फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दोस्रो चरणको चक्रपथ विस्तारका लागि नेपालको तयारी पर्खंदै चीन

(GMT+08:00) 2020-01-27 14:17:36

     चक्रपथ विस्तारअन्तर्गतको दोस्रो चरणको कार्यका लागि चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा पूर्वतयारी समयमै नगरिँदा काठमाडौँ उपत्यकाको चक्रपथ विस्तार अन्तर्गतको दोस्रो चरणको काममा ढिलाइ भएको छ। विस्तारका लागि रूख कटान, बिजुलीका पोल स्थानान्तरण तथा सडक क्षेत्रमा परेका संचरना हटाउने कार्य हुन नसक्दा काममा ढिलाइ भएको गोरखापत्र अनलाइनले लेखेको छ।

     त्यसैगरी, महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा अधिग्रहण हुन नसक्दा दोस्रो चरणको चक्रपथ विस्तार सुरु हुन नसकेको हो। सम्बद्ध अधिकारीका अनुसार महाराजगञ्ज क्षेत्रमा घर भत्काउनु र जग्गा अधिग्रहण गर्न नसकिँदा दोस्रो चरणको चक्रपथ विस्तार कार्यमा समस्या देखिएको छ। चक्रपथको कलङ्कीदेखि धोबीखोला (चावहिल) पुलसम्म दोस्रो चरणमा विस्तार गर्न लागिएको हो।

     चक्रपथको यो खण्डको कुल लम्बाइ ११.६ किलोमिटर छ। कलङ्कीदेखि महाराजगञ्जसम्मको लम्बाइ ८.२ किलोमिटर र कलङ्कीदेखि कोटेश्वरसम्मको कुल लम्बाइ १७ किलोमिटर छ।

     चक्रपथ विस्तारअन्तर्गतको सो खण्ड विस्तार गर्न चीन सरकारसँग सम्झौता र सबै कानुनी प्रक्रिया पूरा भइसके पनि जग्गा अधिग्रहण तथा सो क्षेत्रमा जडान गरिएका युटिलिटिज (प्रयोग) का सामग्रीहरूको स्थानान्तरण हुन नसक्दा विस्तार कार्य अघि बढ्न नसकेको हो।

     पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रका जग्गा अधिग्रहण गर्ने निर्णय गरे पनि अधिग्रहण प्रक्रिया सुरु हुनसकेको छैन। चक्रपथ विस्तार गर्न यो खण्डमा सडक सीमाको दायाँ बायाँ ३१/३१ मिटर जग्गा अधिग्रहण गरिनुपर्ने र सोको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो। सडक विभाग, विकास सहायता महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले चक्रपथको कलङ्कीदेखि धोबीखोला पुलसम्म विस्तार गर्न दुई मुलुकबीच सबै कानुनी प्रक्रिया पूरा भइसकेको बताउनुभयो। उहाँले सडक विस्तारका लागि नेपालतर्फको तयारी पूरा हुन नसकेकाले चिनियाँ प्राविधिक तथा कामदार नेपाल आउन नसकेको जानकारी दिनुभयो। सन् २०१८ को जुनसम्म चक्रपथको उक्त खण्डमा पर्ने ढल, विद्युत् र टेलिफोनका पोल हटाउन सडक विभागसँग यसअघि नै लिखित आग्रह गरिसकेको छ।

     उहाँले भन्नुभयो, ''चक्रपथ विस्तारका लागि चिनियाँ टोली नेपालको तयारी कुरेर बसेको छ, रुख कटान, बिजुलीको पोल स्थानान्तरण, सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सम्पन्न हुन तथा जग्गा अधिग्रहणको काम पूरा भएको जानकारी हुने बित्तिकै चिनियाँ टोली नेपाल आई काम सुरु गर्ने छन्। '' चक्रपथको ६२ मिटर 'राइट अफ वे' क्लियर नभएसम्म चिनियाँहरूले काम सुरु नगर्ने उहाँले जानकारी दिनुभयो।

     रूख कटान, बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहण कार्य समयमा हुन नसक्दा चक्रपथको कोटेश्वर–कलङ्की खण्ड विस्तारमा चिनियाँ पक्षले अनावश्यक समय र लगानी ब्यहोर्नुपरेको चिनियाँ पक्षको भनाइ छ। दोस्रो चरणको विस्तारका लागि भने नेपालतर्फको सबै तयारी पूरा नभएसम्म काम सुरु नगर्ने अडान चिनियाँ पक्षको रहेको महाशाखाका प्रमुख थापाले बताउनुभयो। चक्रपथ विस्तारका लागि महाराजगञ्ज क्षेत्रमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गर्न प्रारम्भिक अधिकारी तोक्न सकेको छैन।

     प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गर्न प्रारम्भिक अधिकारी तोक्न सहरी विकास मन्त्रालयमा फाइल पेस गरिएको छ। मन्त्रालयबाट निर्णय भएर आइनसकेको जानकारी दिनुभयो। प्रारम्भिक अधिकारी तोक्ने अधिकार सहरी विकास मन्त्रालयको हो। उहाँले भन्नुभयो, ''अधिग्रहण गर्नुपर्ने जग्गा र भत्काउनुपर्ने घरहरूको पहिचान गरी प्रारम्भिक अधिकारीले दिएको प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मुआब्जा लिन ३५ दिने सार्वजनिक सूचना जारी गर्ने छन्। ''

     फागुनको अन्तिम सातादेखि चक्रपथ क्षेत्रमा परेका घर भत्काउने लक्ष्य प्राधिकरणको रहेको जानकारी प्राधिकरण प्रमुख तिवारीले दिनुभयो।

     काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले कलङ्कीदेखि धोबीखोलासम्म विस्तारका लागि अहिले सडकको 'राइट अफ वे क्लियर' गर्ने काम तीव्रताका साथ भइरहेको जानकारी दिँदै अहिले रूख कटान, बिजुलीको पोल स्थानान्तरण तथा जग्गा अधिग्रहणका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। उहाँका अनुसार रूख कटानको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने कलङ्कीदेखि नयाँ बसपार्कसम्म बिजुलीको पोल स्थानान्तरणको काम सम्पन्न भइसकेको छ। बिजुलीको पोल स्थानान्तरणका लागि नेपाल विद्युत् प्राधिकरणलाई १० करोड रुपियाँ भुक्तानी भइसकेको छ।

     उहाँका अनुसार कुल दुई हजार एक सय रूख काट्नुपर्नेमा अहिले करिब एक हजार आठ सय रूखको कटान भइसकेका छन्। त्यसैगरी, महाराजगञ्ज चोकका घरहरू हटाउनु र नयाँ बसपार्क नजिक रहेका आकाशेपुल भत्काउनुबाहेक चक्रपथ क्षेत्रमा परेका संरचनाहरू हटाउने कामसमेत भइसकेको छ। विस्तारको मुख्य समस्याका रूपमा रहेको महाराजगञ्ज चोकको वरिपरि २१७ मिटर क्षेत्रमा परेका जग्गा अधिग्रहण र घर भत्काउनु नै रहेको बताउँदै उहाँले त्यसका लागि मन्त्रिपरिषद्बाट निर्णय भई काठमाडौँ उपत्यका विकास प्राधिकरणमार्फत काम अगाडि बढिसकेको जानकारी दिनुभयो। चक्रपथको 'राइट अफ वे' ६२ मिटर हुनुपर्नेमा महाराजगञ्ज चोक क्षेत्रमा ३० मिटर मात्र छ। जुनसुकै डिजाइनमा विस्तार गरिए पनि महाराजगञ्ज चोक क्षेत्रमा पर्ने घर भत्काउनुको कुनै विकल्प नरहेको उहाँले स्पष्ट पार्नुभयो।

     चिनियाँ पक्षले कलङ्कीदेखि धोबीखोलासम्म 'डीपीआर' तयार गरिसकेको काठमाडौँ चक्रपथ सुधार आयोजना प्रमुख रिमालले जानकारी दिनुभयो। काम सुरु भएको तीन वर्षभित्रमा विस्तार कार्य सम्पन्न गरिने जनाइएको छ। कोेटेश्वर–कलङ्की भन्दा कलङ्की–धोबीखोल खण्डको डिजाइन फरक हुने जानकारी आयोजना प्रमुख रिमालले दिनुभयो। यस खण्डमा दुई सडकको बीचमा खाली ठाउँ राखिने छ जसलाई 'मेडियन' भनिन्छ। रातिको समयमा चालकको आँखामा विपरीत दिशाबाट आइरहेको सवारी साधनको बत्तीको प्रकाश पर्ने गरेको हुनाले यस खण्डमा 'मेडिन' राखिने भएको छ। कोेटेश्वर–कलङ्की खण्डमा 'मेडियन' राखिएको छैन।

     प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा गर्नुभएको चीन भ्रमणका क्रममा पूरै चक्रपथ विस्तार गर्ने सहमति भएको थियो। २०२७ सालमा चीन सरकारकै अनुदान सहयोगमा चार लेनको चक्रपथ निर्माण भएको थियो।

जानकारी तथा लेखहरु