फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा ग्यास खपत १० वर्षमा चार गुणा बढ्यो

(GMT+08:00) 2020-01-16 14:45:33

पछिल्लो एक दशकमा नेपालमा खाना पकाउने एलपी ग्यासको खपत चार गुणाले बढेको छ। सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत उच्च दरमा वृद्धि भएको कारोबार अनलाइनले लेखेको छ।

नेपाल आयल निगमको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५-६६ मा १ लाख १५ हजार ८१३ टन खपत भएकोमा आव २०७५-७६ सम्ममा ४ लाख १२ हजार ८५३ पुगेको हो। बर्सेनि ग्यासको खपत बढ्दै गएपछि आयात पनि सोही अनुपातमा बढ्दै गएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतले ग्यासको प्रयोग बढ्दै गएकाले खपत पनि सोही अनुपातमा बढ्दै गएको बताउनुभयो। "पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको छ," उहाँले भन्नुभयो, "औसतमा वार्षिक रूपमा १५ प्रतिशतका दरले ग्यासको खपत बढ्दै गएको छ।"

सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रसम्म प्रयोग बढ्दै गएकाले ग्यासको खपत १५ प्रतिशतले वृद्धि निगमको तथ्यांकले देखाएको छ। बिजुलीभन्दा सस्तो पर्ने र सहजै प्रयोग गर्न सकिने भएकाले यसको खपत वर्सेनि बढ्दै गएको निगमको भनाइ छ। बढ्दो सहरीकरणले दाँउरा र गुइँठाको प्रयोग घट्न थालेपछि ग्यासको खपत बढ्दै गएको निगमको भनाइ छ। निगमका अनुसार ग्यासको मासिक औसत खपत ३० देखि ३२ हजार टन हुने गर्छ। निगमले पछिल्लो १० वर्षमा २६ लाख ६ हजार २ सय ४८ टन ग्यास आयात गरेको छ। निगमका अनुसार आर्थिक वर्ष २०६५-६६ मा १ लाख १५ हजार ८१३ टन आयात भएकोमा आव ०६६-६७ मा १ लाख ४१ हजार १७१ आयात भएको थियो। यस्तै आव ०६७-६८ मा १ लाख ५९ हजार २८६ टन आयात भएकोमा आव ०६८-०६९ मा १ लाख ८१ हजार ४४६ टन आयात भएको थियो।

आव ०६९-०७० मा २ लाख ७ हजार ३८ टन ग्यास आयात भएको निगमको तथ्यांक छ। २०७०-७१ मा २ लाख ३२ हजार ६६० टन ग्यास आयात भएको थियो। यस्तै, आव ०७१-७२ मा २ लाख ५८ हजार २९९ टन आयात भएकोमा आव ०७२-७३ मा २ लाख १४ हजार १९४ टन आयात भएको थियो। ०७२-०७३ मा भारतले गरेको अघोषित नाकाबन्दीका कारण कम ग्यास आयात भएको थियो। यस्तै आव ०७३-७४ मा ३ लाख १२ हजार ९२८ टन आयात भएकोमा आव ०७४ -७५ मा ३ लाख ७० हजार ५६० टन आयात भएको निगमको तथ्यांक छ।

हाल सञ्चालनमा रहेका ५९ वटा ग्यास उद्योगसँग ७ हजार ८ सय २३ टन ग्यास भन्डारणको क्षमता रहेको छ। निगमसँग भने ग्यास भन्डारणको क्षमता छैन। निगमसँग ग्यास ढुवानी गर्ने ट्यांकर नभएका कारण एलपी ग्यास पी.डी.ओ ग्यास उद्योगीलाई उपलब्ध गराउने गर्छ। ५९ वटा बोटलिङ प्लान्टले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यासको आयात गर्ने गर्दछन्। गर्मी मौसमको तुलनामा चाँडो मौसममा ग्यासको खपत धेरै हुने गर्छ। मुलुकमा सवैभन्दा धेरै ग्यास व्यावसायिक प्रयोजनमा धेरै खपत हुने गर्छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि एउटै मूल्य कायम गर्दा उपभोक्तालाई प्रत्यक्ष मार पर्ने गरेको छ। घरायसी र व्यावसायिक प्रयोजनका लागि दोहोरो मूल्य कायम गर्ने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा आउने सकेको छैन। मुलुकमा ग्यासको विकल्प नहुँदा ग्यासकै लागि बर्सेनि २० देखि २५ अर्ब रुपैयाँ बाहिर जाने गर्छ।

 

जानकारी तथा लेखहरु