फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीद्वारा'नेपाली पोर्ट'को शुभारम्भ

(GMT+08:00) 2020-01-28 14:45:59

नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको 'नेपाली पोर्ट' सूचना प्रणाली शुभारम्भ गरिएको छ। यसबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने गोरखापत्र अनलाइनले लेखेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स 'नेपाली पोर्ट' सूचना तथा सुरक्षा प्रणाली (सफ्टवेयर) सोमबार शुभारम्भ गर्नुभएको हो। यो सफलताले आधुनिक नेपाल निर्माण कार्यसँगै मुलुकलाई प्रविधिको नयाँ युगमा परिवर्तन गरेको भन्दै प्रधानमन्त्री ओलीले देशीय सीप, स्रोत, लगानी र दक्षताबाट निर्माण गरिएको अत्याधुनिक अध्यागमन सुरक्षा प्रणाली सञ्चालनबाट आफू खुसी भएको स्पष्ट पार्नुभयो।

उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालको मुख्य प्रवेशद्वार भएकाले यस स्थानबाट आगमन र प्रस्थान गर्ने स्वदेशी तथा विदेशी नागरिकको सहजता, सुरक्षा र छिटोछरितो सुविधाका लागि अध्यागमन सूचना प्रणाली बहुपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

"मैले भनेको थिएँ, एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल आधुनिकतामा टल्किने र मौलिकतामा झल्किने गरी 'बुटिक' बन(ाउनुहोस्", उहाँले थप्नुभयो, "अत्याधुनिक अध्यागमन सूचना प्रणालीले विमानस्थलको आधुनिकता त टल्कियो, अब मौलिकता पनि झल्किनु पर्छ।"

राष्ट्रसेवक कर्मचारी र देशभक्त जनताको साथ सहयोग भयो भने विकास र परिवर्तन असम्भव नहुने भन्नुहुँदै प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो, "दुईवर्षे अवधि र पाँच करोड खर्च लाग्छ भनेको अध्यागमन सूचना (सफ्टवेयर) प्रणाली एक वर्षभित्रै ८० लाख रुपियाँ खर्चमा निर्माण भएको खबर सुन्दा खुसी लाग्यो।"

अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च राख्न यस्तै परिवर्तकारी कदम आवश्यक रहेको चर्चा गर्दै उहाँले दुई ठूला छिमेकी मुलुक भारत र चीनसँग आर्थिक कूटनीतिक सम्बन्ध विस्तारसँगै 'समृद्ध नेपाल सुखी नेपाली' निर्माणको सङ्कल्प पूरा गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाली पोर्टबाट अध्यागमन सेवालाई छिटोछरितो, मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन महŒवपूर्ण सफलता मिल्ने छ, यसका लागि गृह मन्त्रालय धन्यवादको पात्र बनेको छ भन्दै प्रधानमन्त्री ओलीले सातवटै प्रदेश सरकारलाई यस्तै रचनात्मक तथा विकास निर्माणसम्बन्धी सुधारका कार्ययोजना ल्याउन आग्रह गर्नुभयो।

नेपालका लागि पर्यटन विकास आर्थिक आयआर्जन र रोजगारको अवसर भएकाले भ्रमण वर्ष–२०२० राष्ट्रिय अभियानकै रूपमा सञ्चालन गरिएको स्मरण गराउँदै उहाँले अपेक्षा गरेअनुरूप पर्यटक भिœयाउन र पर्यटन प्रवद्र्धन गर्न सबै लाग्नुपर्ने बताउनुभयो।

गृहमन्त्री रामबहादुर थापाले अत्याधुनिक सूचना प्रविधिको विकाससँगै मुलुकको शान्तिसुरक्षा सुदृढ र प्रभावकारी तुल्याउन तथा अध्यागमन र सीमा सुरक्षा बलियो तुल्याउन नेपाली पोर्ट प्रविधि स्थापना गरिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा अध्यागमन विभागका प्रमुख ईश्वरीराज पौडेलले एक वर्षको निरन्तर प्रयासपछि स्वदेशी जनशक्ति र स्रोतसाधन प्रयोग गरी अन्तर्राष्ट्रियस्तरको बायोमेट्रिक्स अध्यागमन सूचना प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो।

उहाँका अनुसार यो प्रविधि एयर, ल्यान्ड र रिभर तीनवटै नाकामा जडान गर्न सकिने छ। बायोमेट्रिक्स अध्यागमन सूचना प्रणालीमा आँखाको रेटिना, फिङ्गर प्रिन्ट र फोटो रेकर्ड राख्ने व्यवस्था गरिएको छ। त्यस्तै नक्कली कागजपत्र छुट्याउने फर्जी डिटेक्टिभ ल्याबको समेत व्यवस्था गरिएको छ।

त्यस्तै विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयबाट नेपाल बाहिरिने र प्रवेश गर्ने नागरिकको पहिचान खुल्ने विवरण सोमबारबाट सूचना प्रणालीमा रेकर्ड बस्न थालेको छ। यसबाट हुलिया तथा कागजपत्र परिवर्तन गरी आवतजावत गर्ने वा इन्टरपोल प्रहरीले रेडकर्नर नोटिस जारी गरेका व्यक्तिलाई पक्राउ गर्न सजिलो हुने छ।

नेपाल भ्रमणमा आउने प्रत्येक विदेशी नागरिकका गतिविधिलाई मोबाइल एप्लिकेसनबाट नै अनुगमन गर्न सकिने छ। अराइभल भिसा लिनेका लागि अनलाइन भिसा सेवा विस्तार गरिएको छ। अध्यागमन पास गराउन घण्टाँै लाइन बस्ने झन्झट हटेको छ भने अध्यागमन पास नगरी जानेका लागि स्वचालित 'लक' सुरक्षा प्रणाली जडान गरिएको छ।

नेपाल प्रहरी तथा इन्टरपोल प्रहरीले शङ्काको घेरामा राखेका वा पक्राउका लागि नोटिस जारी भएका तथा विगतमा अपराधका घटनामा संलग्न भई फरार हुन लागेका व्यक्तिको पहिचान गर्न अध्यागमन सूचना प्रणाली सहयोगी हुने छ। यसका लागि भिसा आवेदन प्रणालीमा परिवर्तन गरिएको छ। नेपालमै बसेर शङ्कास्पद गतिविधि सञ्चालन गर्ने विदेशीलाई नियन्त्रण लिन सहयोग पुग्ने छ।

 

जानकारी तथा लेखहरु