फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बन्दरगाहमा लकडाउनको असर

(GMT+08:00) 2020-07-12 17:32:50
वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) को अन्तर्राष्ट्रिय कारोबारमा कोरोना महामारी र लकडाउनको असर देखिन थालेको छ। कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल भारतमा लकडाउन सुरु भएको तीन महिनापछि कारोबार घटेको छ। कोरोना महामारी नियन्त्रण र रोकथामका लागि नेपालमा चैत ११ देखि र भारतमा चैत १० गते देखि लकडाउन सुरु गरिएको थियो। लकडाउनपछिको तीन महिनासम्म भारतसहित तेस्रो मुलुकबाट सहजै आयात भइरहेको मालवाहक सामग्री यो महिनादेखि घटेको बन्दरगाह भन्सार प्रमुख उमेश श्रेष्ठले बताउनुभयो। तेस्रो मुलुकबाट जेठसम्म पुरानै कन्साइन्टमेन्ट (सौदा) का मालवस्तु भारतको रेलमार्ग भएर सहजै आयात भइरहेकोमा असारदेखि सामान आयातको परिमाण ह्वात्तै घटेको उहाँले जानकारी दिनुभयो।

विदेशबाट आयात गरिने एलसी (प्रतीतपत्र) खोलेका सामान सबै प्रक्रिया पूरा गरेर भन्सार बिन्दुसम्म आइपुग्न तीनदेखि पाँच महिनासम्म लाग्ने गर्छ। लकडाउन सुरु भएको ढेड महिना नेपालतर्फ ढुवानी प्रभावित हुँदा सुक्खा बन्दरगाहको यार्डमा जेठ दोस्रो साता करिब चार हजार कन्टेनर थुप्रिएका थिए। ढुवानी सहज भएर थुप्रिएका कन्टेनर गन्तव्यतर्फ जान थालेपछि अहिले बन्दरगाहमा एक हजार कन्टेनर मात्र छन्।

सामान्य अवस्थामा सुक्खा बन्दरगाहमा रेलमार्ग हुँदै हरेक महिना औसतमा एक सय र्‍याक (९ हजार कन्टेनर) भारतबाट आएको तथ्यांक छ। एउटा र्‍याकमा ९० कन्टेनर रहन्छन्। बोराबन्द सामान वा फलामजन्य पदार्थ भने एउटा र्‍याकमा दुई हजार पाँच सय मेट्रिकटन हाराहारीसम्म हुन्छ। असारयता औसतमा दैनिक दुई वटा र्‍याक (रेल) मात्र आइरहेको सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनलले जनाएको छ। असार १ देखि २६ गतेसम्म ६६ वटा मात्र र्‍याक आएको टर्मिनलका कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले जानकारी दिनुभयो।

चौधरीका अनुसार अहिले भारतका बन्दरगाहबाट चारवटा याक मात्र मालसामान बोकेर नेपालतर्फ हिँडेका छन्। कोरोना महामारी सुरु भएपछि तेस्रो मुलुकबाट नेपालका लागि आयात हुने मालसामानको नयाँ कन्साइन्टमेन्ट नहुँदा भारतको विशाखापटनम् बन्दरगाहमा अहिले नेपालको एउटा कन्टेनर नरहेको र कोलकातामा हप्तामा एउटा मात्रै र्‍याक आइरहेको चौधरीले जानकारी दिनुभयो।

यसैबीच कोरोनाको महामारी र लकडाउनका कारण नेपाली बजारको चहलपहल घटेपछि व्यापारीले तेस्रो मुलुकबाट मालसामानको नयाँ बुकिङ नगरेका वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधवराज राजपाल बताउनुहुन्छ।

अन्नपूर्णपोस्टका अनुसार लकडाउनको असर देखिन थालेपछि सुक्खा बन्दरगाहको भन्सार राजस्व असुली पनि घटेको छ। भन्सार प्रमुख श्रेष्ठका अनुसार असार २६ सम्ममा कार्यालयले लक्ष्यभन्दा ७१ करोड कम राजस्व संकलन गरेको छ। असारमा भन्सार विभागले तीन अर्ब ४९ करोड राजस्व संकलनको लक्ष्य दिएकोमा बन्दरगाह भन्सारले लक्ष्यको ७९ प्रतिशत मात्र अर्थात् दुई अर्ब ७८ करोडमात्र राजस्व संकलन गर्न सकेको हो। जेठमा तीन अर्ब ७४ करोडको लक्ष्य रहेको बन्दरगाहले लक्ष्यको ९५ प्रतिशत राजस्व संकलन गरेको थियो।

जानकारी तथा लेखहरु