फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोना संक्रमण रोक्न पोखराबाट चीनतर्फ मास्क ल्याइँदै

(GMT+08:00) 2020-02-09 16:09:59

छिमेकी मुलुक चीनमा कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिएपछि नेपालमा रहेका चिनियाँले आफन्त र साथीभाइलाई मास्क कोसेली पठाउन थालेका छन्। अहिले धमाधम कोसेलीका रूपमा पठाइँदै गरेका ती मास्क कुनैबेला चीनबाटै आयात गरिएका हुन्। अहिले व्यापारिक रूपमै चीनका विभिन्न सहरमा मास्क निर्यात हुन थालेपछि पोखरामा मास्क अभाव हुन थालेको छ।

पर्यटकीय क्षेत्र लेकसाइडमा रहेका चिनियाँ व्यवसायीले चीनका विभिन्न सहरमा मास्क निर्यात गरिरहेका छन्। हेल्लो वर्ल्ड जर्नीमा कार्यरत कर्मचारी पवन अधिकारीले अहिलेसम्म दुई ट्रक मास्क चीनमा पठाइसकेको जानकारी दिनुभयो। सोमबार तेस्रो चरणको निर्यातका लागि ट्रकमा मास्क लोड गरिरहेका उहाँले अहिलेसम्म २५ लाखजति मास्क हेल्लो वल्र्डमार्फत चीन पठाइएको जानकारी दिनुभयो।

पोखरामा सञ्चालित विभिन्न मेडिकलबाट ती मास्क संकलन गरेर चीन निर्यात गरिरहेको हो। 'पोखरामा बसिरहेका कतिपय चिनियाँले चीनमा रहेका आफन्त र साथीभाइलाई मास्क कोसेलीका रूपमा पठाइरहेका छन् भने केहीले यहाँ खरिद गरेर चीनमा बिक्री गरिरहेका छन्,' उहाँले भन्नुभयो, 'चीनबाट अर्डर आएबमोजिम यहाँ मास्क संकलन गरिएको छ।'

कर्मचारी पवन अधिकारीका अनुसार पोखराबाट ट्रकमा हिँडाइएका पाँचदेखि नौ दिनभित्र चीनका कुनै सहरमा पु-याउनेगरी काम चिनियाँ व्यवसायीले गरिरहेका नागरिकन्यूज डटकमले खबर लेखेको छ।

काठमाडौंमा रहेका चिनियाँले पनि मेडिकलमा मास्क खरिद गरेर चीन पठाइरहेको अधिकारीले जानकारी दिए। मेडिकलमा संकलन गरेर प्याकेट बनाएर ढुवानीका लागि संकलन केन्द्रमा ल्याउने काम जोकोही व्यवसायीले पनि गरिरहेको उहाँले बताउनुभयो। पोखरामा व्यापार गर्दै आइरहेका कास्मिरीलगायत व्यवसायीले समेत यहाँका मेडिकलमा मास्क किनेर चीनतर्फ निर्यात गरिहेका छन्।

चीनबाट आयातित मास्क अहिले फेरि चीनतिरै निर्यात हुँदा पोखरामा त्यसको अभाव हुन थालेको यहाँका औषधि व्यावासायीले बताएका छन्। औषधि व्यवसायी संघ गण्डकीका महासचिव कृष्ण पाण्डेका अनुसार अहिले पोखरामा समेत मास्क अभाव हुन थालेको छ।

नेपालमा दिनमा तीन हजार गोटा मात्र मास्क उत्पादन हुने भएकाले यसअघि बढी मास्क चीनबाट आउने गरेको थियो।

लेकसाइडमा सञ्चालित केही मेडिकल सञ्चालकले समेत मास्क खरिद गरेर चिनियाँ व्यवसायीमार्फत चीनमा निर्यात गरिरहेको औषधि व्यवसायीले बताएका छन्। लेकसाइडमा दर्जनभन्दा बढी होटल चिनियाँ व्यवसायीले सञ्चालन गरेका छन्। होटलबाहेक रेस्टुरेन्ट पनि चिनियाँले नै सञ्चालन गरेका छन्। ती चिनियाँहरूले अहिले स्वदेशमा रहेका आफन्तलाई पोखराबाट कोसेलीका रूपमा मास्क पठाइरहेको व्यवसायीले बताएका छन्।

जानकारी तथा लेखहरु