फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लकडाउनमा धमाधम कालीगण्डकी करिडोरको काम

(GMT+08:00) 2020-05-24 16:49:58

बन्दाबन्दीको समयमा पनि नेपालका केही आयोजनाले भने आशाको सञ्चार गरिरहेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणाधीन आयोजनालाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा स्पष्ट दृष्टिकोण तयार पारेका कारण काम धमाधम भइरहेको राष्ट्रिय समाचार समितिले लेखेको छ।

आगामी असार भित्रै देशको सबैभन्दा ठूलो सबस्टेसनको निर्माण सम्पन्न हुँदैछ। माथिल्लो तामाकोशीको काम पनि गतिमा नै छ। यसले विपदमा पनि सामाजिक दुरी कायम राख्दै विकास निर्माणको काम अगाडि बढाउन सकिन्छ भन्ने स्पष्ट सन्देश दिएको छ। मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा रहेको ऊर्जा क्षेत्रमा भए गरेका कामलाई थप सहजीकरण गर्न हरदम प्रयास भइरहेको छ।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अवलम्बन गरेर भएका कामले नागरिकमा विश्वास मात्रै पैदा भएको छैन, इमान्दर भएर काम गर्दा परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास समेत पैदा भएको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लकडाउनको अवधिलाई पनि सकेसम्म परिणाममुखी बनाउन हरदम प्रयत्न गरिरहनु भएको छ। सोही कारण केही आयोजनाले लकडाउनमा समेत नेपाली नागरिकलाई खुसी तुल्याउन सहयोग पुर्‍याएको छ।

ऊर्जा मन्त्रालय र प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी (लकडाउन)का बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ। दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेसन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ। दुवै सबस्टेसनका अधिकांश उपकरणहरु जडान भइसकेको प्राधिकरणले जनाएको छ।

दाना—कुश्मा खण्ड यही असारभित्रमा संचालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो। सो प्रसारण लाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गर्नु भएको थियो। पछिल्लो पटक उहाँले नियमित रुपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीय स्तरमा समन्वय गर्नुभएको छ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिने छ। निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा संचालनमा रहेको ११.२ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ। हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो, 'गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरुको दह्रो साथ र सहयोग पाएका छौँ, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ।'

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्‍याउनु भएको प्राधिकरणको बुझाइ छ। स्थानीय स्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ। प्रसारण लाइनमा हरेक टावर नै एउटा आयोजना जस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैमा अनुकरणयोग्य रहेको प्राधिकरणको भनाइ छ।

कूल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ। केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए। म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले जनाएको छ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्टेसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो। म्याग्दी र पर्वतमा गरी करिब तीन किलोमिटर मात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो। उहाँले लकडाउनका कारण श्रमिक अभाव हुँदा निर्माणलाई तीव्रता दिन गाह्रो भएता पनि असारभित्र जसरी पनि चार्ज गरिने बताउनुभयो।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरु गरिएको हो। करिडोरको दोस्रो खण्डअन्तर्गत कुश्माबाट नवलपरासीको भुमही (न्यू बुटवल सबस्टेसन)सम्मको प्रसारण लाइनको निर्माण पनि भइरहेको छ। सो प्रसारण लाइनलाई पनि थप गति दिने प्रयास भइरहेको छ। प्राधिकरणका रुग्ण भनिएका आयोजनालाई सम्पन्न गर्न विशेष पहल भइरहेको छ। त्यसले नागरिकमा एक खालको उत्साह ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ।

रासस

 

जानकारी तथा लेखहरु