फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकै दुर्लभ घडियालको संरक्षणमा नेपाली विज्ञहरू सक्रिय

(GMT+08:00) 2020-05-25 17:24:35
दुर्लभ जलचर घडियाल गोहीको यति बेला बच्चा कोरल्ने याम हो । कसरास्थित घडियाल प्रजनन केन्द्रका विज्ञ तथा प्राविधिकहरू अहिले सुरक्षित तवरले घडियालका अन्डाबाट कसरी धेरैभन्दा धेरै बच्चा निकाल्ने भन्ने अनेक जुक्ति लगाइरहेका छन् । त्यस क्रममा अन्डा खोजी खोजी बच्चा कोरलिँदै छ ।

प्रजनन केन्द्रका विज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्का अहिले नदीहरूमा गोहीका अन्डा खोज्न र त्यसलाई सुरक्षित तरिकाले प्रजनन केन्द्रमा ल्याउने काम भइरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, "यो वर्ष पनि हामीले राप्ती र नारायणी नदीबाट विभिन्न घडियालका नौवटा गुँडबाट तीन सय अन्डा सङ्कलन गरी प्रजनन केन्द्रमा बच्चा कोरल्न राखेका छौँ ।"

गोहीले बालुवाभित्र गुँड बनाएर अन्डा पार्छ । यसरी बालुवाभित्रको अन्डाबाट ६५ देखि ९० दिनभित्र बच्चा निस्कन्छ । प्रजनन केन्द्रमा पनि प्राकृतिक रूपमा जस्तै गरी बालुवाभित्र गुँड बनाएरै अन्डा राखिने गरिएको विज्ञ खड्काले बताउनुभयो ।

गोरखापत्र अनलाइनका अनुसार विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइन्छ। नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही पाइन्छ । नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ (वि.सं. २०३५) मा घडियाल प्रजनन केन्द्र स्थापना गरेर यसको प्रजनन सुरु गरेको हो । केन्द्रले नेपालमा सन् १९८१ देखि नदीमा गोही छाड्न लागेको हो । प्रजनन केन्द्रमा रहेको तथ्याङ्कअनुसार नेपालका नदीहरूमा हालसम्म केन्द्रले एक हजार ५१५ वटा गोही हुर्काएर छाडेको छ । यसरी छाडिएकामध्ये राप्तीमा सबैभन्दा बढी ८३५ गोही छाडिएको छ ।

जानकारी तथा लेखहरु