फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाका कारण गौतम बुद्ध विमानस्थल समयावधि सातौपटक थपिँदै

(GMT+08:00) 2020-05-05 18:28:07

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमा निर्माण गर्न नसकेपछि पुनः ठेक्का अवधि थप हुने भएको छ। निर्माण सम्पन्न गर्नका लागि गत मंसिरमा चैत १५ सम्मका लागि म्याद थप गरिएको थियो। कोभिड–१९ को कारण सम्पन्न नहुने विमानस्थल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले जनाउ दिइसकेकाले अब म्याद सातौँपटक थप तयारी भएको नयाँ पत्रिका अनलाइनले लेखेको छ।

ठेकेदार कम्पनीले कोभिड–१९ का कारण चीनबाट ल्याउनुपर्ने सामग्री ल्याउन नपाएको भन्दै म्याद थप्न आग्रह गरिसकेको छ। नागरिक उड्डयन प्राधिकरणले पनि ९५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा म्याद थप गरेर काम सम्पन्न गर्नुको विकल्प नभएको जनाएको छ।

ठेकेदार कम्पनीले पटक–पटक निर्माणको अवधि तन्काउँदै जाँदा अन्य प्रक्रियामा समेत असर परेको छ। जनवरीसम्ममा सम्पन्न गर्ने भन्दै गत जुनमा डिसेम्बरसम्मको समय अवधि थपिएको थियो। तर, कम्पनीलाई पुनः तीन महिना समय थप गरेर गत मार्च अन्तिम तथा चैत १५ सम्मको समय दिइएको थियो।

उक्त समयमा पनि निर्माण सम्पन्न नभए पनि लकडाउन खुलेपछि म्याद थपको प्रक्रिया अगाडि बढ्ने प्राधिकरणका राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो। 'निर्माणको अन्तिम अवस्थामा आएकाले ठेक्का तोड्न सक्ने अवस्था छैन, केही म्याद थप गरेर काम सम्पन्न गराउनेछौँ' निर्देशक अधिकारीले भन्नुभयो। म्याद गुज्रिएकै अवस्थामा पनि ठेकेदार कम्पनीले काम जारी राखेको अधिकारी बताउनुहुन्छ।

चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो। एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो। २०१८ देखि सञ्चालनमा ल्याउने घोषणा गर्दै निर्माण सुरु भए तापनि हालसम्म पनि सम्पन्न हुन सकेको छैन।

ठेकेदार कम्पनीले सन् २०१६ जनवरीदेखि २०१८ सम्म पहिलो चरणमा काम गरेको थियो। बीचमै भूकम्प र नाकाबन्दी भएपछि थप ६ महिना ठेकेदारलाई म्याद थप गरिएको थियो। त्यसपछि स्थानीय ठेकेदार कम्पनीसँगको झगडाले ६ महिना काम ठप्प भएको थियो। त्यसलगत्तै पुनः ६ महिना म्याद थपेर सन् २०१९ को जुनसम्म पु-याएको थियो। जुनबाट सन् २०१९ को डिसेम्बरसम्म पुनः म्याद थपिएको कम्पनीलाई सन् २०२० को जनवरीमा मार्चसम्म म्याद थप गरिएको थियो।

विमानस्थलको स्तरोन्नतिसँगै सन् २०२० सम्ममा ६० लाख यात्रु धान्न सक्ने गरी गुरुयोजना निर्माण भएको थियो। विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइको रहेको छ। धावनमार्गको कालोपत्रको काम सम्पन्न भइसकेको छ भने टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ। बाँकी इक्युपमेन्ट रेडार, बत्ती तथा प्रविधि जडानको काम भने अझै हुन सकेको छैन।

बत्ती तथा अन्य इक्युपमेन्ट जडान गर्ने सामान चीनबाट नेपाल ल्याउन नसक्दा रोकिएकाले सामान ल्याएको केही महिनामै काम सम्पन्न गर्न सक्ने अवस्थामा ठेकेदार कम्पनी रहेको समेत निर्देशक अधिकारी बताउँछन्। भैरहवामा मुआब्जामा मात्र २३ अर्ब रुपैयाँ वितरण भइसकेको छ भने निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ खर्च हुँदै छ। म्याद थप भए पनि लागत भने नबढ्ने प्राधिकरणको भनाइ छ।

जानकारी तथा लेखहरु