फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भण्डारण भरिएपछि भारतबाट पेट्रोलियम पाइपलाइनबाट आयात बन्द

(GMT+08:00) 2020-04-17 19:54:18
इन्धनको भण्डारण भरिएपछि आयल निगमले पेट्रोलियम पाइपलाइनबाट आयात बन्द गरेको छ। अमलेखगन्ज डिपोको मौज्दात क्षमता २० हजार ६ सय किलोलिटर हो। इन्धनको भण्डारण गृह नै भरिएपछि बिहीबार बिहान साढे ५ बजेदेखि आपूर्ति बन्द गरिएको डिपो प्रमुख भरत रेग्मीले जानकारी दिनुभयो। 'दैनिक करिब १२ लाख लिटर बिक्री हुने डिजेल अहिले न्यून छ। एक दिन बिराएर डिपो सञ्चालन गर्दा करिब ५ लाख लिटर मात्रै बिक्री हुन्छ,' उहाँ भन्नुहुन्छ।

अमलेखगन्ज डिपोबाट मौज्दातका लागि विराटनगर, भैरहवा र काठमाडौंमा पनि पठाइन्छ। तर अहिले सबै भण्डारण गृह भरिएका छन्। लकडाउनपछि अत्यावश्यक वस्तुका सवारीबाहेक अन्य चलेका छैनन्। सार्वजनिक यातायात र उद्योग नचल्दा डिजेलको खपत भएको छैन। यसअघि मार्च २७ तारिखमा पनि पाइपलाइनबाट आपूर्ति बन्द गरिएको थियो। भण्डारण केही घटेपछि पाइपलाइनबाट पुनः आपूर्ति भएको थियो। भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले पटनाबाट डिजेल पम्पिङ गरेपछि पाइपलाइनबाट मोतिहारी हुँदै अमलेखगन्ज डिपोमा डिजेल आइपुग्छ। सामान्य दिनमा पाइपलाइनबाट प्रतिघण्टा १ लाख ८० हजार लिटर डिजेल आइरहेको थियो। लकडाउनले भारतमा पनि डिजेलको खपत नभएको कान्तिपुर अनलाइनले लेखेको छ। खपत नभएपछि आईओसीले डिजेलको आपूर्ति बढाएको रेग्मीले बताउनुभयो। सामान्य दिनमा औसत दैनिक ३ हजार किलोलिटर पेट्रोल र ७ हजार किलोलिटर डिजेल बिक्री हुने गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो।

जानकारी तथा लेखहरु