फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मेलम्ची आयोजना सकियो २२ किमि आरसीसी ढलान

(GMT+08:00) 2020-01-28 14:43:54

नेपालको खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङमध्ये २२ किलोमिटरमा आरसीसी ढलानलगायतको संरचना निर्माण कार्य सकिएको जनाएको छ। इटालियन ठेकेदार कम्पनी सीएमसीले एकतर्फी रूपमा टाट पल्टेको घोषणा गरेपछि ठप्प मेलम्चीको काम गत मंसिरबाट सुरु भएको हो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले सुरुङको ठेक्का पाएको हो। 'सुरुङको भित्री संरचनाका काम बाँकी थियो, अब अन्तिम चरणमा छ,' आयोजना प्रमुख त्रिरेशप्रसाद खत्रीले बताउनु भएको कान्तिपुर अनलाइनले लेखेको छ।

सुरुङलाई बढी बलियो बनाउन ढलान र पर्खालको संरचना बनाउने काम तीव्र गतिमा भइरहेको उहाँको दाबी छ। '८० प्रतिशत काम सकिएको छ, अब २० प्रतिशत (४ किमि) मात्र बाँकी छ,' उहाँले भन्नुभयो, 'सुरुङको संरचना त तीन महिनाभित्र निर्माण सम्पन्न हुन्छ।'

हेडवर्क्सलगायतको काम पनि करिब २० प्रतिशत भइसकेको उहाँले बताउनुभयो। 'सीएमसीले ठेक्का तोडेपछि हेडवर्क्स र सुरुङको काम बाँकी थियो,' खत्रीले भन्नुभयो, 'अहिले काम तीव्र गतिमा अघि बढेको छ, ठेकेदार कम्पनीले लक्ष्यअनुसार काम गरिरहेको छ।'

तीनवटा भेन्टिलेटर सफ्टमध्ये सुन्दरीजल (४५ मिटर) र ग्यालथुम (१०७ मिटर) निर्माण भइरहेको उहाँले बताउनुभयो। तर, सिन्धु (७७ मिटर) भेन्टिलेटर सफ्टको काम बाँकी रहेको जानकारी दिँदै उहाँले विद्युत् प्राधिकरणसँग निर्माणका लागि अनुरोध गरिएको बताउनुभयो। 'भारतीय ठेकेदार कम्पनीले ठेक्का लिएको थियो, सीएमसीले ठेक्का तोडेपछि त्यो पनि आएन, अब विद्युत् प्राधिकरणसँग समन्वय गरेर काम अघि बढाउने कुरा भइरहेको छ, केही दिनमै त्यो पनि निष्कर्षमा पुग्छ।' उहाँले १५ महिनाभित्र मेलम्चीका सबै काम सम्पन्न गर्ने गरी काम अघि बढेको र ठेकेदार तथा आयोजनाका कर्मचारी चौबिसै घण्टा निर्माणस्थलमा खटिएको बताउनुभयो।

सुरुङ अबको १० महिनाभित्र र हेडवर्क्सको काम १३ महिनाभित्र सम्पन्न हुने दाबी उहाँको छ। १५ महिनाभित्र हेडवर्क्सको काम सम्पन्न गर्ने समयसीमा तोकिए पनि मेलम्ची खोलामा निर्माण गरिने अस्थायी हेडवर्क्सबाटै सुन्दरीजलसम्म पानी ल्याउने योजना आयोजनाको छ। २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान बाँकी थियो। सिनोले समयसीमा अगावै काम सके बोनससमेत दिइने खत्रीले बताउनुभयो। '१० प्रतिशतसम्म बोनस दिन्छौं,' खत्रीले भन्नुभयो । आयोजनाका अनुसार सम्झौता भएको मितिदेखि सुरुङ निर्माण सम्पन्न अवघि १२ महिना र हेडवर्क्सको अवधि १५ महिना तोकिएको छ।

 

जानकारी तथा लेखहरु