फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा रहेका नेपालीहरु सुरक्षित

(GMT+08:00) 2020-01-27 14:19:12

     चीनको उहानबाट नेपाल फर्किएका एकजना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पाइएपछि चीनमा रहेका आफन्तको नेपालीले चिन्ता गर्न थालेका छन्। कोरोना भाइरस फैलिएको उहान र आसपासमा रहेका नेपालीले आफूहरु सुरक्षित रहेको बताएका नागरिक अनलाइनले लेखेको छ।

     उहानमा मात्र सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत छन्। उहानको प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा स्नातकोत्तर गर्दै गरेका इटहरीका सन्दीप उप्रेती दुई वर्षअगाडि चीन आउनु भएको हो। पहिले क्यान्टिनमा खाने गरेको तर यति बेला वसन्त चाडले गर्दा रेस्टुरेन्ट र क्यान्टिन बन्द भएकाले आफूहरुले पकाएर खाँदै गरेको उप्रेतीले बताउनुभयो। बिदा भएकाले केही विद्यार्थी नेपाल फर्किएको र उहानमा रहेका सबै सकुशल रहेको उहाँले बताउनुभयो। उप्रेतीले भन्नुभयो, 'अहिले उहान सुनसान छ। कुनै पनि सार्वजनिक सवारीसाधन चलेका छैनन्। विमानस्थलदेखि रेलवे स्टेसनसम्म बन्द छ।'

     भक्तपुरका दिनेश सुकमनीले उहान प्राविधिक विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरिरहनु भएको छ। उहाँले सोही विश्वविद्यालयबाट स्नातकोत्तर गर्नु भएको हो। उहाँकी श्रीमती पनि अहिले सोही विश्वविद्यालयमा व्यवस्थापनमा विद्यावारिधि गरिरहनु भएको छ। वसन्त चाडको बिदा भए पनि विश्वविद्यालयले समयसमयमा इमेल गरेर सचेत गराउने गरेको र बाहिर ननिस्कन भनेको दिनेशले बताउनुभयो। सुपरमार्केट र सामान्य पसल पनि बन्द रहेकाले तरकारीलगायतका अत्यावश्यक उपभोग्य वस्तु महँगो भएको उहाँले सुनाउनुभयो। उहाँले भन्नुभयो, 'भ्रामक समाचारले दुःख दिँदोरहेछ। झ्यालबाहिर लुगा सुकाएको थिएँ। एउटा विदेशी साथीले अब त्यो लुगाबाट संक्रमण हुन्छ भनेर डर देखायो र फेरि मैले लुगा धोएँ।'

     कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्। झ्याल पनि खोल्न नहुने, हेराहेर गर्दा आँखाबाटै भाइरस सर्ने, धोएर सुकाएको लुगाबाट पनि सर्ने, हवाईजहाजले आकाशबाट औषधि छर्ने, रक्सी खाँदा ठीक हुनेजस्ता भ्रामक समाचारले अन्योल बढाएपछि चीन सरकारले त्यसप्रकारका गतिविधि गर्नेलाई कारबाही गर्ने बताएको छ। विभिन्न विदेशी सञ्चारमाध्यमले पनि अवस्थालाई बढाइचढाई गरेर उछालेको भन्दै चीनले सचेत गराएको छ।

     उहानबाट नजिकै रहेको आन्हुई प्रान्तको हफेईमा चिनियाँसँग बिहे गरेर विगत १२ वर्षदेखि बसिरहनु भएकी शकुन्तला राईले आफूहरु सुरक्षित रहेको बताउनुभयो। बाहिर हिँडडुल गर्नचाहिँ डर लागेकाले वसन्त चाड मनाउन आउन लागेकी बहिनीलाई आफूले नआउन भनेको उहाँले सुनाउनुभयो। उहाँकी बहिनी दुई महिनाअगाडि मात्र चिनियाँसँग बिहे गरेर आउनु भएको छ। शकुन्तलाकी बहिनी उहाँ बसेको भन्दा लगभग २ सय मिलोमिटर टाढा हुनुहुन्छ। कोरोना भाइरसकै कारण यसपटक अलिक टाढा रहेका चिनियाँहरु आफन्त भेट्न नगएका र आफन्तलाई पनि नबोलाएको राईले सुनाउनुभयो।

     आन्हुई प्रान्तको हफेईस्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पिएचडी सकेर हाल पोस्टडक गरिरहनु भएका कैलालीका लोचन बटालाले यति बेला चीनमा रहनु नै सुरक्षित रहेको बताउनुभयो। हतारहतार नेपाल जाँदा समस्या हुने भन्दै उहाँले थप्नुभयो, 'संक्रमण भइहाले पनि चीनमा हुँदा नै राम्रो हुन्छ। यहाँ अत्याधुनिक प्रविधि र उपचार विधि छ। नेपालमा त रक्त परीक्षण गर्ने सुविधा पनि छैन। रगत परीक्षण गर्न हङकङ पठाउनुपर्छ।' उहाँ श्रीमती र तीन वर्षको छोरासहित हफेईमा बसिरहनु भएको छ।

     यति बेला चीनभर सबैभन्दा धेरै बिक्री हुने सामग्री माक्स हो। बजारमा सबैतिर मास्कको अभाव छ। हफेईमा पनि माक्स अभाव रहेको बटालाले बताउनुभयो। हफेईमा ठूला बजारहरु पनि निश्चित समय मात्र खुल्ने गरेका छन्।

     चीनमा रहेका नेपालीलाई कोरोना भाइरसको संक्रमणबाट बच्न बेइजिङस्थित नेपाली दूतावास र चीनका विभिन्न क्षेत्रमा रहेका महावाणिज्य दूतावासहरुले सार्वजनिक सूचना र सचेतपत्र जारी गरिसकेका छन्। त्यस क्षेत्रका विद्यार्थीसँग नियमित सम्पर्कमा रहेको र चीनको परराष्ट्र तथा सार्वजनिक सुरक्षा मन्त्रालयसँग पनि नियमित समन्वयमा रहेर जानकारी लिइरहेको चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले बताउनुभयो।

जानकारी तथा लेखहरु