फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा निजी क्षेत्रले सुरु गर्‍यो घरघरमै डेलिभरी

(GMT+08:00) 2020-03-29 20:46:41

चैत १२ मा बसेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले ठूला खाद्य स्टोर तथा पसलले आवश्यक खाद्यवस्तु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गर्‍यो। बैठकमा गृह मन्त्रालयले सीमित संख्याका सवारीसाधनलाई अनुमति दिने निर्णय पनि गर्‍यो। चैत १३ मा गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी व्यवसायी तथा सुपरमार्केट र महानगरपालिकाका पदाधिकारीसँग छलफल भयो। छलफलमा पनि गृहले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्‍याउन निर्देशन दिएको कान्तिपुर अनलाइनले लेखेको छ।

तर अहिलेसम्म सरकारको उक्त निर्देशन त्यति कार्यान्वयनमा आउन सकेको छैन। भाटभटेनी सुपर मार्केट र सेल्सबेरीबाहेक अन्यले होम डेलिभरी गरेका छैनन्। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पनि सेवा सञ्चालन गर्न सकेका छैनन्। लकडाउनका क्रममा खाद्यवस्तुको अभाव हुन नदिने भन्दै आपूर्ति मन्त्रालयले टोल फ्री नम्बर र सामाजिक सञ्जालबाट गुनासो सुनुवाइ गर्ने भन्यो। सोहीअनुसार वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा टोल फ्री नम्बर पनि सञ्चालन गरिएको छ। त्यसमा सर्वसाधारणले खाद्यान्नको माग गरिरहेका छन्। 'सर्वसाधारणले ५ किलो दाल, १० किलो चामल, २ किलो नुन चाहियो भन्छन्,' विभागका एक अधिकारीले भने, 'तर होम डेलिभरीको व्यवस्था छैन। बाध्य भएर सुपथ पसल काउन्टरको नम्बर दिनुपरेको छ।' 



सरकारी स्वामित्वका संस्थानले घुम्ती सेवा सञ्चालन गरे पनि घरघरमै खाद्यान्न पुर्‍याउन नसकेको ती अधिकारीले बताए। साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले पनि होम डेलिभरी गर्न नसकिएको बताए। 'होम डेलिभरीको कुरा चलेको छ,' उनले भने, 'तर, कार्यान्वयनमा आइसकेको छैन।' सबै अनलाइनमार्फत गर्नुपर्ने हुँदा कार्यविधि बनाएर मात्रै सञ्चालन गरिने उनको भनाइ छ। तर त्यसो गर्न तत्काल सम्भव नरहेको उनी बताउँछन्।

'घरघरमा पुर्‍याउन सम्भव पनि छैन। कुन विधिबाट बिक्री गर्ने विषयमा भने छलफल भइरहेको छ,' उनले भने। होम डेलिभरी नभए पनि ३ वटा भ्यान र सुपथ पसल भने सञ्चालन गरिरहेको उनले जानकारी दिए। भ्यानबाट विभिन्न क्षेत्रमा चिनी, नुन बिक्री गरिएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहमहाप्रबन्धक श्रीमणिराज खनालको भनाइ पनि उस्तै छ। होम डेलिभरीका लागि प्राविधिकसँग छलफल भइरहेको उहाँले बताउनुभयो। 'अनलाइनबाट पेमेन्ट गर्ने भएपछि बैंक प्रणालीसँग पनि सहकार्य गर्नुपर्छ। यो हाम्रा लागि नयाँ प्राक्टिस हो,' उहाँले भन्नुभयो, 'सम्भवतः अर्को साताबाट होम डेलिभरी सुरु गर्छौं।' खाद्यले दुई भ्यानबाट घुम्ती सेवा सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। 'घुम्ती सेवाबाट चामल, दाल र इन्डक्सन चुलो बिक्री भएको छ,' उहाँले भन्नुभयो। घुम्ती सेवा सञ्चालन गरे पनि चामल उल्लेख्य रूपमा बिक्री नभएको उहाँको भनाइ छ।

३० भ्यानबाट होम डलिभरी सुरु गरिएको भाटभटेनीका सीओओ पानु पौडैलले बताउनुभयो। 'शुक्रबार ६ सय र शनिबार ७ सयभन्दा बढी परिवारलाई डेलिभरी गरिएको उहाँले जानकारी दिनुभयो। 'भाइबर तथा ह्वाट्स एपबाट अर्डर लिएका थियौं। शनिबारदेखि इन्स्टाग्रामबाट सुरु गरेका छौं,' उहाँले भन्नुभयो, 'सरकारको आग्रहमा क्रइसिस म्यानेजमेन्ट गर्न खोजेका छौँ।'

होम डेलिभरी सुरु गरेपछि उपत्यकामा भाटभटेनी बन्द गरिएको छ। जिल्लाको हकमा भने खुला रहेको उहाँले जानकारी दिनुभयो। बिग मार्टका फाइनान्स प्रमुख विवेक देवले पनि व्यवस्थित बनाएर मात्रै होम डेलिभरी गरिने बताउनुभयो। दराज अनलाइनसँगको सहकार्यमा होम डेलिभरीको व्यवस्था गरिने उहाँको भनाइ छ। 'व्यवस्थित तरिकाबाट गर्न खोजिरहेका छौं,' उहाँले भन्नुभयो, 'सोमबारदेखि होम डेलिभरी सेवा सञ्चालन हुन्छ।'

सरकारले खाद्य वस्तुका पसल सञ्चालन गर्न दिने बताए पनि अधिकांश बन्द छन। लकडाउनका कारण आंशिक रूपमा खोलिएका पसलमा भीड देखिन्छ। कोरोना संक्रमण रोक्न भीड गर्न नदिने नीतिसहित लकडाउन गरिएको छ। सर्वसाधारणको भीड देखिएपछि भने सरकारले होम डेलिभरीको सुविधा दिने जनाएको थियो। कार्यान्वयन भने फितलो देखिएको हो।

जानकारी तथा लेखहरु