फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न

(GMT+08:00) 2020-08-03 16:22:56

गत आर्थिक वर्षमा देशभरमा २१० पुल सम्पन्न भएका छन् । सरकारले देशभरमा ३०० पुल निर्माणको लक्ष्य राखेकामा लक्ष्यको ७० प्रतिशत पुल सम्पन्न भएको हो । गत आर्थिक वर्षको कामको गतिका आधारमा ३०० भन्दा बढी पुल सम्पन्न हुने अवस्था रहेको सडक विभागको दाबी छ । विभागले पहिलो चौमासिकमा पाँच पुल सम्पन्न गर्ने लक्ष्य लिएकामा ४५ सम्पन्न गरेको थियो । कोभिड–१९ का कारण पछिल्लो चौमासिकमा काम अपेक्षानुसार हुन नसकेपछि लक्ष्यभन्दा केही कम निर्माण सम्पन्न भएको विभागको पुल महाशाखा प्रमुख (उपमहानिर्देशक) दीपक भट्टराईले बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ र त्यसपछि सरकारले लागू गरेको बन्दाबन्दीका कारण विभिन्न स्थानमा निर्माण सामग्री र जनशक्ति, पु-याउन गाह्रो भएको थियो । बन्दाबन्दीको केही सातापछिदेखि नै सरकारले विकास निर्माणलाई निरन्तरता दिने निर्णय गरे पनि विभिन्न अवरोध रहेको उहाँले बताउनुभयो ।

पुल निर्माणमा दक्ष जनशक्ति कम भएकाले तीनै जनशक्तिले पालैपालो एउटामा काम गरेर अर्को योजनामा काम गर्ने गरेका उहाँले बताउनुभयो। सामान्य अवस्थामा जसरी एक ठाउँबाट अर्को ठाउँमा जान सहज नभएकाले निर्माणमा कठीनाइ भएको थियो । त्यस्तै कतिपय जनशक्ति भारतबाट आउनुपर्ने भए पनि कोभिडकै कारण आउन नसकेको उहाँले बताउनुभयो। संविधानानुसार पुल निर्माणको जिम्मेवारी तीनै तहको सरकारको भए पनि अहिलेसम्म सङ्घीय सरकारले नै सबै किसिमका सडकमा पुल निर्माणको काम गरिरहेको छ। रणनीतिक सडक निर्माणको जिम्मेवारी पाएको सरकारले रणनीतिक सडकमा पुल निर्माण गर्नुपर्ने हो । प्रदेश सरकार र स्थानीय सरकारको क्षमता पर्याप्त नभएकाले अहिलेसम्म नेपाल सरकारले नै पुल निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

गत आवमा निर्माण भएका पुलमध्ये ११० पुल स्थानीय सडकमा र १०० पुल रणनीतिक सडकमा निर्माण भएको थियो । राष्ट्रिय गौरवका सडक आयोजनामा ४० पुल निर्माण भए । सबैभन्दा बढी मदन भण्डारी लोकमार्गमा १७, मध्यपहाडी (पुष्पलाल) लोकमार्गमा १५ र हुलाकी राजनमार्गमा आठ पुल सम्पन्न भएका छन् । त्यस्तै वैश्व बैंकको आर्थिक सहयोगमा ११ र एशियाली विकास बैंकको आर्थिक सहयोगमा दुई पुल निर्माण सम्पन्न भएका थिए ।

अरु दुई सरकारले पुल निर्माण नगर्दा अहिले पनि सडक विभागमा पुलको चाप छ । अहिले पनि झण्डै एक हजार पुल निर्माणाधीन छन् । निर्माणाधीन भनिएका सडक पुल फरकफरक अवस्थामा रहेको प्रमुख भट्टराईले बताउनुभयो । कतिपय पुल अध्ययनका क्रममा छन् कतिपय ठेक्कामा जाने क्रममा र कतिपय ठेक्कामा गइसकेर निर्माण भइरहेको गोरखापत्र अनलाइनले जनाएको छ।। निर्माण व्यवसायी आफैँले डिजाइन गरेको 'डिजाइन एण्ड विल्ड'मा समेत कतिपय पुल निर्माणका क्रममा रहेका छन् ।

आगामी दिनमा स्थानीय सडक पुल निर्माणको जिम्मेवारी क्रमशः प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिँदै गइने उहाँले बताउनुभयो । देशभरका सबै पुल एउटै निकायबाट गर्दा कामको बोझ बढी भएकाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जिम्मेवारी अरु सरकारलाई पनि दिइनुपर्ने बताउँदै आएको छ । विगतमा सङ्घीय मामिला मनत्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले पुल निर्माण गरे पनि अहिले गरेको छैन ।

जानकारी तथा लेखहरु