फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमापार हुने आपराधिक गतिबिधि नियन्त्रणमा नेपालसँग चीनको चासो

(GMT+08:00) 2020-01-14 14:41:05

चीनले नेपाल–चीन सीमाबाट आपराधिक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्नका लागि नेपालसँग सहकार्य गर्ने विषयलाई गहन बनाउन प्रस्ताव राखेको छ। पुस २० देखि २५ गतेसम्म नेपालका गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमण क्रममा चिनियाँ पक्षले उक्त प्रस्ताव गरेको नागरिक अनलाइनले लेखेको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गत अक्टोबरमा गर्नु भएको नेपाल भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्नेगरी छलफल अगाडि बढाएको भए पनि त्यति बेला 'आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि हुने' भन्ने समझदारीमात्रै भएको थियो। त्यही समझदारीमा टेकेर गृहमन्त्री थापाको भ्रमणको समयमा पनि चिनियाँ पक्षले चासो व्यक्त गरेको हो। 'चिनियाँ पक्षले सीमा सुरक्षा र व्यवस्थापनबारे चासो राखेको हो। राष्ट्राध्यक्ष सीको भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने सवालमा कुराकानी भएको छ', गृहमन्त्रीको भ्रमणमा सहभागी एक सदस्यले भने। भ्रमणका बेला कुनै पनि लिखित सम्झौता भने नभएको उनले बताए।

मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले आतंकवादी गतिविधिमा संलग्न तथा अपराध गरेर एकअर्काको देशमा लुकेका नागरिकलाई पक्राउ गरी औपचारिक रूपमा बुझाउने विषयमा जोड गरेको छ। यो विषयमा चिनियाँ राजदूतले पटकपटक गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री तथा राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी लबिङ गरिरहेका छन्। राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणताका चिनियाँ राजदूतको लबिङ तीव्र भए पनि सुपुर्दगी सन्धिले मूर्तरुप लिन पाएको थिएन।

गृहमन्त्री थापाको भ्रमण बेला पनि उहाँका चिनियाँ समकक्षी जनसुरक्षामन्त्री चाओ चिङले अनौपचारिक कुराकानीमा यो विषय उठाउनु भएको थियो। 'चिनियाँ अधिकारीहरुले अनौपचारिक भेटघाटमा यस्तो विषयलाई प्राथमिकतामा राखेको देखियो तर मन्त्री थापाले यस विषयमा कुनै जबाफ फर्काउनु भएन', भ्रमणमा सहभागी एक सदस्यले भने।

स्रोतका अनुसार राष्ट्राध्यक्ष सीको भ्रमणअघि मन्त्रालयले तत्कालीन सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा सुपुर्दगी सन्धिको मस्यौदाबारे छलफल चलाएको थियो। त्यति बेला गृहमन्त्री थापाले यो विषय अघि बढाउन सकिँदैन भनेपछि रोकिएको स्रोतको दाबी छ।

गृहमन्त्री थापासँगै चीन भ्रमणमा गएका गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले सीमा सुरक्षा, विपद् व्यवस्थापन र चिनियाँ सरसहयोगबारे कुराकानी भएको बताउनुभयो। 'राष्ट्रपति सीको भ्रमणताका भएका सम्झौता कार्यान्वयन गर्ने विषयमा दुवै देशका अधिकारी सहमत भए। नेपालका तर्फबाट नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमिबाट चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाइएको छ', प्रवक्ता शर्माले भन्नुभयो। उहाँका अनुसार भ्रमणका बेला नेपाल र चीनबीच कुनै लिखित सहमति भएको छैन।

गृहमन्त्री थापा चीन भ्रमणका जानुअघि १ सय २२ चिनियाँ नागरिक पक्राउ गरी नेपाल सरकारले डिपोर्ट गरेको थियो। यसको चीन सरकारले प्रशंसा गरेको थियो। पुस ७ गते पक्राउ परेका चिनियाँ नागरिकलाई चीनतर्फ डिपोर्ट गर्नुलाई सुपुर्दगी सन्धिकै एउटा प्रक्रियाका रुपमा हेरिएको छ। राष्ट्राध्यक्ष सीको नेपाल भ्रमणका समयमा भएको समझदारी कार्यान्वयन गर्ने क्रममा उनीहरुलाई डिपोर्ट गरिएको हो।

जानकारी तथा लेखहरु