फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको सरकारी विमानले आगामी मार्चदेखि क्वाङ्चौ र जापान उडान गर्ने

(GMT+08:00) 2020-01-10 14:53:50

नेपाल वायुसेवा निगमले मार्चमा दुई नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। निगमले मार्चको पहिला साताबाट जापानको नारिता र मार्चको दोस्रो साताबाट चीनको क्वाङ्चौ उडान भर्ने भएको छ । निगमले नयाँ दुई गन्तव्यमा उडानको लागि आन्तरिक तयारी गरिरहेको समेत निगमले जनाएको छ। मार्चको २ बाट नारिता र मार्च १५ तारिक क्वाङ्चौमा उडान गर्ने गरी निगमले आन्तरिक तयारी गरिहेको निगमका प्रवक्ता गणेशबहादुर चन्दले बताउनुभयो।

'नेपाल भ्रमण वर्ष–२०२०'सुरु भएसँगै राष्ट्रिय ध्वजावाहक निगमले नयाँ गन्तव्यको विस्तारमा जोड दिएको हो। निगमले केही समय अगाडिमात्र जापानको नारिता उडान अनुमति पाएको छभने चीनको क्वाङ्चौ उडान गर्ने निश्चित भएको थियो । निगमको एयरबस ए३३०–२००बाट क्वाङ्चौमा हप्ताको तीन उडान भर्ने छ । आइतबार,मंगलबार र बिहीबार चीनको क्वाङ्चौमा उडान भर्ने गरी कलसाइनसमेत प्राप्त भइसकेको निगमले जनाएको छ । क्वाङ्चौमा उडान गर्नको लागि टिकट बुकिङ र भाडादरको विषयमा निगमले आन्तरिक अध्ययन अनुसन्धान गरिरहेको निगमले जनाएको छ। निगमले चीनमा जनरेल सेल्स एजेन्ट(जीएसए) नियुक्त गरिसकेको छ भने जापानमा प्यासेन्जर सेल्स एजेन्ट(पीएसए) नियुक्त गरिसकेको छ।

निगमले मार्च २ बाट नारिता उडानको लागि उडान अनुमति समेत मागगरेर जापानको सिभल एभिएसनमा पठाइसकेको छ। हाल निगमले जापानको ओसाकामा काठमाडौं–ओसाका–काठमाडौं हप्ताको २ उडान गर्दै आएको छ। नारिता उडान सुरु भएसँगै ओसाका उडान बन्द गर्ने निगमले जनाएको छ। नारितामा पनि निगमले हप्ताको तीन दिन सोमबार,बुधवार र शुक्रबार उडान भर्ने जनाएको कारोबार अनलाइनले समाचार लेखेको छ।

नारिता र क्वाङ्चौमा ग्राउण्ड ह्यान्डलिङ ग्राउण्ड ह्याण्डलिङ, इन्धन र स्लट सेवाको प्रक्रियासमेत पूरा भएको निगमको भनाइ छ। यसअघि निगमले नारितामा एयरबस ए ३३०–२०० जहाजमार्फत चार्टर उडान गरिसकेको छ । भदौ १२ देखि जापानकै ओसाकामा सीधा उडान सुरु गरेको निगमले यात्रु पाउन नसकेपछि नारिता उडानका लागि पहल गर्दै आएको थियो । साताको तीन उडानबाट सुरु गरेको निगमले हाल ओसाकामा हप्तामा दुई दिनमात्रै उडान गर्दै आएको छ ।

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई विशेष प्राथमिकताका साथ निगमले गन्तव्य विस्तारमा जोड दिएको छ। निगमको नयाँ दुई गन्तव्यमा उडान भरेसँगै नेपालको पर्यटन आगमनमा सुधार हुने समेत अपेक्षा राखिएको छ । निगमले चीनको राजधानी बेइजिङ र सांघाइ उडानका लागि पनि चिनियाँ नियामक निकायसँगको पहल जारी राखेको पनि बतायो।

अष्ट्रेलिया उडानका लागि समेत निगमले अध्ययन समिति गठन गरेको छ। साउदी अरेबियाको रियाद र कोरियाको सिओलमा उडान भर्नेका लागि कोरियासँग आवश्यक गृहकार्य गरिरको निगमले जनाएको छ। हाल नेपालको निजी क्षेत्रको र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले गत कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा र मंसिर ४ देखि चीनको हुनान प्रान्तको राजधानी चाङ्सामा सिधा उडान सुरु गरिसकेको छ।

जानकारी तथा लेखहरु