फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलका लागि दक्ष जनशक्ति उत्पादनमा सघाउन चीनले छात्रवृत्ति दिने

(GMT+08:00) 2020-01-20 18:13:21
चीनले नेपालको रेल यातायातका लागि दक्ष जनशक्ति उत्पादनमा सघाउन हरेक वर्ष १० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । हालै बुटवल नगरपालिकाका प्रमुख तथा उपमेयरसहितको टोलीले चीनको पल्लो सान्सीस्थित सिआन सहरको भ्रमण गरेपछि यस विषयमा सहमति भएको हो ।गत असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा बुटवल र सिआन सहरबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटीको सहजीकरणमा नेपाली टोली र सिआनको रेलवे युनिभर्सिटीको इन्टरनेसनल डिपार्टमेन्टका उपप्रमुखबीच भएको सम्झौताअनुसार आउँदो सेप्टेम्बरदेखि केही वर्षसम्म नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिसहित भर्ना गरिनेछ ।

सोसाइटीका संस्थापक राजीव झाका अनुसार रेलवे युनिभर्सिटीमा रेलसम्बन्धी विषय मात्रै पढाइ हुन्छ । चीनको रेल यातायातका लागि चाहिने जनशक्ति पनि यहींबाट उत्पादन हुन्छ । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्गत हिमालय पार रेल लैजाने चर्चा चलिरहेका बेला जनशक्ति उत्पादनका लागि छात्रवृत्तिसम्बधी सहमति भएको हो । चीनले पिछडिएको भनिएको तिब्बत स्वशासित क्षेत्रलाई खुला गर्ने ध्येयले चीन, नेपाल, भारत, बंगलादेश, म्यानमार करिडोरलाई पनि जोड दिइरहेको छ । तिब्बतबाट बेइजिङ व्यापार गर्न धेरै टाढा पर्ने तर तिब्बत सिधै नेपाल छिरेर करिडोरअन्तर्गतका मुलुकहरूसम्म पुग्नु धेरै फाइदाजनक हुने चीनको बुझाइ रहेको कान्तिपुर अनलाइनले जनाएको छ।

यही डिसेम्बर २७ मा चीनले भौगर्भिक अवस्थितिसम्बन्धी प्रतिवेदन नेपालसमक्ष पेस गरेको थियो । नेपालमा वातावरण विभागले रेलवेबाट वातावरण बिग्रने मात्रै तथ्य उजागर गरेकामा त्योबाहेक अनेक फाइदा हुने चीनको चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपले बुझाएको प्रतिवेदनमा उल्लेख छ । नेपालमा कसरी रेलवे विस्तार गर्न सकिन्छ भनेर उसले ४० वटा 'जियोलजिकल' नक्सा दिएको छ । उनीहरूको प्रतिवेदनमा सन् २०२६ सम्ममा रेल जाने सम्भावना देखाइएको छ । नेपालमा कुनै पनि ठूला परियोजना समयमा नसकिने र राजनीतिक उथलपुथल भइरहने हुनाले यो योजना बीचैमा अलपत्र पर्ने हो कि भन्ने चिन्ता चिनियाँ पक्षमा देखिन्छ । नेपालमा रेल जाने भएपछि तालिमप्राप्त जनशक्ति चाहिन्छ भनेर नै चीनले जनशक्ति उत्पादनमा सहयोग गर्न लागेको ट्रान्स हिमालयनका संस्थापक अध्यक्ष झाले बताउनुभयो।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगर सिआनमा यो वर्षदेखि २० जना नेपाली विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन थालेका छन् । ट्रान्स हिमालयन फ्रेन्डसिप सोसाइटी, नेपालसँगको सम्झौताअनुसार ती विद्यार्थीले गएको सेप्टेम्बरमा सिआन युनिभर्सिटीमा पढ्न थालेका हुन् । सिआन सरकारले बीआरआईअन्तर्गत यो छात्रवृत्ति उपलब्ध गराएको हो । यस विश्वविद्यालयमा नेपाली विद्यार्थीले बीबीए, रोबर्ट इन्जिनियरिङ, चिनियाँ लिटरेचर, पर्यटनलगायतका विषयमा अध्ययन गर्न सक्छन् । थाहा भएअनुसार सिआनले नेपालमा र नेपालले सिआनमा बुद्धमूर्ति स्थापना गर्ने भएका छन्। सिआनमा २ सय वर्गमिटर क्षेत्रफलमा 'स्मल बुद्ध' राखिनेछ ।

जानकारी तथा लेखहरु