फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिउँदमा पनि हिमाल आरोहण

(GMT+08:00) 2020-01-14 14:42:18

सधैं चैत-वैशाखताका पर्ने वसन्तकालीन हिमाल आरोहण सिजनमा विश्वकै सर्वोच्च शिखर सगरमाथासहितका हिमचुचुरा आरोहण गर्न आरोहीको हानथाप हुन्छ। यसपटक हिउँदमा पनि सगरमाथा आरोहण गर्न विदेशीहरू नेपाल आइपुगेका छन्। पर्यटन विभागका अनुसार यसपटक जर्मनी, अमेरिका, चीन र स्पेनबाट २७ जना विदेशी काठमाडौं आइपुगेका छन्। शनिबारसम्म पाँचवटा आरोहण दलले अनुमति पाइसकेको विभागकी निर्देशक मीरा आचार्यले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उनीहरूमध्ये सगरमाथा आरोहणका लागि पाँच जना विदेशीले अनुमति लिएका छन्। 'वसन्तकालीन याममा सजिलो हुन्छ, सगरमाथा आरोहण गरेको अनुभव महसुस गर्न कठिनाइ हुन्छ तर हिउँद भनेको चुनौतीपूर्ण याम हो, साँच्चै सगरमाथा आरोहणको अनुभव लिन हामी नेपाल आएका हौं,' विदेशी आरोहण दलका सदस्यको भनाइ उद्धृत गर्दै आचार्यले भन्नुभयो।

उहाँका अनुसार हिउँद याममा नेपालमा खासै हिमाल आरोहण गरिँदैन। गत वर्ष सगरमाथा आरोहणका लागि कोही पनि विभागको सम्पर्कमा आएका थिएनन्। यसपटक स्पेन र जर्मनीका नागरिक आइपुगेका हुन्। यी विदेशीबाट विभागले १५ लाख रुपैयाँ सलामी दस्तुर संकलन गरेको छ।

यसपटक सगरमाथाबाहेक ५४६७ मिटर उचाइको रोक्पाइ हिमाल, ६८१४ मिटर उचाइको आमादब्लम र ७८५५ मिटर उचाइको नुप्चे हिमाल आरोहणमा विदेशी जाँदै छन्। यी चारवटै हिमाल आरोहणको अनुमतिबापत विभागले १६ लाख ८२ हजार सलामी दस्तुर संकलन गरेको छ।

यसपटकको शरदकालीन हिमाल आरोहण सिजनमा देशभरका ५३ वटा हिमचुचुरामा ९ सय ८८ आरोहीले सफलता हात पारेका थिए। यस सिजनमा नेपालसहित ६४ मुलुकका आरोहीले ५३ वटा हिमाल आरोहण गरेका थिए।

जानकारी तथा लेखहरु