फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कोरोनाले नेपालको विदेशी मुद्रा सञ्चितिमा ठूलो असर गर्ने

(GMT+08:00) 2020-05-06 16:31:40
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को प्रभावका कारण मुलुकको अर्थतन्त्रमा आगामी वर्ष निकै चुनौतीपूर्ण रहने बताउनु भएको छ। रेमिट्यान्स र निर्यातको गिरावट एवं पर्यटकको आम्दानी घट्दा विदेशी मुद्राको आम्दानी घट्ने उहाँको अनुमान छ। विश्व श्रम बजारमा रोजागारीको अवस्था रोकिने भएकाले रेमिट्यान्सको असर मुलुकको आर्थिक प्रणालीमा पर्ने भएकाले यसबाट बैंकको तरलता र मुद्रा सञ्चितिमा पनि असर पर्ने उहाँको भनाइ रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सोमबार अधिकारीले भन्नुभयो 'कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पार्ने प्रभावसँगै रेमिट्यान्स आप्रवाह, पर्यटन आय तथा वैदेशिक लगानीमा संकुचन आई बाह्य क्षेत्र स्थायी चुनौती बन्नेछ।'अगामी वर्ष मूल्य वृद्धिसमेत बढ्ने उहाँले बताउनुभयो। अर्को वर्ष तरलताको ठूलो चुनौती थपिने पनि उहाँको भनाइ छ। चालू आर्थिक वर्षको ८ महिनालाई हेर्दा अघिल्लो वर्षको तुलनामा मूल्यवृद्धिमा बढी दबाब परेको उहाँले बताउनुभयो। 'लकडाउनका कारण आपूर्तिमा अवरोधले अन्तिम चौमासमा पनि थप दबाब पर्ने देखिएको छ,' उहाँले भन्नुभयो।

अघिल्लो वर्षको तुलनामा ८ महिनाको अवधिमा रेमिट्यान्स वृद्धि भएको तथ्यांक पेस गर्दै अधिकारीले अब भने घट्ने बताउनुभयो। 'गत आवको दाँजोमा रेमिट्यान्स २० प्रतिशत घट्ने अनुमान छ,' उहाँले भन्नुभयो। कोभिड–१९ ले अर्थतन्त्रमा पार्ने असरबारे राष्ट्र बैंकले गठन गरेको कार्यदलले असार मसान्तसम्ममा गर्नुपर्ने अन्य क्षेत्रको पनि अध्ययन गर्ने उहाँले जानकारी दिनुभयो। 'संस्थागत र व्यक्तिगत जोखिम छ कि छैन, त्यो पनि हाम्रो अध्ययनको विषय भएको छ,' उहाँले भन्नुभयो। प्रत्येक कर्जाको वित्तीय विवरण बनाउन बैंकहरुलाई निर्देशन दिएको उहाँले बताउनुभयो।

लकडाउनपछि आर्थिक गतिविधि लगभग ठप्पको अवस्था रहेकाले बैंकले समग्र अर्थतन्त्रको अध्ययन गरिरहेको उहाँको भनाइ छ। प्रत्येक कर्जाको छुट्टाछुट्टै विवरण बनाउन बैंकहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो। 'ऋणीको ब्याज तिर्न सक्ने अवस्था छ कि छैन ? व्यवसायलाई पुन: सुरु गर्न ऋण थप्नुपर्छ कि ? लगायत विषयमा अध्ययन गर्न भनेका छौँ,' उहाँले भन्नुभयो।

वैशाख २१ गतेसम्मको तथ्यांक अनुसार बैंकहरुमा ३६ खर्ब ७८ अर्ब बचत रहेको उहाँले जानकारी दिनुभयो। साथै ३२ खर्ब ४६ अर्ब कर्जा प्रवाह भएको छ। कोभिड–१९ को पहिले र पछिको अवस्थामा कर्जा र निक्षेपमा धेरै परिचालन भएको अवस्था छैन। चैत ११ यता ७७ अर्ब बचत र ३१ अर्ब ऋण बढेको बताउनुभयो। 'यो पुरानै ऋणको निरन्तरता हो,' उहाँले भन्नुभयो, 'राष्ट्र बैठकले प्राथमिकता तोकेको कृषि १० र ऊर्जा एवं पर्यटनमा १५ प्रतिशत हो। यो क्षेत्रमा कुल कर्जाको २० दशमलब ४ प्रतिशत लगानी भएको देखिन्छ।'

जानकारी तथा लेखहरु