फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चितवनमा ६० करोड लगानीमा मुलुककै ठूलो रिसोर्ट एन्ड फनपार्क

(GMT+08:00) 2020-01-18 14:01:36

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चितवनको भरतपुर नगरपालिकामा कविलास रिसोर्ट एन्ड फनपार्क सञ्चालनमा आएको छ। ६० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको सो रिसोर्टले नेपाल भ्रमण वर्ष–२०२० लाई टेवा पुग्ने विश्वास लिएको कारोबार अनलाइनले लेखेको छ।

मुग्लिनबाट नारायणघाट जाने बाटोमा दासढुंगा कट्ने बित्तिकै राजमार्गको देब्रेपट्टी ६ सय मिटर उकालो चढेपछि रिसोर्ट पुगिन्छ। साथै जुगेडीबाट रिसोर्टको बाटो तय गर्नेका लागि ३.५ किमी यात्रा गरे पुग्छ। कुल २५ बिघा मुलुकमा सबैभन्दा धेरै क्षेत्रफलमा फैलिएको फनपार्कलाई सबैभन्दा ठूलो फनपार्क भएको दाबी गरिएको छ।

कम्पनीका अध्यक्ष बाबुराम उपाध्यायले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरी रिसोर्ट सञ्चालनमा ल्याइएको र यस अवसरमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जानकारी दिनुभयो। "२५ बिघा क्षेत्रफलमा रिसोर्ट र फनपार्क सञ्चालनमा गरेका छौं, जसमा फनपार्क, वाटर पार्क, स्वीमिङ पुलसँगै ७ वटा पारिवारिक भिल्लासमेत छ," उपाध्यायले भन्नुभयो।

२५ बिघा क्षेत्रफलमध्ये पूर्वाधार बाहेकका क्षेत्रफलमा अग्र्यानिक खेती गरिएको छ। त्यहीको अग्र्यानिक तरकारी रिसोर्टमा प्रयोग हुन्छ भने त्यही कुखुरा र खसी पनि पालिएको उपाध्यायले जानकारी दिनुभयो।

रिसोर्टमा विभिन्न सेमिनारलगायतका कार्यक्रम गर्न मिल्नुका साथै, विवाह तथा पिनकिन गर्न पनि सकिने उपाध्यायले बताउनुभयो। रिसोर्टमा २ सय जनालाई बस्न लजिङको व्यवस्था छ भने ७ वटा पारिवारिक भिल्ला, ४ वटा सेमिनार हल समेतको पूर्वाधार विकास गरिएको छ।

जसमा ग्राहकको मागअनुसार मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रमको व्यवस्था गरिएको छ। रिसोर्टबाट टाँडी, नारायणगढ, देवघाट, गैँडाकोट, कावासोती आदिका ठाउँको रमाइलो हेर्न सकिन्छ भने त्यहाँबाट ग्राहकहरूले नजिकका पर्यटकीय क्षेत्रमा जानका लागि गाडीको व्यवस्था पनि गरिएको छ।

जानकारी तथा लेखहरु