फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

होटल उद्योगको संरक्षण गर्न नेपाल सरकारलाई आग्रह

(GMT+08:00) 2020-04-25 18:41:23

होटल संघ नेपालले सरकारलाई होटल उद्योगको संरक्षण गर्न आग्रह गरेको छ। विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभावले मानव जीवनको अस्तित्वमा गम्भीर समस्याहरू उत्पन्न भइरहेको अवस्थामा विश्वका प्राय सबै मुलुकहरूले लकडाउन गरिहेकाले नेपालमा समेत प्रत्यक्ष प्रभाव परिसकेको भन्दै संघले नेपाली पर्यटन तथा आतिथ्यता उद्योग समेत ठप्प भएको बताएको कारोबार अनलाइनले लेखेको छ।

होटल संघ नेपालकी अध्यक्ष सृजना राणाद्वारा हस्ताक्षरित विज्ञप्तिमा संघले नेपालको पर्यटनमा भविष्य खोज्दै व्यवसायीहरूले अत्यधिक लगानी गरी नेपालमा नै रोजगारीको व्यवस्थापन गर्ने उद्धेश्यले नयाँ‐नयाँ ब्राण्डका होटल कम्पनीहरूको स्थापना गरिरहेका छन्। तर हाल उत्पन्न विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आयमा करिव ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण भएको जनाएको छ।

"कोरोना भाइरसको प्रभावले हालसम्म अस्तित्वमा रहेका होटल उद्योगहरूले सेवा बन्द गर्नुपर्ने अवस्था आएको छ", संघले भनेको छ, "सामान्यतया पूराना स्थापित होटलहरूको अधिकतम् व्ययभार श्रमिक व्यवस्थापन, नयाँ होटलहरूको ऋण व्यवस्थापन र पर्यटकीयस्तरका साना होटलहरूको अत्यधिक खर्च घरभाडा लगायतका शीर्षकमा हुने हुँदा यो परिस्थितिमा खर्च व्यवस्थापनको सिद्धान्त अवलम्वन गर्दै होटल उद्योगको संरक्षण गर्न अति आवश्यक छ।"

अन्यथा सन् २००४⁄०५ को पुनरावृत्ति हुने संकेत देखिन्छ भन्दै संघले कतिपय पर्यटकीय होटलहरूले सेवा बन्द गर्नेसम्मका निर्णय गर्नु परेको जनाएको छ। यस कठिन अवस्थामा श्रम ऐन, नियम भन्दा कसरी 'बाँच्ने र बचाउने'भन्ने विषयलाई सर्वोपरी राख्दै विशेष व्यवस्था गर्न अत्यावश्यक रहेको भन्दै संघले एकातिर नेपालको पर्यटकीय होटलमा काम गर्ने श्रमिक तथा कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधा र अन्य उद्योगको भन्दा फरक र उच्च समेत रहेको जनाएको छ। नेपालको होटल उद्योगमा सन् २०१९ को कूल आम्दानीको करिव ४० प्रतिशत कर्मचारीको सेवा सुविधामा खर्च भएको देखिएको जनाएको छ। सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कूल आम्दानी केवल १० प्रतिशत भन्दा न्यून हुने अध्ययनको आधारमा होटलहरूले कुनै पनि हालतमा खर्च धान्न नसक्ने पनि संघले स्पष्ट पारेको छ।

होटल उद्योगले नेपालको पर्यटनको विकासमा अतुलनीय योगदान गर्दै मुलुकको अन्तर्राष्ट्रिय पहिचान र गरिमा अभिवृद्धिमा खेलेको केन्द्रीय भूमिका उदाहरणीय छ। यसर्थ, अर्बौ रूपैयाँको लागानीमार्फत होटल उद्योगले लाखौंको संख्यामा रोजगारी सिर्जना गरेको तथ्यलाई केन्द्रमा राखी यसले नेपाली अर्थतन्त्र तथा बहुआयामिक क्षेत्रमा निम्त्याउन सक्ने प्रभावको विश्लेषण गर्न विलम्ब नगरियोस् भनि संघले सरकालाई अनुरोध पनि गरेको छ।

कोभिड‐१९ को महामारी नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरू प्रति होटल संघ नेपालले ऐक्यवद्धता व्यक्त गर्दै यो विषम परिस्थितिमा होटल उद्योगको संरक्षण गर्ने विशेष नीति तत्काल अख्तियार गर्दै पूर्णरूपमा पुनस्र्थापना नभएसम्म श्रमिकहरूको उचित व्यवस्थापन, बैंकको ऋण तथा घरभाडा व्यवस्थापनका साथै विद्युत् महसुल र स्थानीय सरकारको सम्पति करलगायतको उचित व्यवस्थापन गर्ने गरी नीति निर्माण गर्न सरकारसँग अनुरोध गरेको छ।

नेपालले पनि गत एक महिनादेखि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवाहरु बन्द गरेको छ। स्पेन, अष्ट्रेलियालगायत कतिपय युरोप तथा अमेरिकाका मुलुकहरूले डिसेम्बर २०२० सम्म आफ्ना नागरिकहरूलाई भ्रमणमा नजान तथा विदशीलाई समेत घुम्न नआउन भनी 'ट्राभल अड्भाइजरी' जारी गरिसकेको अवस्था छ। साथै, अमेरिका, युरोप लगायत अन्य क्षेत्रका मुलुकहरूले समेत आफ्ना नागरिकहरूलाई भ्रमणमा प्रतिबन्ध लगाई सुरक्षा सावधानी अपनाउन सक्ने प्रवल सम्भावना छ। यस्तो अवस्थामा सन् २०२१ को जनवरी देखि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा क्रमशः सुचारू हुने र त्यसपछि मात्र पर्यटकहरूको आवागमन सुरू हुन सक्ने अपेक्षा गर्न सकिन्छ।

सन् २००३ देखि सन् २००५ सम्मको दुई वर्षको अवधिमा होटलहरूको कूल आम्दानीमा करिव ५० प्रतिशतले ह्रास आएको थियो। जसको कारणले करिव ३० वर्षदेखि अस्तित्वमा रहेका काठमाडौंका ख्याति प्राप्त होटलहरू (नारायणी, ब्लुस्टार, शेर्पा, उडल्याण्ड लगायत) ले आफ्नो खर्च व्यवस्थापन गर्न नसकेर सेवा बन्द गर्नु परेको थियो। सो समयमा नेपाल सरकारले कुनै प्रकारको उचित कदम चाल्न नसकेको कारणले यी होटलहरूले बन्द गर्नु भन्दा कुनै उपाय नभएको र सो समयमा समेत कूल खर्चको सबैभन्दा बढी खर्च कर्मचारी व्यवस्थापन (पारिश्रमिक शीर्षक) मा नै भएको संघले जनाएको छ।

जानकारी तथा लेखहरु