फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका सभामुख अग्नीप्रसाद सापकोटाद्वारा कोभिड १९ नियन्त्रणमा चिनियाँ अनुभवको प्रशंसा

(GMT+08:00) 2020-04-16 15:34:52

कोभिड १९ लाई नियन्त्रण गर्नमा राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा भएको भूमिकालाई नेपालको प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले प्रशंसा गर्नु भएको छ। चाइना मिडिया ग्रुपलाई भिडियो अन्तर्वार्ता दिँदै सभामुख सापकोटाले चीनले अवलम्बन गरेको लकडाउनलाई विश्वका अन्य राष्ट्रले पनि अनुसरण गरेको बताउनुभयो। विश्वमै मानव जातिको रक्षाका लागि चिनियाँ भूमिकाको प्रशंसा गर्दै चीनको यस्तो सफलताप्रति उहाँले चिनियाँ राष्ट्राध्यक्ष, चीन सरकार र चिनियाँ जनतालाई बधाई पनि दिनु भएको छ।

नेपालमा पनि कोभिड १९ संक्रमण भएको सन्दर्भमा चीनले सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा चीनमा उत्पादित स्वास्थ्य सामग्री र चिनियाँ अनुभवले नेपालमा कोभिड १९ नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै निकट छिमेकी मुलुकका हैसियतले नेपालले चीनसँगको सहकार्यलाई जोड दिएको उहाँले औँल्याउनुभयो।

वर्तमान अवस्थामा नेपालमा कोभिड १९ नियन्त्रणमा नेपाल सरकारले चिनियाँ अनुभव अनुसार लकडाउन गरेको र यो निकै सफल हुँदै गएको सभामुख सापकोटाले बताउनुभयो। उहाँका अनुसार नेपालका सबै राजनीतिक दल, नागरिक समाज, जनता र संचार माध्यमले लकडाउनलाई समर्थन गरेको र यसले धेरै हदसम्म संक्रमण फैलिनबाट बचाएको उहाँले प्रकाश पार्नुभयो।

कोभिड १९ विरुद्धको युद्धमा सबैले हातेमालो गर्नुपर्ने भन्दै नेपालले घनिष्ट छिमेकी मुलुक चीन र अन्य मित्रराष्ट्रहरुसँगको सहकार्यलाई अझै मजबुत बनाउने कुरा सभामुख सापकोटाले दोहोर्‍याउनुभयो। अनुभव, प्रविधि तथा श्रोत साधनका हिसाबले चीन सबल रहेकाले नेपालले चीनबाट थप सहयोगको आशा राखेको उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु