारणाअनुरूप साजसज्जा र स्वरूप परिवर्तन गर्ने क्रममा स्थापना गरिएको बुद्धको प्रतिमासँगै बुद्धको देश नेपालमा स्वागत गरिएका शब्द पाउने भएका छन्।

विमानस्थलको आवागमन कक्षसँगै निर्माण गरिएको बुद्धको प्रतिमाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अनावरण गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। करिब एक टन वजनको बुद्धको प्रतिमाको लागत रु. ७० लाख रहेको र यसमा झन्डै २४ लाख रुपियाँ मूल्यको सुनको जलप लगाइएको छ। उक्त बुद्धको प्रतिमा पाटनका कालिगड अमिर शाक्यले बनाउनुभएको हो। 'वेलकम टु दी ल्यान्ड अफ लर्ड बुद्ध' लेखिएको बुद्धको प्रतिमा अनावरण गर्दै पर्यटनमन्त्री भट्टराईले बुद्धको प्रतिमाले विदेशी पर्यटकलाई विमानस्थलमा ओर्लेपछि बुद्धको देशमा प्रवेश गरेर आनन्दको महसुस गराउने बताउनुभयो।

यात्रुको आवागनमा सहजै देखिने गरी बुद्धको प्रतिमा स्थापना गर्ने भन्ने योजना बनेअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्ष सामुन्ने स्थापित गरेको र यसले छुट्टै आनन्दको महसुस गराउने उहाँले बताउनुभयो।

बुद्धको प्रतिमामा अब कुनै पनि पर्यटकले बुद्धसँगै बसेर फोटो खिच्न सक्ने छन् सहज रूपमा अवलोकन गर्न पाउने छन्। बुद्धको प्रतिमा स्थापित भएसँगै विमानस्थललाई सुन्दर बनाउने काम सुरु भएको पर्यटनमन्त्री भट्टराईले बताउनुभयो। उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने बाँकी काम क्रमशः अघि बढाइने उल्लेख गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टका रूपमा रूपान्तरण गर्ने निर्णय गरेको थियो। सन् २०२० को भ्रमण वर्षकै सिलसिलामा यो काम अघि बढाउने सरकारको योजना थियो। अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रूपान्तरण गर्ने विभिन्न आइटममध्ये बुद्धको प्रतिमा एक महŒवपूर्ण पाटो हो।

राससका अनुसार जहाजबाट ओर्लेपछि आगमनतर्फ लम्किँदै गर्दा टर्मिनल छिर्ने ढोकैनेर ठूलो अक्षरमा 'वेलकम टु नेपाल' लेखिएको छ जसलाई नेपालको कला, संस्कृति झल्कने कागजको फ्रेमले सजाइएको छ। त्यसको ठीक पछाडि गरुडले नमस्ते गरेको मूर्ति देख्न सकिन्छ। जुन विदेशी पर्यटकका लागि 'सेल्फी जोन' बनेको छ।

योसँगै अब बुद्धको प्रतिमा पर्यटकलाई सेल्फी खिच्ने मुख्य क्षेत्र बन्ने छ। विमानस्थलभित्र नेपाली मौलिक कला संस्कृतिको विशेषता झल्कने सामग्रीको साजसज्जाले बुटिक एयरपोर्टको अवधारणालाई सार्थक तुल्याउने पर्यटनमन्त्रीको भनाइ थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुटिक एयरपोर्टको अवधारणाअनुरूप अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको अघिल्तिर 'क्यानोपी' राख्ने र यसले यात्रुलाई घामपानीमा सहज व्यवस्थापन गर्न सकिने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय विमानस्थलको भित्रीतर्फ मर्मतको कामका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको तथा आन्तरिक टर्मिनलतर्फ पनि प्रधानमन्त्रीको निर्देशनबमोजिम 'परम्परागत मौलिकता झल्कने, आधुनिकता टल्कने' गरी टेन्डर सम्पन्न भइसकेको छ। बाँकी काम छिट्टै सुरु हुँदैछ। करिब चार महिनाभित्र बुटिक एयरपोर्टको सम्पूर्ण काम सकिने महानिर्देशक पोखरेलले बताउनुभयो।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बुटिकको अवधारणाअनुरूप अन्तर्राष्ट्रिय विमानस्थललाई मौलिक कला र संस्कृतिसहित आधुनिक प्रविधियुक्त बनाउने कार्य भइरहेको बताउनुभयो। अन्तर्राष्ट्रिय जगत्मा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाट पर्ने भएकाले विमानस्थलको रूप बदल्न लागि सरोकारवाला निकाय लागि परेका छन्।

जानकारी तथा लेखहरु