फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना भाइरस सङ्क्रमण रोक्न नेपालमा तीव्र गृहकार्य

(GMT+08:00) 2020-01-29 15:36:14

चीनको उहानबाट सुरु भएको नोबेल कोरोना भाइरसको सङ्क्रमणका बिरामी नेपालमा पनि भेटिएको पुष्टि भएपछि नियन्त्रणका लागि नेपाल सरकारले गृहकार्य तीव्र पारेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियन्त्रणका लागि गृहकार्य अगाडि बढाएको गोरखापत्र अनलाइनले लेखेको छ। मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, ''अन्यत्र भाइरस नफैलियोस् भन्ने उद्देश्यले काम तीव्र पारिएको छ।''

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। बाहिरबाट आउने यात्रुलाई ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखियो भने सीधै विमानस्थलबाट अस्पताल पुर्‍याइने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। उहाँले विमानस्थलको थर्मल स्क्यानरमा ज्वरोका बिरामी देखिए एम्बुलेन्समार्फत अस्पताल पुर्‍याउने व्यवस्था गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "विमानस्थलमा थप स्वास्थ्यकर्मीको व्यवस्था गरेर स्वास्थ्य परीक्षण समेत सुरु गरिएको छ।"

उहाँले नेपालमा एकजनाबाहेक अन्यलाई कोरोना भाइरस नदेखिएको जानकारी दिनुभयो। चारजनाको परीक्षण गरिएकोमा तीनजनाको 'रिपोर्ट नेगेटिभ' आएको छ। प्रवक्ता श्रेष्ठले भन्नुभयो, "अन्यत्र नफैलियोस् भनेर गम्भीरताका साथ काम गरिरहेका छौँ।" चीनमा कोरोना भाइरसका कारण १०६ जनाको मृत्यु भइसकेको छ। उहाँले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना भाइरसको नमुना परीक्षण गर्नसमेत थालिएको जानकारी दिनुभयो। यसअघि नेपालमा आवश्यक केमिकल नहुँदा कोरोना भाइरसको आशङ्कामा परीक्षण गर्न हङ्कङ पठाइएको थियो। हङ्कङ पठाइएको व्यक्तिको नमुना कोरोना भाइरस पुष्टि भएको थियो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोना भाइरस पशुहरूबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा सर्ने गर्दछ। मन्त्रालयका प्रवक्ता श्रेष्ठले चीनमा नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस भएको भन्दै मानव जातिमा भने पहिलो पटक चीनको उहान प्रान्तमा देखिएको बताउनुभयो। उहाँले कोरोना भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारका तीव्र स्वासप्रश्वास सङ्क्रमणसम्म गराउन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताउनुभयो। चीनमा पहिलो पटक देखिएको भाइरस हाल १९ वटा देशमा देखापरिसकेको छ।

प्रवक्ता श्रेष्ठले नेपालमा कोरोना भाइरस सर्न नदिन उच्च सतर्कता अपनाइएको उल्लेख गर्दै भाइरसले नेपाललाई पार्न सक्ने असरलाई ध्यान दिई विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको जानकारी दिनुभयो। उहाँले काठमाडौँ, लुम्बिनी, पोखरा, चितवन लगायत पर्यटकीय क्षेत्रमा हेल्थडेस्क समेत स्थापना गरिसकेको बताउनुभयो। उहाँले ती ठाउँमा आइसोलेसन वार्डको समेत व्यवस्था मिलाइसकेको जानकारी दिनुभयो। उहाँले चीनमा अध्ययनरत विद्यार्थीसँग चीनस्थित नेपाली दूतावासमार्फत विच्याट खडा गरी नियमित सम्पर्कमा रहेको उल्लेख गर्नुभयो।

यसैबीच शुक्रराज सरुवा रोग अस्पतालमा कोरोना भाइरसको आशङ्कामा उपचार गरिरहेका दुई बिरामीलाई डिस्चार्ज गरिएको छ। उनीहरूमा कोरोना भाइरस नभएको भन्दै अस्पतालले डिस्चार्ज गरेको हो। अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले दुई जनामा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बताउनुभयो। अर्का एक बिरामीको रिपोर्ट पनि नेगेटिभ आएको उहाँको भनाइ छ। चीनबाट आएका व्यक्तिको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको थियो। चीनबाट फर्किएका एक विद्यार्थीमा यसअघि नै कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको थियो।

जानकारी तथा लेखहरु