फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

झापामा क्यासिनोसहितको पाँचतारे होटल

(GMT+08:00) 2020-03-29 20:47:46

नेपालको पूर्वी तराई जिल्ला झापामा वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी गरेको पूर्वको पहिलो पाँचतारे 'होटल मेची क्राउन' सञ्चालनमा नआउने भएको छ। झापाको मेची नगरपालिकामा भेगास सिटी इन्टरटेनमेन्टले सञ्चालनमा ल्याउन लागेको मेची क्राउन होटेल निर्माण कार्यसम्पन्न नहुँदा वैशाखदेखि सञ्चालनमा नआउने भएको कारोबार अनलाइनले लेखेको छ।

अहिले कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै होटल निर्माण कार्य रोकिएको छ। "हामीले वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने योजना बनाएका थियौं," सञ्चालक बलराम सापकोटाले भन्नुभयो, "चैत २७ गतेदेखि नै बुकिङ सुरु भएको थियो, भाइसको कारण सबै स्थगित भयो।" होटल निर्माण कार्य ९० प्रतिशत सकिएको छ। पूर्वको मुख्य नाका काँकडभिट्टा र पर्यटनको राम्रो सम्भावना देखेर नै होटल बनाइएको सञ्चालक बताउँछन्। पूर्वी नाका काँकरभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दूरीमा रहे पनि सुविधासम्पन्न होटलको अभाव रहेको थियो। "कञ्चनजंघा हिमाल, ठूलो पाथिभरा, इलाम, भारतको दाजिलिङ, सिक्किमलगायतका पर्यटकीय गन्तव्यमा आउने पर्यटकहरू सुविधासम्पन्न होटलको खोजिमा थिए," सापकोटाले भन्नुभयो, "यी पर्यटकीय क्षेत्रमा पुग्ने पर्यटकको रोजाइमा मेची क्राउन पर्नेछ।"

भारतीय सीमाबाट नजिक भएकाले सीमापारिबाट आउने पर्यटकलाई लक्ष्य गरी होटल खोल्न लागिएको हो। भारतको बागडोग्रा विमानस्थल र झापाको चन्द्रगढी विमानस्थलबाट नजिक रहेको हुँदा भारत, बंगलादेश र भुटानबाट आउने पर्यटक यहाँ आउने उहाँको विश्वास छ। डेढ अर्ब रुपैयाँ लगानीमा निर्माण भएको मेची क्राउन होटेलको व्यवस्थापन पहिलो नेपाली कम्पनी 'दी पिक हस्पिटालिटी'ले लिएको छ। होटलको आर्किटेक्ट इन्जिनियर शैलेन्द्र बिसी र घनश्याम उप्रेतीले गर्नुभएको हो।

आठ बिघा बढी जमिनमा निर्मित होटलको मुख्य भवन चारतले छ। ९ वटा ब्लक, पाँचवटा भिल्ला रहेको होटलमा १ सय ५ कोठा छन्। होटलमा पाँचवटा प्रेसिडेन्टल स्विट रुम, ३० वटा डिलक्स र बाँकी ७० वटा नर्मल डिलक्स रुम हुनेछन्। होटलमा हेलिप्याड, तीनवटा रेस्टुरेन्ट, पर्याप्त मात्रामा पार्किङ, स्वीमिङ पुल, जिमहल, स्पा, साउना, पार्लरसहित सुविधा रहेनछ।

होटलमा तीन हजार क्षमताको ठूलो व्याङ्क्वेट हलसहित तीनवटा सेमिनार हल छन्। होटलमा पार्टी, सभा समारोह गर्न एउटा १५ सय क्षमताको, एउटा ५ सय क्षमता र एउटा त्यसभन्दा सानो बैठक, समारोह हल तथा सभाहल निर्माण भइसकेको छ। होटल सञ्चालनमा आएपछि यसले करिब सात सय जनालाई रोजगारी दिने पनि उल्लेख छ। होटलमा नेपालीकै लगानी रहेकाले संरचना अत्याधुनिक हुने भए पनि हरेक कोठामा स्थानीय जनजातिको पहिचान झल्किने गरी निर्माण भइरहेको बताइन्छ। होटलमा व्यवसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, राजकुमार बस्नेत, जयराम अर्याल लगायतको सामूहिक लगानी छ।

होटल मेची क्राउन सञ्चालनमा आएसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ। होटलमा चर्चित भारतीय ब्रान्ड गोल्डेन क्यासिनो ग्रुपको प्रवेश भएको छ। होटल परिसरमा रहेको क्यासिनोलाई गोल्डेन ग्रुपले सञ्चालन गर्नेछ। क्यासिनो सञ्चालन गर्ने विषयमा होटल र क्यासिनो सञ्चालक समूहबीच सहमति भइसकेको छ। पूर्वमा क्यासिनो पर्यटनको सम्भावना रहेकाले क्यासिनो सञ्चालनमा ल्याइएको सापकोटा बताउनुहुन्छ। सरकारले पाँचतारे होटल वा सो सरहको सुविधामा मात्रै क्यासिनो सञ्चालन गर्न दिने गरेको छ।

झापा बिर्तामोडका व्यवसायी शिव अग्रवालले गत वर्ष बहिनीको विवाह गर्न सिलगढी पुग्नुपर्‍यो। नेपालमा सुविधासम्पन्न होटल नहुँदा विवाह गर्न कै लागि सिलगढी जानुपरेको उहाँ बताउनुहुन्छ। अग्रवाल मात्र होइन, पूर्वका अधिकांश व्यवसायी विवाह गर्न भारतको सिलगढी पुग्ने गरेका छन्। मेची क्राउन सञ्चालनमा आएसँगै विवाह गर्न कै लागि भारत पुग्नुपर्ने बाध्यता हट्ने अग्रवालले बताउनुभयो। "झापामा पाँचतारे होटल सञ्चालनमा आउनु हाम्रो लागि खुसीको कुरा हो," अग्रवालले भन्नुभयो, "आफ्नै देशमा, स्वच्छ वातावरणमा बनेको होटल सबैको रोजाइमा पर्नेछ।" कोही पाहुना आए पनि सुविधासम्पन्न होटलको अभावमा विराटनगर, सिलगढी धाउनुपर्ने अवस्था हटेको उहाँ सुनाउनुहुन्छ। काठमाडौं जानका लागि खर्च धेरै साथै दूरी टाढा भएकाले भारतीय बजार पुग्ने गरेको अग्रवालको भनाइ छ।

नेपालीको खर्च गर्ने क्षमता बढ्दै गएकाले विवाह, सभा समारोह गर्न साथै स्वदेशी तथा विदेशी संस्था तथा माइस पर्यटनका लागि उपयुक्त हुने गरी होटलले पूर्वाधार निर्माण गरिएको सापकोटाले बताउनुभयो। मेची क्राउन सञ्चालनमा आएपश्चात् भारत पुग्नुपर्ने बाध्यता मात्र हट्दैन। विवाह भोज, सेमिनारजस्ता ठूला कार्यक्रमका लागि भारतमा खर्च हुने लाखौं रुपैयाँ नेपालमा रहने सञ्चालक सापकोटा बताउनुहुन्छ। होटलले देशको अर्थतन्त्र मजबुत बनाउनसमेत सहयोग गर्ने उहाँको भनाइ छ। भारत सीमा क्षेत्रभन्दा पाँच किलोमिटर वर रहेको होटलमा भारतीयले समेत विवाह समारोह आयोजना गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा गर्न आउने सञ्चालक बताउँछन्। विदेशी होटेलको चेन नेपालमा मात्र नभएर, नेपालको ब्रान्डलाई विदेशमा पु-याउने लक्ष्य रहेको सापकोटाले जनाउनुभयो।

जानकारी तथा लेखहरु