फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन्धुपाल्चोकमा ७८ हजार घर पुनर्निर्माण

(GMT+08:00) 2020-01-19 14:23:06
भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा निजी आवास निर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिका चार वर्ष आठ महिनामा झन्डै ८७ प्रतिशत आवास पुनर्निर्माण भइसकेको छ। पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का व्यवस्थापक लक्ष्मण सेठले आगामी असारमा निजी आवास पुनर्निर्माण सक्ने लक्ष्य लिइएको बताउनु भएको नागरिक अनलाइनले लेखेको छ। 'अहिलेकै गतिमा पुनर्निर्माणले तीव्रता पाए बाँकी १३ प्रतिशत आवास पुनर्निर्माण आउँदो असारभित्र सकिने देखिन्छ,' उहाँले भन्नुभयो।

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) को तथ्यांकअनुसार पुस मसान्तसम्म ७७ हजार नौ सय ४२ घरको पुनर्निर्माण भएको छ। यो भूकम्प प्रभावित लाभग्राही संख्याको ८६.७४ प्रतिशत हो। पुननिर्माण सम्पन्न गरेका झन्डै दुई हजार आठ सय पीडित तेस्रो किस्ता अनुदान पाउने प्रक्रियामा छन्। आठ हजार आठ सय ४१ घरको निर्माण कार्य जारी छ। त्यसमध्ये सात हजार आठ सय १६ आवास पुनर्निर्माण अन्तिम चरणमा पुग्दा झन्डै एक हजार घर भर्खरै बनाउन सुरु गरिएको छ।

सिन्धुपाल्चोकमा हाल ८९ हजार आठ सय ५४ लाभग्राही छन्। यसमा रेट्रोफिट (मर्मत) गरिनुपर्ने ६ सय ५० घर समेटिएका छन्। ८६ हजार सात सय ८३ ले पहिलो, ८३ हजार दुई सय ७३ ले दोस्रो र ७५ हजार एक सय ७४ ले अनुदानको तेस्रो किस्ता लिइसकेका जिमालीको तथ्यांक छ। पहिलो किस्ता अनुदान पाउने प्रक्रियामा रहेका तीन हजार ७१ आवासको मात्र पुनर्निर्माण सुरु हुन बाँकी देखिन्छ।

भूमिहीन, विस्थापित र जग्गा किचलो भएका पीडितले आवास पुनर्निर्माण थाल्न नसकेको जिल्ला आयोजना व्यवस्थापक सेठ बताउँछन्। जिल्लामा एक सय ९७ परिवार भूमिहीन लाभग्राही रहेकोमा ३६ को मात्र कायम भएको छ। त्यसमध्ये एक परिवारले मात्र जग्गा प्राप्त गरेको छ। त्यस्तै नौ सय १३ परिवार विस्थापितमध्ये तीन सय तीनले मात्र जग्गा प्राप्त गरेर आवास पुनर्निर्माण गरिरहेका छन्। ६ सय १० विस्थापित जग्गा प्राप्तिको प्रक्रियामा छन्। उनीहरूले आवास निर्माण थाल्न सकेका छैनन्।

भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट निजी आवास पुनर्निर्माण अभियानको थालनी गरेका थिए। त्यसपछिका तीन वर्ष आठ महिनामै दुई तिहाईभन्दा बढी आवास पुनर्निर्माण भएका हुन्।

जानकारी तथा लेखहरु