फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अर्थतन्त्रमा कोरोना असरबारे नेपाल राष्ट्र बैंकले अध्ययन गर्ने

(GMT+08:00) 2020-04-09 15:41:43

अर्थतन्त्रमा कोभिड–१९ को असर पत्ता लगाउन नेपाल राष्ट्र बैंकले अध्ययन थालेको छ। नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले कार्यभार सम्हालेपछि पहिलो निर्णयका रूपमा एक कार्यदल गठन गरी अध्ययन सुरु गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक संयोजक रहेको कार्यदलमा सोही विभागका निर्देशक सदस्य सचिव रहनेछन्।

कार्यदलमा राष्ट्र बैंक नियमन, सुपरभिजन, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणाली विभागबाट एक/एक जना र बैंकर्स एसोसिएसनका अध्यक्ष सदस्य छन्। 'कोभिड–१९ भाइरसको संक्रमणले नेपाली अर्थतन्त्रमा पर्न सक्ने असर र आवश्यक नीतिगत उपायका सम्बन्धमा अध्ययन गर्न गठित कार्यदल' नाम दिइएको समितिले वैशाखभित्र प्रतिवेदन बुझाउन कार्यनिर्देश पाएको छ। सरोकारवालासँग छलफल गरी कोरोनाले अर्थतन्त्रमा पारेको असर र निदानका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सुझाव दिने कार्यदलका संयोजक एवं राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो। कार्यदलले खासगरी कोरोना संक्रमणले वित्तीय क्षेत्रमा परेको असर र निदानका लागि गर्नुपर्ने नीतिगत सुझाव समेटेर प्रतिवेदन तयार पारिने उहाँले बताउनुभयो। सुझावका आधारमा कोरोना प्रभावितलाई राहतका लागि आवश्यक नीतिगत व्यवस्था गरिनेछ।

कोरोना भाइसरले नेपाली अर्थतन्त्र पनि प्रभावित हुने आँकलन राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामै गरेको थियो। अहिले त्यसबारे औपचारिक अध्ययन थालेको हो। 'कोरोना भाइरसको संक्रमणका कारण पर्यटन र व्यापारिक गतिविधि प्रभावित हुने जोखिम बढेको छ,' राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। आँकलन गरिएअनुसार नै नेपाली पर्यटन क्षेत्र अहिले नराम्ररी प्रभावित भइसकेको छ। अर्थतन्त्रका विविध क्षेत्रमध्ये पर्यटन सबैभन्दा धेरै समस्याग्रस्त बनेको बताइएको छ। यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले लगानी पनि धेरै बढाएका छन्। राष्ट्र बैंकका अनुसार गत साउनदेखि माघसम्म यो क्षेत्रमा साढे १६ अर्ब रुपैयाँ थपिएको छ। यो हवाई तथा पार्टपुर्जा, होटल, सार्वजनिक यातायात, ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङलगायत पर्यटन क्षेत्रमा भएको लगानी हो। माघसम्म यो क्षेत्रमा निजी क्षेत्रको कुल १ खर्ब ५४ अर्ब रुपैयाँ लगानी भएको छ। ७ महिनामा यो क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी करिब १२ प्रतिशत बढेको छ। गत आवमा भने पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी १ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

यो क्षेत्रमा प्रवाह भएको बैंक तथा वित्तीय संस्थाको कर्जामध्ये हवाईजहाज तथा पार्टपुर्जामा ७ अर्ब, ट्रेकिङ, माउन्टेनियरिङ, रिसोर्ट, र्‍याफ्टिङलगायतमा २ खर्ब ६७ अर्ब, होटलमा १ खर्ब ३ अर्ब र सार्वजनिक यातायात १६ अर्ब ६० करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

अर्धवार्षिक समीक्षामा समग्र मागबाट सिर्जना हुने मूल्य र बाह्य क्षेत्र दबाबलाई व्यवस्थापन गर्दै उत्पादन, रोजगारी र उद्यमशीलता विकासमा वित्तीय साधनको उपलब्धतालाई प्रोत्साहन गर्ने, ब्याजदर स्थायित्व प्रवर्द्धन गर्ने र वित्तीय पहुँच अभिवृद्धि गर्नेतर्फ मौद्रिक नीति केन्द्रित रहेको बताइएको थियो। 'मौद्रिक नीतिको उद्देश्यअनुरूप बाह्य क्षेत्र सन्तुलनमा छ,' प्रतिवेदनमा भनिएको छ, 'व्यापार घाटामा कमी आएको, शोधनान्तर स्थिति बचतमा र वित्तीय साधन परिचालनमा सन्तुलन कायम भएको छ।'

वित्तीय क्षेत्र सुदृढीकरणको दिशामा अगाडि बढेको छ। वित्तीय सेवाको पहुँच अभिवृद्धि भएको छ। 'मूल्यवृद्धि नियन्त्रणमा केही दबाब देखिएको छ,' राष्ट्र बैंकले भनेको छ, 'पछिल्लो समय छिमेकी मुलुकमा देखिएको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको छ।'

जानकारी तथा लेखहरु