फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

समुदायस्तरमा कोरोना फैलिएपछि आइतबारदेखि नेपालगन्जमा निषेधाज्ञा

(GMT+08:00) 2020-07-31 17:09:54

 कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणउन्मुख भइरहेका बेला बाँकेमा पुनः समुदायस्तरमा संक्रमण फैलिएको छ। समुदायस्तरमा एकैपटक २७ जनामा संक्रमण देखिएको हो। नेपालगन्जको त्रिभुवन चोक तथा आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेका हुन्। समुदायस्तरमा एक्कासि संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागू हुनेगरी ३ दिनका लागि बाँके जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको नागरिक अनलाइनले लेखेको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक रामबहादुर कुरुङबाङले समुदायस्तरमै २७ जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि बिहीबार बसेको समितिको बैठकले बाँके जिल्लाभर पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जानकारी दिनुभयो। 'बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै गइरहेको अवस्थामा अचानक समुदायस्तरमै फैलिएपछि निषेधाज्ञा जारी गर्नुपरेको हो,' उहाँले भन्नुभयो, 'संक्रमितको संख्या देखियो भने निषेधाज्ञा बढाउँदै लैजाने हो।' निषेधाज्ञाका क्रममा औषधि उपचार तथा अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन नदिइने उहाँले बताउनुभयो।

उहाँका अनुसार त्रिभुवन चोक क्षेत्रमा केहीदिनअघि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा एकैपटक १७ जनामा कोरोना भाइरस पोजेटिभ देखियो। यस्तै आन्तरिक राजस्व कार्यालय नेपालगन्जका ४ जना कर्मचारी र ५ जना कर्मचारीका परिवार तथा बाँके जिल्ला अदालतका १ जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

प्रजिअ कुरुङवाङका अनुसार यसअघि जिल्लामा संख्या घटेर १२ जना मात्र संक्रमित रहेका थिए। अहिले एक्कासिसंक्रमण फैलिएपछि संक्रमितको संख्या पुनः बढेको उहाँले बताउनुभयो। जिल्लामा अहिलेसम्म ४ सय ७ जना कोरोना भाइरस पोजेटिभ फेला परेको बताइएको छ। त्यसमध्ये ३ सय ७९ जना संक्रमित निको भएका छन्, भने २ जनाको मृत्यु भएको छ। संक्रमित २६ जना आइसोलेसनमा बसिरहेका छन्। जिल्लामा अहिलेसम्म ११ हजार ४ सय ४३ जनाको पिसिआर र ९ हजार ३ सय ७५ जनाको आरडिटी विधिबाट कोरोना जाँच गरिएको प्रजिअ कुरुङवाङले बताउनुभयो।

त्रिभुवन चोक क्षेत्रमा फेला परेका नयाँ संक्रमितलाई लायन्स डेन्टल अस्पताल नेपालगन्जको आइसोलेसन सेन्टरमा राख्ने तयारी भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार कोरोना संक्रमित निजामती कर्मचारी र उनीहरूका परिवारलाई आन्तरिक राजस्व कार्यालयमै राखिएको छ। राजस्व कार्यालयको कामकाज पूर्ण रूपले बन्द गरेर आइसोलेसन सेन्टर स्थापना गरी कर्मचारी र उनीहरूका परिवारलाई त्यहाँ राखिएको श्रेष्ठले बताउनुभयो। समुदायमा कोरोना संक्रमण फैलिएपछि नेपालगन्जवासी त्रसित भएका छन्। लामो लकडाउन खुलेपछि आफ्नो नियमित कामकाजमा फर्केका उनीहरू पुनः त्रसित बन्न पुगेका हुन्।

'त्रिभुवन चोक क्षेत्रमा एकैपटक धेरै जनामा कोरोना देखियो। राजस्व कार्यालय र अदालतका कर्मचारी तथा परिवारका सदस्यलाई देखियो, यसबाट नै कोरोना भाइरस समुदायस्तरमै फैलिएको प्रष्ट हुन्छ,' फोकल पर्सन श्रेष्ठले भन्नुभयो, 'अब हामी नियमअनुसार संक्रमितको कन्ट्याक्ट ट्रेसिङको काम थाल्नेछौं।'उहाँका अनुसार पोजेटिभ व्यक्तिसँग घुलमिल गरेको ७ दिनपछि मात्र दोस्रो व्यक्तिमा भाइरस सर्नसक्ने सम्भावना हुन्छ।

यसअघि गत वैशाखमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित जोलहनपुर्वा टोलमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको थियो। उक्त टोलमा नियमित आवतजावत गर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७निवासी ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएपछि उनको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गर्दा समुदायस्तरमा फैलिइसकेको पाइएको थियो। त्यतिबेलाका संक्रमित सबै निको भएर घरमा फर्किसकेका छन्।

जानकारी तथा लेखहरु